मालपोत कार्यालय बाराका कर्मचारीसहित दुई जनाविरुद्ध भष्ट्राचार मुद्धा दायर
सिमराः अख्तियार अनुसन्धान दुरुपयोग आयोगले जिल्ला मालपोत कार्यालय बाराका एक कर्मचारीसहित दुई जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भष्ट्राचार मुद्धा दायर गरेको छ ।
सेवाग्राहीसंग घुस लिएको आरोपमा पक्राउ परेका मालपोत कार्यालयका खरिदार रामविश्वास साह र कलैया उपमहानगरपालिका २५ का गौरीशंकर कुशवाहाविरुद्ध अख्तियारले मुद्धा दायर गरेको हो ।
उनिहरुमाथी जग्गा रजिष्ट्रेसन पास गर्नका लागि सेवाग्राहीसंग १५ हजार घुस लिएको आरोप छ । खरिदार साहले सेवाग्राहीसंग घुस लिन कुशवाहालाई प्रयोग गरेको र कुशवाहाले सेवाग्राहीसंग घुस लिएका थिए ।
अख्तियारको टोलीले कुशवाहालाई १५ हजार नगदसहित नियन्त्रणमा लिएको थियो । कुशवाहालाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा साहको समेत संलग्नता रहेको पुष्टि भएपछि दुबै जनाविरुद्ध मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ ।
साहलाई मुख्य कसुरदार ठहर गर्दै भष्ट्राचार निवारण ऐन २०५९, को दफा (३) को उपदफा १ को (क) र कुशवाहालाई मतियारका रुपमा प्रस्तुत गर्दै भष्ट्राचार निवारण ऐन २०५९, को दफा (३) को उपदफा १ वमोजिम सजाय माग गर्दै मुद्धा दायर गरेको अख्तियारका प्रवक्त भोला दाहालले जनाएका छन् ।