मधेस प्रदेशका स्वतन्त्र सांसद कलवार एमाले प्रवेश


eShilalekh

२८ पुष २०७९, बिहीबार १९:३८

सिमराः नेकपा एमालेका केन्द्रीय सदस्य बलबीर चौधरीलाई पराजित गर्दै मधेस प्रदेशसभा सदस्यमा निर्वाचित सारदा संकर कलवार एमालेमा प्रवेश गरेका छन् ।

बारा क्षेत्र नं. २(१) बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिदै निर्वाचित भएका कलवार बिहिवार एमाले प्रवेश गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले बाल्कोट पुगेका कलवारलाई पार्टीमा प्रवेश गराएका थिए ।

कलवार प्रदेशसभा सभा सदस्यमा दोस्रो पटक निर्वाचित सांसद हुन् । २०७४ सालको निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम (हाल जसपा) बाट निर्वाचित कलवार यसपटक स्वतन्त्र उम्मेदवारी दिदै निर्वाचित भएका थिए । एमाले र जसपाबीच भएको चुनावी तालमेलमा उक्त चुनाव क्षेत्र एमालेको भागमा परेपछि कलवारले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

एमालेका उम्मेदवार चौधरीलाई दुई हजार चार सय २८ मतले पराजित गर्दै कलवार निर्वाचित भएका थिए । कलवारले नौ हजार दुई सय ९५ मत प्राप्त गर्दा एमालेका चौधरीले ६ हजार आठ सय ६७ मत पाएका थिए ।

कलवार प्रवेश गरेसंगै मधेस प्रदेशसभामा बाराबाट प्रतिनिधित्व गर्ने एमाले सांसदको संख्या सात पुगेको छ । यसअघि निर्वाचन क्षेत्र नं. १(१) बाट त्रिलोकी चौधरी, ३(१) बाट रवीन्द्रदास श्रेष्ठ, ३(२) बाट महमद समिर, ४(१) बाट देवनारायण चौधरी प्रत्यक्ष निर्वाचित भएका थिए ।

यसैगरी समानुपातिकतर्फ बाराकी मञ्जु थापमगर र राजपतीदेवी जैसवाल प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्