नेपाल पुलिस क्लबलाई स्तब्ध पार्दै नव जनजागृति राजर्षि जनक कपको क्वाटरफाइनलमा


eShilalekh

२७ माघ २०७९, शुक्रबार १९:४१

सिमराः विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गर्दै सिमराको नव जनजागृति युवा क्लब सातौं राजर्षि जनक कप फूटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सर्लाहीको कर्मैयास्थित सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा शुक्रवार भएको खेलमा पुलिस क्लबलाई सडन डेथमा पराजित गर्दै नव जनजागृति अन्तिम आठमा प्रवेश गरेको हो ।

विभागिय टिमविरुद्ध जित निकाल्ने क्रममा उत्कृष्ट खेल पस्केको नव जनजागृतिले सडन डेथसम्म संघर्ष गर्नुपरेको थियो । निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकमा पुगेको थियो ।

टाइब्रेकरमा पनि ५-५ गोलको बराबरी भएपछि नतिजा सडन डेथबाट निस्किएको हो । नव जनजागृति युवा क्लबका गोलरक्षक रोहन मगर खेलको म्यान अफ दि म्याच घोषित भएका छन् । उनले १० हजार नगर प्राप्त गरेका छन् ।

बाग्मती युवा क्लब र बाग्मती नगर खेलकुद विकास समितिको आयोजना तथा हरिवन नगरपालिकाको सहआयोजनामा जारी प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछ । प्रतियोगितामा नेपाल र भारतका १२ टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्