पटेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
कलैयाः जग्गा किर्ते सम्बन्धि मुद्धामा पक्राउ परेका जनता समाजवादी पार्टी बाराका पूर्व अध्यक्ष अजय पटेललाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बाराले अनुमति दिएको छ ।
केन्द्रीय अनुसन्धान व्युरोको टोलीद्धारा पक्राउ परेका पटेललाई जग्गा किर्ते मुद्धामा पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बारालाई अनुमति दिएको हो । व्युरोको टोलीले पटेललाई बारा प्रहरीको जिम्मा लगाएको थियो ।
पटेलमाथी उनिमाथी शिरोम इन्भेष्टमेन्ट प्रालिको नाममा दर्ता रहेको जग्गामा किर्ते कागज बनाई मोही देखाएको आरोप छ । उनले आफ्नो बुवा मदनप्रसाद कुर्मीको नाममा किर्ते कागजात तयार गरेर भूमिसुधार कार्यालयमा रहेको अभिलेखमा मोही कायम गरेको प्रहरीको भनाई छ । पटेलविरुद्ध काठमाडौं ५ का बिजयमणि दिक्षितले जाहेरी दिएका थिए ।
साविकको बहुअरी गाविस वडा नं. ६ स्थित कित्ता नं. २५२ को पाँच बिगाह ६ कठ्ठा १४ धुर जग्गामा मोही घुसाएको भन्दै दिइएको जाहेरीका आधारमा प्रहरीले पटेललाई पक्राउ गरेको हो । २०२२ सालदेखि दिक्षितको नाममा रहेको कित्ता नं. ४१ को पाँच बिगाह १९ कठ्ठा १५ धुर क्षेत्रफलको जग्गाबाट कित्ताकाट गरी पाँच बिगाह ६ कठ्ठा १४ धुर शिरोम इन्भेष्टमेन्ट प्रालिको नाममा दर्ता कायम रहेको थियो ।