आयोजकलाई स्तब्ध पार्दै अफ्रिकन रुट्स फाइनलमा


eShilalekh

१३ असार २०७८, आईतवार ०२:१९

सिमरा : क्यामरुनको अफ्रिकन रुट्स एशोसिएशन सिमरामा जारी विश्वकर्मा ११औं जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। आयोजक नव जनजागृति युवा क्लबलाई २-१ ले स्तब्ध पार्दै अफ्रिकन रुट्स फाइनलमा प्रवेश गरेको हो। 

उपाधी होडमा आफूलाई उभ्याउने क्रममा अफ्रिकन रुट्सले जनजागृति क्लबविरुद्ध अतिरिक्त समयमा जित निकाल्यो। निर्धारित समयमा दुबै टिमले १-१ को बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा अफ्रिकन रुट्का लागि ईबोडेले निर्णायक गोल गरे। 

यसअघि खेलको सुरुवातमै अफ्रिकन रुट्सविरुद्ध लिएको अग्रता जोगाउन नसक्दा आयोजक प्रतियोगिताबाट बाहिरिन पुगेको हो। खेलको सातौं मिनेटमा अफ्रिकन रुट्सका इबोडेले डोना थापालाई लडाएपछि डिबक्स बाहिर पाएको फ्रिकिकको अवसरलाई आयोजकले सदुपयोग गरेको थियो। 

डोनाले प्रहार गरेको उक्त फ्रिकिक बलमा सकल रेग्मीले गोल गरे। डोनाको प्रहारलाई अफ्रिकन रुटसका गोलरक्षक सेल्भियोले नियन्त्रणमा लिने क्रममा हातबाट फुस्किएपछि सकल रेग्मीले बललाई जाली चुमाएका थिए। 

घरेलु मैदानमा आयोजकले अग्रता लिदा रंगशालामा उपस्थित दर्शक उत्साहित भएका थिए। शारिरीक रुपमा बलियो देखिएको अफ्रिकन रुट्सविरुद्ध आयोजकले सम्मानजनक खेल प्रदर्शन गरेको थियो। आहा रारा गोल्डकपको उपाधी भिडन्तमा संकटासंग पराजित हुदै उपबिजेता भएर बारा आएको अफ्रिकन रुट्सले खेलको ३०औं मिनेटमा बराबरी गोल फर्कायो। टि एम्बेलको क्रसलाई सदुपयोग गर्दै नजिमिले खेल बराबरीमा ल्याएका थिए। 

न्जिमिको गोलबाट खेलमा फर्किएको अफ्रिकन रुट्सले पहिलो हाफमा केही अवसर खेर फाल्यो। यता फिनिसिङ पक्ष कमजोर बन्द स्कोर निकाल्न नसकेको आयोजक पहिलो हाफको अन्तिम समयमा १० खेलाडीमा समेटियो। रेफ्रिसंग अपशब्द प्रयोग गरेपछि याओले ४५औं मिनेटमा रातो पाए। याओ रातो कार्ड पाउदै बाहिरिएपछि आयोजकसामु चुनौती थपियो। । 

दोस्रो हाफमा १० खेलाडीसहित मैदानमा उत्रिएको आयोजकले अफ्रिकन रट्सविरुद्ध सम्झनलायक प्रदर्शन गर्यो। फिनिसिङ पक्षमा चुकेपनि अफ्रिकन रुट्सविरुद्ध आक्रामक देखिएको आयोजकको खेलले दर्शकको मन जितेको थियो। अघिल्लो दुई खेलमा गोल गरेका आयोजकका डोना थापा अफ्रिकन रुट्सविरुद्ध खासै चल्न सकेनन्। डोनालाई अफ्रिकन रुट्सको रक्षापंक्तीको मार्कमा राखेका थिए।  

अफ्रिकन रुट्सले पनि आयोजकविरुद्ध बनाएको थुप्रै अवसर गुमायो। खेलको ८५औ मिनेटमा एम्बाकोपको हेड बल क्रसबारमा ठोक्किएर फर्कियो। दुई टिमले बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलियो। अतिरिक्त समयमा आयोजक थप आक्रामक देखियो। उसले अफ्रिकन रुट्सविरुद्ध लगातार अवसर बनाए पनि सदुपयोग भने गर्न सकेन।  

अतिरिक्त समयको अन्तिम मिनेटमा अफ्रिकन रुट्सले आयोजक र घरेलु दर्शकलाई स्तब्ध पा¥यो। खेलको अन्तिम समयमा पाएको कर्नर बललाई क्लियर गर्न नसक्दा अफ्रिकन रुट्सका ईबोडेले निर्णायक गोल गरे। 

उनको गोलको मद्यतबाट अफ्रिकन रुट्स फाइनलमा प्रवेश गर्दा आयोजक उपाधी होडबाट बाहिरिन पुगेको हो। आयोजकका गोलरक्षक राहुल यादव खेलको म्यान अफ दि म्याच घोषित भए। उनले नगद पाच हजार हात पारे। प्रतियोगिता अन्तर्गत बिहिवार संकटा क्लब र एपिएफ क्लबबीच दोस्रो सेमिफाइनल खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस्