एक सय ६८ किलो लागुऔषध गाँजा बरामद


eShilalekh

२१ असार २०८०, बिहीबार २२:१९


सिमराः प्रहरीले बाराको कोल्हबीबाट एक सय ६८ किलो लागुऔषध गाँजा बरामद गरेको छ । कोल्हबी नगरपालिका ५ सोनाभारस्थित जितेन्द्र चौधरीको घरबाट प्रहरीले गाँजा बरामद गरेको हो ।

अवैध रुपमा गाँजा लुकाएको सूचना पाएपछि पुगेको प्रहरी टोलीेले चौधरीको घरबाट गाँजा बरामद गरेको बाराका प्रहरी प्रवक्ता पुरुषोत्तम पाण्डेले जानकारी दिए । पाण्डले चौधरीको खोजी भईरहेको र बरामद गाँजा ईलाका प्रहरी कार्यालय कोल्हबीमा राखिएको जनाएका छन् ।

यसअघि बारा प्रहरीले असार १४ गते जीतपुरस्थित सडकमा पार्किङ गरेर राखेको भारतीय नम्बरको ट्रकबाट दुई सय ६२ किलो गाँजा बरामद गरेको थियो । मकवानपुरबाट वीरगन्जतर्फ जाने क्रममा जीतपुरमा रोकिराखेको बिआर २५ जिए १४२८ नम्बरको ट्रकबाट प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

यसैगरी असार १९ गते ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले ६ किलो पाँच सय ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा धनुषा ढल्केबर नगरपालिका ७ केमलीपुरकी रामपुकारी साह, बस चालक पर्वत कुश्मा नगरपालिका ८ का कमल दमाई, सहचालक तनँहु ब्यास नगरपालिका ११ का अमित लम्साललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पोखरबाट जनकपुरतर्फ जादै गरेको ग१ख ९९२८ नम्बरका बस चेकजाँचका क्रममा प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको थियो ।

पछिल्लो एक सातामा प्रहरीले चार सय २६ किलो भन्दा बढी गाँजा बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्