वीरगन्जले उचाल्यो कलैया टी–२० मेयर कप
सिमराः कलैया टी–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधी वीरगन्जले उचालेको छ । मकवानपुरलाई २३ रनले पराजित गर्दै वीरगन्जले उपाधी जितेको हो ।
सिद्धेश्वर मैदानमा शनिवार भएको फाइनल भिडन्तमा टस जितेर पहिले ब्याटिङ गरेको वीरगन्जले एक सय ४१ रन जोडेको थियो । वीरगन्जका लागी सुरज पटेलले ४९, नसरुद्धिन अंसारीले २१ रन र साम्सद मंसुरीले १७ रन जोडे ।
मकवानपुरका रिजन ढकाल र समिर चौलागाईंले समान दुई–दुई विकेट लिँदा बिशाल फुयालले एक विकेट लिए ।
एक सय ५० रनको लक्ष्य पछ्याउदै मैदानमा उत्रिएको मकवानपुर एक सय १८ रनमै समेटियो । मकवानपुरलाई सस्तैमा समेटने क्रममा वीरगन्जका साहिल हवारीले चार विकेट लिए । हवारीले ३.४ ओभरमा २१ रन खर्चिएर चार विकेट लिएका थिए । यसैगरी वीरगन्जका रञ्जित कुमार र सिफुल्लाह अंसारीले समान दुई–दुई विकेट लिए ।
मकवानपुरका लागी सुवर्ण भट्टले २८, सक्षम बस्ताकोटी २५ र गौरव खड्काले २२ रन बनाउनुबाहेक अन्य खेलाडी चल्न सकेनन् । अघिल्ला खेलहरुमा चम्किएका शुभ कंसकार फाइनलमा जम्न सकेनन् । उनी सात रनमै पेभेलियन फर्कदा मकवानपुरलाई असहज परिस्थिती बनेको थियो ।
उपाधी विजेता वीरगन्जले ट्रफिसहित ६० हजार नगद र उपविजेता मकवानपुरले ३० हजार प्राप्त गरेको छ । मकवानपुरका शुभ कंसकार प्लेयर अफ दि सिरिज घोषित भए । उनले प्रतियोगिता अवधीभर एक सय ३८ रन बनाएका थिए भने सात विकेट लिएका थिए ।
प्रतियोगिताको उत्कृष्ट बलर आयोजक कलैया क्रिकेट क्लबका त्रितराज दास घोषित भए । उनले आठ विकेट लिएका थिए । प्रतियोगिताको उदयीमान खेलाडी मकवानपुरका आशिष पोखरेल घोषित भए । फाइनल खेलको म्यान अफ दि म्याचको पुरस्कार वीरगन्जका सुरज पटेलले प्राप्त गरे ।
विजेता तथा उपविजेता टिमका खेलाडीलाई कलैया उपमहानगरपालिकाकी नगर उपप्रमुख रौशन परविनले पुरस्कार वितरण गरेकी थिईन् । यसअघि फाल्गुन ९ गते नगर प्रमुख विनोद साहले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
प्रतियोगितामा भारतको दुईसहित ६ टिमले सहभागिता जनाएका थिए ।