आज कुकुर तिहार र लक्ष्मीपुजा
सिमराः यमपञ्चकको तेस्रो दिन आज (सोमबार) साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । यो पटक कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ ।
आजका दिन घर सफा गर्दै लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । घरको आगनदेखि मूलढोका हुँदै पुजा कोठासम्म चामलको पिठो र अबिरले लक्ष्मी माताको पाइला बनाएर स्वागत गर्दा घरमा लक्ष्मी भित्रिने धार्मिक विश्वास छ ।
माता लक्ष्मीको पाइलासँगै केराको सुत्ला अथवा माटाको पाला राखिन्छ । सबैको घरमा दीयो, मैनबत्ती र झिलीमिली बत्ती बालेर घरलाई उज्यालो बनाईन्छ । आजका दिन घरको आगनमा आकर्षक रंगोली बनाईन्छ ।
आज लक्ष्मीसँगै भगवान गणेशको पनि स्थापना गरिन्छ । दीयो, कलश, आफूसँग भएका गरगहना र धन राखेर लक्ष्मीपूजा गरिन्छ । संस्कृतिविद् मान्यता अनुसार सन्ध्याकालदेखि पूजा सुरू गरेर मध्यरातमा घरको नारीले नाङ्लो ठटाएर धनधान्य माता लक्ष्मीको आगमन होस् भनी पूजा गरिन्छ । आजकै दिन कन्यालाई लक्ष्मीको प्रतिक मानेर पूजा गरी दक्षिणा पनि दिइन्छ । लक्ष्मी पूजाको दिनदेखि नै देउसी भैलो खेल्ने प्रचलन छ ।
यसैगरी यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ । आज घरको पहरेदार कुकुर पुजा गरेर र मनपर्ने खानेकुरा दिएर कुकुर तिहार मनाइन्छ । यमपञ्चकको पहिलो दिन आईतवार कागको पुजा गरेर काग तिहार मनाइएको थियो ।