सिजनकै पहिलो उपाधि उचाल्न आतुर चर्च ब्वाईज र शेर्पा
सिमराः जगदम्बा १३औं जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि शनिवार चर्च ब्वाईज युनाइटेड र हिमालयन शेर्पा क्लब भिड्दैछन् । सिमरा रंगशालामा हुने अन्तिम भिडन्तमा दुबै टिम सिजनकै पहिलो उपाधि उचाल्ने दाउमा हुनेछन् ।
जारी सिजनमा दुबै टिम उपाधिविहिन अवस्थामा छन् । मोफसलका प्रतियोगितामा दुबै टिमको यो दोस्रो फाइनल हो । चालु सिजनमा चर्च ब्वाईजले इटहरी गोल्डकप र शेर्पाले मकवानपुर गोल्डकपको फाइनल खेलेका थिए । तर दुबै टिम उपविजेता रहन पुगे ।
मोफसलका अन्य प्रतियोगितामा सहभागी हुँदै सिमरा आएका दुबै टिम उपाधिविहिनताको अवस्थाको अन्त्य गर्न चाहन्छन् । दुबै टिमका लागि यो उपाधि निकै महत्वपूर्ण छ । यो प्रतियोगिता सम्पन्न भएलगत्तै ए डिभिजन लिगको छैठौं चरणका खेल सोमबारदेखि सुरु हुँदैछन् ।
काठमाण्डौ पुगेर लिगको यात्रा थालनी गर्न जीतपुरसिमराको उपाधिले उर्जा थप्ने टिमका कप्तान तथा प्रशिक्षक बताउछन् । लिगमा अपराजित रहेको चर्च ब्वाईजका प्रशिक्षक प्रदीप हुमागाई पहिलो सहभागितामै उपाधि उचालेर जीतपुरसिमरामा इतिहास रच्न र मोफसलको प्रतिष्ठित फूटबल प्रतियोगिताको उपाधि जितेर लिगको सुरुवात गर्न चाहन्छन् ।
‘यो उपाधि हाम्रो लागि निकै महत्वपूर्ण छ । हामीसंग राम्रो टिम छ तर उपाधि जित्न सकेका छैनौं’ अनुभवी प्रशिक्षक हुमागाईले भने ‘टिममा उर्जा र दर्शकमा उत्साह थप्न यो उपाधि जित्नै पर्नेछ । हामीले जित्ने गरी खेल्नेछौं ।’
बि डिभिजनबाट बढुवा भएपछि घरेलु फूटबलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको चर्च ब्वाईजले एपीएफ र एनआरटीलाई पराजित गर्दै जीतपुरसिमरा गोल्डकपको फाइनलको यात्रा तय गरेको हो । नवप्रवेशी टिम चर्च ब्वाईजले इतिहास रच्न शेर्पाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ ।
दोस्रो संस्करणको विजेता र चौथो संस्करणको उपविजेता शेर्पा जीतपुरसिमरा गोल्डकपका लागि परिचित टिम हो । लामो समयदेखि निरन्तर सहभागिता जनाउदै आएपनि उसले पछिल्लो १० वर्षदेखि भने जीतपुरसिमरामा सुखद् नतिजा हात पार्न सकेको छैन ।
फाइनलको यात्रा तय गर्न १० वर्ष प्रतिक्षा गरेको शेर्पा दोस्रो पटक उपाधि उचाल्ने अवसर खेर फाल्न चाहदैन् । लिगको तेस्रो स्थानमा रहेको चर्च ब्वाईजलाई पराजित गर्दै दशौं स्थानमा रहेको शेर्पा मनोबल उच्च पार्न चाहन्छ ।
शेर्पाका टिम मेनेजर बिजेन पुडासैनीले जीतपुरसिमराको उपाधि जितेर लिगको सुरुवात गर्न आफूहरु आतुर रहेको बताए । यो उपाधि जितेसंगै आफूहरुले लिगमा पुनरागमन गर्ने उनको भनाई थियो । ‘राम्रो फूटबल खेल्नका लागि ट्रफि निकै महत्वपूर्ण छ । त्यसैले उपाधि उचाल्ने अवसर हामी गुमाउन चाहदैनौं’ पुडासैनीले भने ‘यो उपाधि सम्पूर्ण टिम र समर्थकका लागि आवश्यक छ’।
पुडासैनीले चर्च ब्वाईज उत्कृष्ट फूटबल प्रदर्शन गरिरहेको टिम भएकाले फाइनल भिडन्त हेर्नलायक हुने बताउछन् । लिगको शिर्ष स्थानमा रहेको सातदोबाटो युथ क्लब पराजित गर्दै जीतपुरसिमरा गोल्डकपको यात्रा सुरुवात गरेको शेर्पाले सेमिफाइनल खेलमा साविक विजेता एनआरटीलाई पराजित गरेको थियो ।
दुई बलियो टोलीविरुद्धको जित पनि फाइनल जित्ने आधार रहेको पुडासैनीको भनाई छ । यता `ए डिभिजन´ लिगमा अपराजित रहेको चर्च ब्वाईज उच्च मनोबलका साथ मैदानमा उत्रने र पहिलो पटककै सहभागितामा उपाधि उचालेर विजेताको सूचिमा नाम लेखाउन चाहन्छ । उपाधि जित्नका लागि चर्च ब्वाईजले उत्कृष्ट फूटबल खेल्ने र फाइनल भिडन्तमा दर्शकको मन जित्ने गरी प्रदर्शन गर्ने बताए ।
चर्च ब्वाईजका कप्तान मिलन राई काठमाडौंबाट तराई आएर फूटबल खेल्न सहज नभएपनि टिमले उत्कृष्ट प्रदर्शन गरिरहेको बताउछन् । उनले आफूहरु उपाधि जित्ने लक्ष्यसहित मैदामा उत्रिने बताए ।
यता लामो समयको इन्जुरीपछि जीतपुरसिमरा गोल्डकपबाट मैदानमा फर्किएका शेर्पाका कप्तान बिश्वास श्रेष्ठ उत्साहित छन् । आफ्नो लागि र टिमको लागि उपाधि निकै महत्वपूर्ण रहेको बताउदै विश्वासले फाइनल भिडन्तका लागि आफूहरु पूर्णरुपमा तयार रहेको बताए ।