निजगढमा जबरजस्ती करणीको अर्को घटना बाहिरियो, एक भारतीय नागरिक पक्राउ


eShilalekh

१९ पुष २०७९, मंगलवार ०९:५४

सिमराः निजगढ नगरपालिकामा नाबालिग किशोरीमाथी जबरजस्ती करणीको अर्को घटना बाहिर आएको छ । निजगढ २ का वडाध्यक्ष राजु श्रेष्ठमाथी जबरजस्ती करणको मुद्धामा अनुसन्धान चलिरहेकै बेला अर्को घटना बाहिर आएको हो ।

निजगढ ९ मा एक १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालयले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मुजफरपुरका ३७ वर्षीय लालबाबु चौधरी रहेका छन् ।

चौधरीलाई किशोरीको परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले चौधरीलाई शनिवारनै नियन्त्रणमा लिएको थियो । निजगढमा डेरा लिएर कवाड खरिदबिक्रीको काम गर्दै आएका चौधरीमाथी किशोरीमाथी जबरजस्ती करणी गरेको आरोप छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक संजिव ओलीले कवाड बिक्री गर्न गएकी किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै जाहेरी परेपछि चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए । चौधरीलाई जिल्ला अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसअघि निजगढ नगरपालिका २ का वडाध्यक्ष श्रेष्ठ १५ वर्षीय किशोरीमाथी जबरजस्ती करणी गरेको आरोपमा प्रहरी नियन्त्रणमा छन् । किशोरीको परिवारले किटानी जाहेरी दिएपछि फरार रहेका वडाध्यक्ष श्रेष्ठले आइतवार राती प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्