पत्रकार साहलाई वीरेन्द्र साह क्रियाशिल पत्रकारिता पुरस्कार
सिमराः बाराका पत्रकार लक्ष्मी साहले स्वर्गीय वीरेन्द्र साहको नाममा स्थापित ‘वीरेन्द्र साह क्रियाशिल पत्रकारिता’ पुरस्कार पाउने भएका छन् । प्रेस चौतारी नेपालले आफ्नो २५औं स्थापना दिवसको अवसरमा साहलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
माघ २२ गते काठमाण्डौमा हुने स्थापना दिवस विशेष समारोहमा साहलाई उक्त पुरस्कार प्रदान गरिनेछ । अर्थमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा उक्त पुरस्कार वितरण हुनेछ ।
प्रेस चौतारी नेपालले प्रत्येक वर्ष क्रियाशिल पत्रकारलाई उक्त पत्रकारिता पुरस्कार वितरण गर्दै आएको छ । अघिल्लो वर्ष पर्साका अनुप तिवारीलाई उक्त पुरस्कार प्रदान गरिएको थियो । एभिन्युज टेलिभिजनमा सक्रिय पत्रकारिता गरिरहेका बेला साहको २०६४ सालमा अपहरण गरी हत्या गरिएको थियो ।
स्वर्गीय साहको स्मृतिमा स्थापित पुरस्कार बाराबाट कान्तिपुर दैनिकमा २०६५ सालदेखि कार्यरत साहलाई प्रदान गर्न लागिएको हो । पुरस्कार प्राप्त गर्न लागेका पत्रकार साह प्रेस चौतारी नेपालका पुर्व केन्द्रीय सदस्य र नेपाल पत्रकार महासंघका पूर्व जिल्ला अध्यक्ष हुन् ।
प्रेस चौतारी नेपालले साहसंगै अन्य देशभरीका अन्य पाँच जना पत्रकारलाई विभिन्न पत्रकारिता पुरस्कारले पुरस्कृत गर्ने निर्णय गरेको छ ।