परवानीपुर गोल्डकप सुरु, उद्घाटन खेलमा आयोजक बिजयी
सिमराः आयोजक परवानीपुर युथ क्लबले दोस्रो परवानीपुर गोल्डकपमा बिजयी सुरुवात गरेको छ । प्रतियोगिताको शनिवार सम्पन्न उद्घाटन खेलमा बेलखाडी युथ क्लब महोत्तरीलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै आयोजकले जित हात पारेको हो ।
निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि नतिजा टाइब्रेकरबाट निकालिएको थियो । उद्घाटन खेलको म्यान अफ दि म्याच आयोजकका प्रिन्स ताम्राकार घोषित भए । उनले पाँच हजार नगद प्राप्त गरे ।
जितसंगै परवानीपुर प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत आइतवार नव जनजागृति युवा क्लब सिमरा र वीरगन्ज युनाइटेड क्लबबीच खेल हुनेछ ।
चैत्र ४ गतेसम्म आयोजना हुने प्रतियोगितामा मधेस प्रदेशको ६ र बागमती प्रदेशको दुई गरी आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख ५० हजार र उपविजेताले ७५ हजार प्राप्त गर्नेछन् ।
यसअघि प्रतियोगिताको उद्घाटन वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गरेका थिए । उद्घाटन कार्यक्रममा परवानीपुर गाँउपालिकाका अध्यक्ष रामक्षत्री कुर्मी, नकेपा एमालेका मधेश प्रदेश कमिटी सदस्य रामपाल यादव, वीरगन्ज महानगर कमिटीका अध्यक्ष राजेन्द्र यादव, वडा नम्बर ३ का वडाअध्यक्ष इब्राहिम मियाँ, वीरगन्ज महानगरपालिका २१ का वडाअध्यक्ष राधाकृष्ण रौनियार, वडा नम्बर ३० का वडाअध्यक्ष मनोज यादव, कृष्णा फाउन्डेसनका प्रतिनिधि प्रकाश यादवलगायतको उपस्थिती रहेको थियो ।
उद्घाटन कार्यक्रम परवानीपुर युथ क्लबका अध्यक्ष अलि अख्तर आलमको अध्यक्षतामा सम्पन्न भएको थियो ।