जीतपुर-सिमरा गोल्डकप : शेर्पालाई पन्छाउँदै आयोजक सेमिफाइनलमा


eShilalekh

१३ असार २०७८, आईतवार ०२:२६
बल नियन्त्रणमा लिने प्रयास गर्दै शेर्पा र आयोजक (निलो) का खेलाडी।

सिमरा : हिमालयन शेर्पा क्लबविरुद्ध रोमाञ्चक जित हात पार्दै आयोजक नव जनजागृति युवा क्लब विश्वकर्मा ११औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। 

सिमरा रंगशालमा शनिबार साँझ भएको खेलमा शेर्पालाई ३-२ ले स्तब्ध पार्दै आयोजकले अन्तिम चारको यात्रा तय गरेको हो। शेर्पालाई निराश पार्ने क्रममा आयोजकका लुईस बिडाल, डोना थापा र सकल रेग्मीले समान एक-एक गोल गरे। शेर्पाका लागि पूर्ण गुरुङ र रवि रानाले गोल फर्काए।
आयोजकविरुद्ध खेलमा अग्रता लिएको शेर्पाले आफूलाई सम्हाल्न नसक्दा पराजय भोग्न बाध्य भयो। खेलको १९औं मिनेटमा पूर्ण गुरुले शेर्पालाई अग्रता दिलाएका थिए। डिबक्स भित्रको पाएको एयर बललाई नियन्त्रणमा लिंदै गुरुङले उत्कृष्ट गोल गर्दा घरेलु दर्शक निराश बन्न पुगेका थिए। 

घरेलु मैदानमा उच्च मनोबलसहित मैदानमा उत्रिएको आयोजकले शेर्पाको अग्रता धेरैबेर टिक्न दिएन। खेलको २४औं मिनेटमा लुईस बिडालले बराबरी गोल फर्काए। त्यसको एक मिनेट बित्न नपाउँदै आयोजकले खेलमा २-१ को अग्रता लियो। लुईस बिडालको हेड पासलाई सदुपयोग गर्दै डोनाले टिमलाई उत्कृष्ट पुनरागमन गराए। 

खेलमा अग्रता लिएपछि आयोजकले शेर्पामाथि दवाव सिर्जना गर्‍यो। शेर्पालाई पहिलो हाफमा दवावमा राख्न सफल आयोजकले गोलअन्तर फराकिलो पार्ने केही अवसर खेल फाल्यो। खेलको ३०औं मिनेटमा एलोन राईको पासलाई मोहित गुरुङले गोल गर्न चुकाए। राईको क्रस एयर बललाई गुरुङले नियन्त्रणमा लिन सकेनन्। 

करिब चार हजार घरेलु दर्शकको समर्थन पाएको आयोजकले दोस्रो हाफमा पनि उत्कृष्ट प्रदर्शनलाई कायम राख्यो। आफ्नो पहिलो खेलमा बाग्मती गाउँपालिकालाई ४-२ पराजित गर्दै ए डिभिजन क्लब शेर्पासँगको भेट पक्का गरेको आयोजकले प्रशंसा गर्न लायक खेल प्रदर्शन गरेको थियो। दोस्रो हाफमा उस्तै लयमा देखिएको आयोजकले खेलको ६३औं मिनेटमा तेस्रो गोल थप्यो। 

शेर्पाका गोलरक्षक छिरिङ लामा बल नियन्त्रणमा लिने क्रममा गल्ती गर्न पुग्दा त्यसको फाइदा सकल रेग्मीले उठाएका थिए। छिरिङले बल नियन्त्रणमा लिन खोज्दा रिबाउण्ड भएको बललाई सदुपयोग गर्दै सकलले खेल ३-१ को स्थितिमा पुर्‍याए। डिबक्सभित्रबाट उनले गरेको प्रहारले सिधै जाली चुमेको थियो। 
खेलमा आयोजकले गोलअन्तर फराकिलो बनाएपछि शेर्पा केही दवावमा देखियो। शेर्पाले बनाएको केही प्रयासलाई रक्षात्मक देखिएको आयोजकले बिफल तुल्याएको थियो। 

खेलको अन्तिम समयमा शेर्पाले खेलमा फर्कने प्रयास गर्दै आयोजकलाई चुनौती दिएको थियो। खेलको ८८औं मिनेटमा रवि रानाले शेर्पाका लागि दोस्रो गोल गर्दा प्रतिस्पर्धा थप रोमाञ्चक बन्न पुगेको थियो। डिबक्स बाहिर पाएको फ्रिकिक बललाई रानाले सिधै जाली चुमाएका थिए। 

खेलको अन्तिम समयमा शेर्पाले गोल फर्काउँदै आक्रामक प्रदर्शन गरेपछि पाचौं संस्करणको बिजेता समेत रहेको आयोजक टिम केही समय दवावमा देखियो। अन्तिम केही मिनेटमा निकै रक्षात्मक खेल खेल्दै शेर्पालाई रोक्न सफल हुँदा आयोजकले अघिल्लो यात्रा तय गरेको हो। खेलको म्यान अफ दि म्याच आयोजकको गोलरक्षक सुभाष बल घोषित भए। उनले नगद पाँच हजार हात पारे। प्रतियोगिता अन्तर्गत आइतबार त्रिभुवन आर्मी फुटबल क्लब र अफ्रिकन रुट्स एशोसियशनबीच खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस्