दोस्रो परवानीपुर गोल्डकपः वीरगन्ज युनाईटेड सेमिमा
सिमराः वीरगन्ज युनाईटेड क्लब दोस्रो परवानीपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । नव जनजागृति युवा क्लब सिमरालाई टाइब्रेकरमा पराजित गर्दै वीरगन्ज प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।
परवानीपुर खेल मैदानमा आइतवार भएको खेलमा वीरगन्जले जनजागृतिमाथी टाइब्रेकरमा ३–१ को जित निकालेको हो । निर्धारित समयमा दुवै टिमले १–१ को बराबरी खेलेपछि नतिजा टाइब्रेकरबाट निकालिएको हो ।
खेलको सुरुवातमै लिएको अग्रता जोगाउन नसक्दा जनजागृति पराजय भोग्दै प्रतियोगिताबाट बाहिरियो । पहिलो हाफमा जनजागृतिबाट खेलेका विदेशी खेलाडी टिम्बाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । सिमराको अग्रता बराबरीमा ल्याउने क्रममा वीरगन्जले दोस्रो हाफमा गोल फर्काएको थियो । वीरगन्जका लागि निरज थापा मगरले गोल गरेका थिए ।
खेलको म्यान अफ दि म्याच वीरगन्जका गोलरक्षक दिलमणी चौधरी घोषित भए । उनले पाँच हजार नगद प्राप्त गरे । प्रतियोगिता अन्तर्गत सोमबार हेटौडा फूटबल एकेडेमी र गोरखा फूटबल एकेडेमी सर्लाहीबीच खेल हुनेछ ।
परवानीपुर युथ क्लबको आयोजनामा शनिवारदेखि सुरु भएको प्रतियोगिताको विजेताले एक लाख ५० हजार र उपविजेताले ७५ हजार नगद प्राप्त गर्नेछन् ।