रामनारायण मिश्र फूटबल प्रतियोगितामा सिरहा तेस्रो, साविक विजेता सर्लाही पराजित
सिमराः मधेस प्रदेश स्तरीय दोस्रो रामनारायण मिश्र फूटबल प्रतियोगिता अन्तर्गत तेस्रो स्थानका लागि शुक्रवार भएको खेलमा सिरहा बिजयी भएको छ । साविक विजेता सर्लाहीविरुद्ध ३–१ को जित हात पार्दै सिरहाले प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको हो ।
सेमिफाइनलमा पराजित भएका दुई टिमबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा भएको थियो । तेस्रो भएको सिरहाले नगद २० हजार प्राप्त गर्ने भएको छ ।
प्रतियोगिताको उपाधीका लागि शनिवार बारा र रौतहट भिड्दैछन् । बाराले सिरहा र रौतहटले सर्लाहीलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन् । फाइनल पुगेका दुई टिमबीचको उपाधी भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
मधेस प्रदेश फूटबल संघको आयोजना र बारा जिल्ला फूटबल संघको सहआयोजनामा जारी प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद प्राप्त गर्नेछ ।
मधेस प्रदेशको शिक्षा तथा समाज कल्याण मन्त्रालयको आर्थिक सहयोगमा प्रतियोगिता असार ११ गतेदेखि प्रतियोगिता सुरु भएको हो ।