लघु उद्यम विकास कार्यक्रम संचालन गर्न जीतपुरसिमराका तीन वटा वडा छनौट


eShilalekh

१९ पुष २०७९, मंगलवार १९:५९

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाले लघु उद्यम विकास कार्यक्रम (मेड्पा) संचालन गर्न तीन वटा वडा चयन गरेको छ । उपमहानगरपालिकाको कार्यालयमा मंगलवार बसेको बैठकले यस वर्ष कार्यक्रम संचालन हुने तीन वटा वडा चयन गरेको हो ।

यस वर्ष वडा नं. ८, १७ र १८ मा मेड्पा कार्यक्रम संचालन हुने भएको छ । उद्योग मन्त्रालयको सशर्त अनुदानबाट गत दुई आर्थिक वर्षदेखि जीतपुरसिमरामा मेड्पा कार्यक्रम संचालन भईरहेको छ ।

नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा बसेको बैठकले उद्यम विकास समिति र अनुगमन समिति गठन गर्दै कार्यक्रम संचालन हुने वडा चयन गरेको हो । गरिबी निवारणका लागि उद्यमी उत्पादन गर्ने लक्ष्यसहित सुरु भएको मेड्पा कार्यक्रमबाट यस वर्ष ८० जना उद्यमी उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

मेड्पा कार्यक्रममा छनौट भएका स्थानीयलाई सिपमुलक तालिम दिने र आत्मनिर्भर बन्नका लागि आवश्यक सामाग्री उपलब्ध गराउदै आएको छ । अघिल्लो दुई आर्थिक वर्षमा जीतपुरसिमराको आठ वटा वडामा कार्यक्रम संचालन भएको थियो ।

आर्थिक वर्ष २०७७।७८ मा वडा नं. ६, १९, २० र २२ तथा २०७८।०७९ मा ५,११,१२ र १३ नं. वडामा कार्यक्रम संचालन भएको हो । उक्त कार्यक्रमबाट एक सय ८० जनालाई सिपमुलक तालिम दिनुका साथै सामाग्री वितरण गरिएको थियो । यस आर्थिक वर्षमा उक्त एक सय ८० जनामध्येबाट ४० जनालाई स्तरोन्नतीका लागि सहयोग गर्ने निर्णय समेत भएको छ ।

यसैगरी बैठकले मेड्पा कार्यक्रमलाई प्रभावकारी बनाउन नगर प्रमुख पौडेलको संयोजकत्वमा सात सदस्यीय उद्यम विकास समिति गठन गरेको छ । समितिको सदस्यमा विषयगत समितिका संयोजक, प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेल, शाखा प्रमुख बालाराम खड्का, सुशिलादेवी चौधरी, महिला उद्यमी प्रतिनिधि रिता कंडेल, सहकारी संस्थाकी प्रतिनिधि कमलाकुमारी अधिकारी रहेका छन् ।

यस्तै बैठकले उपप्रमुख भोलाप्रसाद अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ । समितिको सदस्यमा कार्यपालिका सदस्य प्रभावती पासवान, अधिकृत दुर्गा न्यौपाने, लघु उद्यमी प्रतिनिधि शान्ताकुमारी बजगाई, मेड्पा शाखाका सदस्य सचिव दीपनारायण चौधरी रहेका छन् ।

मेड्पाले यस वर्ष २९ लाख रकमबाट कार्यक्रम संचालन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्