जीतपुरसिमराको वडा स्तरीय योजना वडाबाटै सम्झौता हुने
सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाले चालु आर्थिक वर्षका वडा स्तरीय योजना वडा कार्यालयबाटै सम्झौता र कार्यान्यवन गर्ने तयारी गरेको छ ।
सातौं कार्यपालिकाको बैठकले वडास्तरीय योजना सम्झौताका लागि उपमहानगरपालिकाको कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्न वडा कार्यालयबाटै सम्झौता र कार्यान्यवन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
बैठकको निर्णयअनुसार अब उपमहानगरपालिका भित्रका २४ वटै वडाको वडास्तरीय बजेटको सम्झौता र कार्यान्यवन वडा कार्यालयबाटै हुनेछ । वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाको वडासचिवले गर्नेछन् । बैठकले वडासचिवलाई अख्तियारी दिने निर्णय गरेको हो ।
योजनाको कार्य सम्पन्न भएपछि वडाको सिफारिसका आधारमा उपमहानगरपालिकाले भुक्तानी गर्ने निर्णय भएको प्रशासन शाखाका प्रमुख रामेश्वर बन्जाराले जानकारी दिएका छन् ।
उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले वडा स्तरीय बजेटको सम्झौताका लागि उपमहानगरपालिकाको कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गर्दै सेवालाई वडामा विस्तार गर्न थालिएको बताए ।
व्यवसाय दर्ता पनि वडा कार्यालयबाटै हुने
उपमहानगरपालिकाको सातौं कार्यपालिका बैठकले व्यवसाय दर्ता सेवा पनि वडामा विस्तार गरेको छ । यसअघि उपमहानगरपालिकाको कार्यालयमा व्यवसाय दर्ता हुँदै आएको थियो ।
बैठकले ठुला र वातावरणीय प्रभाव पर्न सक्ने उद्योगव्यवसायबाहेक अन्यको हकमा वडामै दर्ता गर्न सकिने निर्णय गरेको हो । उक्त निर्णयपछि व्यवसाय दर्ताका लागि जीतपुरस्थित कार्यालय पुग्नुपर्ने सेवाग्राहीले अब वडा कार्यालय सेवा लिन सक्नेछन् ।
व्यवसाय दर्ताको सेवा वडा कार्यालय विस्तार गर्ने निर्णय गरेको बैठकले नविकरणको विषयमा भने निर्णय गरेको छैन् । उपमहानगरपालिकाको कार्यालयबाट व्यवसाय दर्ता र नविकरणको काम हुँदै आएको थियो ।