निजगढमा प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न
सिमराः निजगढमा आयोजित प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता शनिवार सम्पन्न भएको छ । सत्यश्वर तेक्वान्दो डोजाङको आयोजनामा शुक्रवादेखि प्रतियोगिता सुरु भएको थियो ।
प्रतियोगितामा सात स्वर्ण जित्दै आयोजक डोजाङ प्रथम भएको छ । यसैगरी पाँच स्वर्ण जितेको प्रिया तेक्वान्दो डोजाङ द्धितीय र चार स्वण जित्दै सिमरा तेक्वान्दो डोजाङ तृतीय भएको छ ।
प्रतियोगिताको उत्ृकष्ट फाइटरमा पुरुषतर्फ ४८ किलो तौल समूहका निश्चल धामी र महिलातर्फ ४२ किलो तौल समूहकी आयोजक डोजाङका खेलाडी सम्झना पाख्रीन घोषित भएका छन् ।
विजेता र उपविजेता खेलाडीलाई निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, वडाध्यक्ष टेकबहादुर लामा, नेपाल तेक्वान्दो महासंघ मधेस प्रदेशका महासचिव राजकुमार लामा, जिल्ला कार्यसमिति अध्यक्ष चित्रबहादुर लामा, तेक्वान्दोका सहायक प्रशिक्षक बिजय शाह ठकुरी, हेमलाल श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।
सत्यश्वर विद्यालय परिसरमा सम्पन्न प्रतियोगितामा बारा, पर्सा, सर्लाही, महोत्तरी, धनुषाका ५८ महिला र ४७ पुरुष खेलाडीले सहभागिता जनाएका थिए ।
सत्यश्वर डोजाङका प्रमुख जितसिंह लामाको अध्यक्षतामा र अनु बस्नेतको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो । सिमरास्थित नयाँ गोरेटो पुनर्स्थापना केन्द्रले प्रतियोगिता सम्पन्न गर्न सहयोगी संस्थाको भुमिका निर्वाह गरेको थियो ।