लागू औषधविरुद्धको दिवसका अवसरमा नयाँ गोरेटोद्धारा अन्तरक्रिया


eShilalekh

१२ असार २०८०, मंगलवार ०१:५८

सिमराः लागूऔषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर सिमरास्थित नयाँ गोरेटो सुधार केन्द्रले सोमबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

लागूऔषध प्रयोगकर्ताको उपचार र पुर्नस्थापनका लागि सक्रिय रहेको सुधार केन्द्रले जीतपुरसिमरा २ स्थित कार्यालयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा जीतपुरसिमराका नगर प्रमुख राजन पौडेल, अल्पाइन अस्पताल सिमराका संचालक एवम् रेडक्रस सोसाईटी सिमरा उपशाखाका अध्यक्ष शिव शर्मा, जीतपुरसिमरा २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रहरी सहायक निरीक्षक दीपक बस्नेत, स्थानीय महिला नेतृ शिला खनाललगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा मन्तब्य राख्दै नगर प्रमुख पौडेलले लागूऔषध मुक्त समाज निमार्णको अभियानमा आफ्नो सहयोग रहने बताए । लागूऔषध विकृतीको रुपमा मौलाएको भन्दै पौडेलले रचनात्मक क्रियाकलापतर्फ ध्यान दिन आवश्यक रहेको बताए ।

यसैगरी अल्पाइन अस्पतालका संचालक शर्माले लागूऔषधको प्रयोग निरुत्साहित गर्नुपर्नेमा जोड दिए भने वडाध्यक्ष श्रेष्ठले लागु औषध प्रयोग न्युनिकरणको अभियान घरघरबाट थालनी हुन जरुरी रहेको बताए । यस्तै प्रहरी सहायक निरीक्षक बस्नेतले लागूऔषधको प्रयोग र यसबाट हुने सक्ने सवारी दुर्घटनाका विषयमा सहभागीलाई जानकारी गराएका थिए ।

कार्यक्रममा महिला नेतृ खनालले लागूऔषध प्रयोगकर्तालाई समाजमा पुर्नस्थापित गराउन सक्रिय सुधार केन्द्रलाई स्थानीय सरकारले महत्व दिनुपर्ने बताईन् । स्थानीय सरकारले दीर्घकालिन सोचका साथ सुधार केन्द्रलाई सहयोग नगरेसम्म लागूऔषध प्रयोगकर्ताको संख्या पूर्णरुपमा नियन्त्रणमा ल्याउन सहज नहुने बताईन् ।

नयाँ गोरेटो सुधार केन्द्रका अध्यक्ष राजकुमार लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परामर्शदाता बबिन सुब्बाले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको सहजीकरण रुवन थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्