बाराका तीन अग्रज पत्रकारलाई पेन्सन
सिमराः बाराका तीन अग्रज पत्रकारलाई सम्मानस्वरुप पेन्सन वितरण गरिएको छ । नेपाल पत्रकार महासंघको १७औं साधारणसभामा ६५ वर्ष माथिका पत्रकारलाई पेन्सन वापतको रकम वितरण गरिएको हो ।
अमलेखगंजमा आयोजित कार्यक्रमकाबीच पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारीले सत्यप्रकाश श्रेष्ठ, उमेशलाल दास र रामेश्वर मेहतालाई पाँच हजारका दरले पेन्सनवापतको रकम हस्तान्तरण गरेका हुन् ।
पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष कमलकुमार उपाध्यायले आफ्नो कार्यकालमा अग्रज पत्रकारलाई सम्मानस्वरुप पेन्सन उपलब्ध गराउने कार्यको सुरुवात गरेका थिए । पूर्वअध्यक्ष उपाध्यायले आफ्नो स्वर्गीय आमा उमादेवी उपाध्यायको नामबाट कल्याण कोष स्थापना गरी अग्रज पत्रकारलाई पेन्सन उलपब्ध गराउन सुरुवात गरेका हुन् ।
सोही अनुसार उपाध्यायले उक्त रकम वर्तमान अध्यक्ष तिवारी र अध्यक्ष तिवारीले तीन अग्रज पत्रकारलाई हस्तान्तरण गरेका हुन् ।
साधारणसभाको अवसरमा पत्रकार महासंघ बारा शाखाले बाराबाट केन्द्रीय र प्रदेश कमिटीमा प्रतिनिधित्व गर्ने पत्रकारलाई सम्मान गरेको छ । सम्मानित हुनेमा केन्द्रीय सदस्य सुभाषप्रसाद साह र प्रदेश कमिटी सदस्य महेश्वर अधिकारी रहेका छन् ।
यसैगरी कार्यक्रममा पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष उपाध्याय, गुरुप्रसाद गौतम र लक्ष्मी साहलाई सम्मान गरिएको थियो । यस्तै नेपाल पत्रकार महासंघ बाराको सदस्य रही जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ को वडाध्यक्षमा निर्वाचित हरिदेव खरेललाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
यसअघि साधारणसभाको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान गरेका थिए । कार्यक्रममा चौहानसहित संविधानसभाका सदस्य शोभाकर पराजुली, केन्द्रीय सदस्य साह, शिव पुरी, केसी लामिछाने, बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, पत्रकार महासंघ मधेस प्रदेशका महासचिव श्याम बन्जारा, प्रहरी उपरीक्षक होबिन्द बोगटी, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनालगायतको उपस्थिती रहेको थियो ।
महासंघ बाराका अध्यक्ष तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन उपाध्यक्ष मनिता पाण्डेले गरेकी थिईन् । साधारणसभाको बन्दसत्रमा महासंघका सचिव अनिल गौरवले सांगठानिक र कोषाध्यक्ष श्याम गुप्ताले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यसैगरी बारा शाखाको जिल्ला कार्यसमिति सदस्य पदमा निर्वाचित बसन्त शर्माको कार्यकाल सुरु भएको छ । यसअघि नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा शर्मा र पप्पु साह ५६/५६ मत प्राप्त गरेका थिए । बराबर मत प्राप्त गरेपछि शर्मा र साहले तीन वर्षे कार्यकालमा डेढ/डेढ वर्ष जिम्मेवारीमा रहने सहमति गरेका थिए ।