सम्पति नदिएको रिसमा ससुरालीमै श्रीमतीको हत्या
सिमराः बाराको सिम्रौनगढमा आफ्नै श्रीमतीको हत्या गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरी प्रहरीले विहिबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भारत विहार पूर्वी चम्पारण पचपकडी १४ रुपौलियाका ३१ वर्षीय मोहमद मुस्ताक अहमद रहेका छन् ।
मुस्ताकले सिम्रौनगढ नगरपालिका ६ स्थित बजार टोलमा बुधवार बिहान घरेलु हतियार प्रयोग गरी २२ वर्षीय आसमिन खातुनको हत्या गरेको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन् । मुस्ताकले श्रीमती खातुनलाई सुतिरहेको अवस्थामा घाटी रेटेर हत्या गरेको प्रहरी उपरीक्षक बोगटीको भनाई छ ।
ससुरालीमा श्रीमतीको हत्या गरी भारततर्फ भाग्दै गरेका उनलाई स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो । भारतीय नागरिकसंग विवाह गरेकी खातुन घटना भएकै दिन सिम्रौनगढस्थित माइती आएकी थिईन् । उनको दुई छोरा र एक छोरी छन् ।
प्रहरीका अनुसार मुस्ताकले सम्पतिका लागि श्रीमती खातुनसहित सासुससुरालाई दवाव दिदै आएको र सो क्रममा विवाद भएपछि रिसमा हत्या गरेका हुन् । श्रीमती खातुनभन्दा माइती आउनुभन्दा अघिल्लो दिन ससुराली आएर बसेका मुस्ताकले सासुससुरासंग सम्पति मागेका थिए । सम्पतिको विषयलाई लिएर विवाद भएको र राती हत्या गरेको प्रहरी उपरीक्षक बोगटीले बताए ।
मुस्ताकले यसअघि पनि श्रीमती खातुनसहित सासुससुरालाई सम्पतिका लागि दवाव दिने गरेको अनुसन्धानबाट खुलेको बोगटीले जानकारी दिए । हत्या अभियोगमा पक्राउ परेका मुस्ताकलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको बोगटीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।