दुर्घटना न्युनिकरण गर्न सडकमै सवारी साधन र चालकको जाँच शिविर
सिमराः दुर्घटना न्युनिकरण गर्न पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले सडकमै चालक र सवारी साधनको परिक्षण गरेको छ ।
मधेस प्रदेशमा बढ्दो सवारी दुर्घटनाको संख्या न्युनिकरण गर्न कार्यालयले अमलेखंजमा दुई दिने परिक्षण शिविर राखेको हो । शिविरमा चालकको स्वास्थ्य परिक्षण र सवारी साधनको यान्त्रीक परिक्षण गरिएको थियो ।
दुई सम्म भएको संचालन गरिएको उक्त शिविरमा साना तथा ठुला सवारी साधन गरी पाँच सय ८० सवारीसाधनको परिक्षण गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए । गुरुङका अनुसार शिविरमा चालकको आँखा, रक्तचाप तथा सवारी साधनको यान्त्रीक परिक्षण गरिएको हो ।
‘सवारी चालक सवारी चलाउन ब्यस्त हुन्छन्, अस्पताल पुगेर सामान्य जाँच गराउन ध्यान दिदैनन् र वेवास्था गरिरहेका हुन्छन्’ गुरुङले भने ‘जसका कारण पनि दुर्घटना हुन सक्छन् भनेर हामीले सडकमै जाँच गर्ने व्यवस्था मिलाएका हौं’ । स्वास्थ्यकर्मीको उपस्थितीमा चालकको आँखा र रक्तचापको अवस्था जाँच गरेर उपचारका लागि आवश्यक सल्लाह दिएको गुरुङले बताए ।
यसैगरी चाडपर्वको समयमा सवारी जाँच नगराई यात्रु लिएर हिड्ने सवारी साधनको अवस्थाको बारेमा यान्त्रीक परिक्षण गरिएको गुरुङको भनाई थियो । ‘चाडपर्वको समयमा यात्रुको चाप बढी हुन्छ । सवारी साधनमा सामान्य खराबी आएको भएपनि वेवास्था गरिएको पाइन्छ’ गुरुङले भने ‘त्यस्तो वेवास्थाका कारण हुने दुर्घटना रोक्न यान्त्रीक परिक्षण गरिएको हो ।’
जीतपुरसिमरा उपमहानगरपालिका र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाको संयुक्त आयोजनामा सञ्चालन भएको शिविरमा मेडिसिटी वयोधा अस्पताल, नेपाल आँखा अस्पताल औराह र विवेक अटोमोबाइल्स् छातापिपराको प्राविधिक सहयोग रहेको थियो । शिविरमा स्वास्थ्यकर्मीले चालकको आँखा र रक्तचापको अवस्था ठिक रहेनरहेको जाँच गरेका थिए भने अटोमोबाईल्सका प्राविधिकले सवारी साधनको पूर्ण जाँच गरेका थिए ।
जाँचका क्रममा ३४ जना चालकमा उच्च रक्तचाप देखिएको, तीन जनामा उच्च रक्तचापसंगै मधुमेह देखिएको र केही सवारी साधनमा खराबी देखिएको प्रहरी उपरीक्षक गुरुङले जानकारी दिए । मधुमेहसहित उक्त रक्तचाप देखिएको सवारी साधनलाई अर्को चालक व्यवस्थापन गरेर पठाएको र यान्त्रीक खराबी रहेका सवारी साधनलाई ममर्तका लागि पठाइएको गुरुङको भनाई छ ।
सयौंको संख्यमा ट्राफिक जनशक्ति प्रयोग गरेर सडकमै चालक र सवारी साधनको निशुल्क जाँच गरिएपछि चालक समेत खुशी देखिएका थिए । ‘यो शिविर हाम्रो लागी मात्रै होईन सम्पूर्ण नागरिकको जिवन रक्षाका लागि पनि हो’ चालक रमेश कार्कीले भने ‘यस्तो शिविर अन्यत्र पनि आयोजना हुनुपर्छ र यस्तो शिविरको कार्यक्रमले निरन्तरता पाईराख्नुपर्छ ।’