जीतपुरसिमरा ३ मा सिलाई कटाई तालिम सम्पन्न
सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ मा संचालित सिलाई कटाई तालिम विहिबार सम्पन्न भएको छ । महिलालाई आत्मनिर्भर बनाउन वडा कार्यालयको सहयोगमा आयोजित ४५ दिने तालिम सम्पन्न भएको हो ।
तालिमको समापन कार्यक्रममा वडाध्यक्ष ताराबहादुर कार्कीले सहभागीलाई प्रमाणपत्र वितरण गरेका छन् । प्रमाणपत्र वितरण गर्दै कार्कीले तालिमबाट प्राप्त सिपको उपयोग गरी आत्मनिर्भरताको बाटोमा अघि बढ्न सहभागीलाई आग्रह गरेका छन् ।
महिला सरोकार मञ्चको व्यवस्थापकीय सहजीकरणमा सम्पन्न तालिममा २२ जना महिलाको सहभागिता रहेको थियो । सहभागी महिलालाई एक थान मेसिन समेत प्रदान गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिए ।
सरोकार मञ्चकी अध्यक्ष देवी सापकोटाको अध्यक्षतामा सम्पन्न समापन समारोहमा वडा सदस्य चिनबहादुर पाख्रिन, देवनारायण चौधरी, माया विक, अनितादेवी खत्री, वडासचिव अनिल विकलगायतको उपस्थिती रहेको थियो ।
तालिम समापन कार्यक्रमको सहजीकरण संस्थाकी सचिव मालती कुमालले गरेकी थिईन् ।