प्रेस युनियनको मधेस प्रदेश अधिवेशन सुरु, महामन्त्री थापाले गरे उद्घाटन
सिमराः नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम प्रदेश अधिवेशन शनिवार बाराको कलैयामा शुरु भएको छ । अधिवेशनको नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्वमन्त्री गगन थापाले उद्घाटन गरेका हुन् ।
अधिवेशनको उद्घाटन गर्दै थापाले अधिवेशनमा पत्रकार र प्रेस स्वतन्त्रताको अवस्थाका बारेमा गम्भिर भएर छलफल गर्न आग्रह गरे । राज्यप्रति संचार क्षेत्रको दायित्व अत्यन्तै जिम्मेवारपूर्ण रहेको भन्दै थापाले प्रेस स्वतन्त्रता र जिम्मेवारिताका सवालमा बहस हुन आवश्यक रहेको बताए ।
पूर्वमन्त्री थापाले आठ लाख क्रियाशिल कार्यकर्ता रहेको नेपाली कांग्रेसलाई संगठित र क्रियाशिल बनाउने अभियानमा आफूहरु लागेको बताए । उनले कांग्रेसलाई क्रियाशिल बनाउन प्रेस युनियनको भूमिका महत्वपूर्ण रहने बताएका छन् ।
कार्यक्रममा प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, महासचिव दिलिप पौडेल, कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, गुरुराज घिमिरे, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानलगायतले मन्तब्य राखेका थिए । अधिवेशनको उद्घाटन सत्र केन्द्रीय उपाध्यक्ष अनिल कर्णको अध्यक्षतामा सम्पन्न भएको थियो ।
नेपाल प्रेस युनियन बारा शाखाको समवन्यमा केन्द्रीय कमिटीले आयोजना गरेको अधिवेशनले अधिवेशन मधेस प्रदेश समितिका लागि नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशन आइतवार सम्पन्न हुनेछ ।