अफ्रिकन रुट्ससँग आर्मी स्तब्ध
सिमरा : साविक उपबिजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई स्तब्ध पार्दै क्यामरुनको अफ्रिकन रुट्स एशोसियशन विश्वकर्मा ११ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा आइतबार भएको खेलमा आर्मीलाई २-१ ले पराजित गर्दै पहिलो पटक सहभागिता जनाएको पाहुना टोली अफ्रिकन रुट्सले अन्तिम चारको यात्रा तय गरेको हो।
अफ्रिकन रुट्सको जितमा नजिमिले दुई गोल गरे। आर्मीका लागि जर्ज प्रिन्स कार्कीले एक गोल गरे। खेलमा आर्मीविरुद्ध अग्रता लिएको अन्तिम समयसम्म जोगाउन नसक्दा अफ्रिकन रुट्सले अतिरिक्त समयको खेलमा जित निकालेको थियो।
खेलको सुरुवातदेखी आक्रामक देखिएको अफ्रिकन रुट्सले पहिलो हाफमा बनाएको थुप्रै अवसर सदुपयोग गर्न नसक्दा गोलका लागि दोस्रो हाफसम्म संघर्ष गर्नुपर्यो। खेलको १३ औं मिनेटमा अफ्रिकन रुट्सका आर एम्बाकोपले गोल गर्ने उत्कृष्ट अवसर गुमाए। आर्मीका गोलरक्षक महेश्वर श्रेष्ठले बल नियन्त्रणमा लिने क्रममा हातबाट फुक्किएको बललाई एम्बाकोपले ठम्याउन सकेनन्।
वीरगन्ज युनाईटेड क्लबलाई ४-१ ले पराजित गर्दै अफ्रिकन रुट्ससँगको भेट पक्का गरेको आर्मी सुरुवातदेखी दवावमा देखियो। आर्मीले पहिलो हाफमा खासै अवसर बनाउन सकेन्। घरेलु दर्शकको समर्थन पाएको आर्मीको केही प्रयासलाई अफ्रिकन रुट्सका रक्षापंक्तीले विफल तुल्याएका थिए।
१९औं आहा रारा गोल्डकपको उपबिजेता बन्दै बारा आएको अफ्रिकन रुट्सले दोस्रो हाफमा भने आर्मीविरुद्ध अग्रता लियो। खेलको ६१औं मिनेटमा नजिमिले अफ्रिकन रुट्सलाई अग्रता दिलाए। डिबक्स भित्र पाएको बललाई उनले सहजै जाली चुमाए। उनको प्रहारलाई आर्मीका गोलरक्षक महेश्वर श्रेष्ठले नियन्त्रणमा लिन सकेनन्।
आर्मीको तुलनामा शारीरिक रुपमा बलियो देखिएको अफ्रिकन रुट्सले विभागीय टोली आर्मीलाई दवावमा राख्न सफल भयो। दोस्रो रोजाइका खेलाडीसहित मैदानमा उत्रिएको आर्मीले सोचेअनुरुप खेल प्रदर्शन गर्न सकेन। रक्षामत्क अफ्रिकन रुट्सविरुद्ध गोल फर्काउन नसकेको आर्मीले खेलको ८९औं पेनाल्टी प्राप्त गर्यो। ए फेब्रिकले डिबक्स भित्र हातले बल रोकेपछि फिफा रेफ्रि प्रकाशनाथ श्रेष्ठले आर्मीलाई पेनाल्टीको अवसर दिए।
खेल सकिन एक मिनेट बाँकी छँदा पाएको पेनाल्टीमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै टिमलाई खेलमा फर्काए। उनको गोलसँगै खेल अतिरिक्त समयमा धकेलियो। जित नजिक पुगेको अफ्रिकन रुट्स अन्तिम समयमा सम्हालिन नसक्दा जितका लागि अतिरिक्त समयसम्म संघर्ष गर्नुपर्यो।
निर्धारित ९० मिनेटको समय सकिएपछि थपिएको अतिरिक्त ३० मिनेटको पहिलो हाफमा अफ्रिकन रुट्सले गोल गरेको थियो। अतिरिक्त समयको पाचौं मिनेटमा नजिमिले दोस्रो गोल गर्दै टिमलाई विजयी गोल गरे। स्मेलको कर्नर बललाई हेडमार्फत गोल गर्दै नजिमिले टिको जित सुनिश्चित पारेका हुन्। जितसँगै सेमिफाइनलमा प्रवेश गरेको अफ्रिकन रुट्सले फाइलन प्रवेशका लागि आयोजक नव जनजागृति क्लबसँग खेल्नेछ।
खेलको म्यान अफ दि म्याच नजिमि घोषित भए। उनले नगद पाच हजार हात पारे। प्रतियोगिता अन्तर्गत सोमबार विभागीय टिम एपिएफ क्लब र बाग्मती युवा क्लब सर्लाहीबीच खेल हुनेछ।