पूर्वमन्त्री श्रेष्ठले बुझाए निर्वाचन आयोगलाई स्पष्टीकरण
सिमरा: नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले जीतपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्पष्टीकरण बुझाएका छन् ।
निर्वाचन आचारसंहितामा उलंघन गरेको भन्दै निर्वाचन आयोगले २४ घण्टा भित्र स्पष्टीकरण बुझाउन निर्देशन गरेअनुसार बारा क्षेत्र नं. ४ का उम्मेदवार श्रेष्ठले लिखित स्पष्टीकरण बुझाएका हुन् ।
जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रेष्ठले स्पष्टीकरण बुझाएका थिए । बारा क्षेत्र नं. ४ का निर्वाचन अधिकृत कर्ण राइले श्रेष्ठ आफै आएर स्पष्टीकरण बुझाएको र आफुले उक्त स्पष्टीकरण काठमाडौ पठाएको जानकारी दिए ।
फ्री भिसा फ्री टिकटमा मलेसिया पठाउने भन्दै असोज ३० गते बाराको परवानिपुरमा निर्वाचन आचारसंहिता विपरीत श्रेष्ठको चुनावी ब्यानरमुनि अन्तर्वार्ता राखिएपछि आयोगले स्पष्टीकरण माग गरेको थियो ।
मतदाता प्रभावित पार्ने उदेश्यसहित ललितपुरको इन्टरनेशन म्यानपावर रिक्रुप्टमेन्ट कम्पनीलाई प्रयोग गरेर श्रेष्ठले परवानिपुरमा अन्तर्वार्ता राख्न लगाएका थिए । निर्वाचन आचारसंहिता विपरीत अन्तर्वार्ता राखिएको खबर बाहिरिलगत्तै प्रशासनले रोक लगाएको थियो ।