रोट्रयाक्ट क्लब सिमराद्धारा प्राथमिक उपचार तथा पानी वितरण शिविरको आयोजना


eShilalekh

२९ श्रावण २०८०, सोमबार १९:०५

सिमराः सहजनाथ मन्दिरमा आउने दर्शनार्थीलाई लक्षित गर्दै रोट्रयाक्ट क्लब अफ सिमराले सोमबार निःशुल्क प्राथमिक उपचारका साथै पानी तथा जुस वितरण शिविरको आयोजना गरेको छ ।

साउनको अन्तिम सोमबार मन्दिर दर्शनका लागि आउने दर्शनार्थीका लागि क्लबले प्राथमिक उपचार शिविरको आयोजना गर्दै पानी तथा जुस निःशुल्क वितरण गरेको हो ।

एभरग्रिन तराई सिमरा अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरबाट करिब एक हजार दर्शनार्थीले सेवा लिएको क्लबका अध्यक्ष विवेककुमार साहले जानकारी दिए । पूर्वपश्चिम राजमार्गबाट मन्दिर प्रवेश गर्ने द्धारमा आयोजित शिविरमा सयौं दर्शनार्थीको प्राथमिक उपचार साथै करिब एक हजार जनालाई जुस तथा पानी वितरण गरिएको साहले बताए ।

सामाजिक गतिविधिमा सक्रिय रहदै आएको क्लबले क्लबका सदस्यबाट स्रोत जुटाएर कार्यक्रमको आयोजना गरेको हो । शिविरमा प्राविधिक सहयोग गरेको एभरग्रिन तराई सिमरा अस्पतालका हेल्थ असिस्टेन्ट केशव ठाकुर, क्लबका प्रतिमा खड्का, संजित चौरसिया, सुभम झा, किशोर ढकाल, सुमन सिंहलगायत सहभागी थिए ।

बालकको उद्धार गरी परिवारको जिम्मा

सहजनाथ मन्दिर क्षेत्रबाट अभिभावकसंग छुट्टिएका एक बालकलाई उद्धार गरी क्लबका सदस्यले परिवारको जिम्मा लगाएका छन् । दर्शनार्थीको भिड्मा हराएर अभिभावक खोज्दै हिडेका ६ वर्षीय रोहित सर्राफलाई उद्धार गरी परिवारको परिवारको जिम्मा लगाएको क्लबका अध्यक्ष साहले बताए ।

महागढीमाई नगरपालिका ३ का रोहित आफ्नो बुवा राकेश सर्राफसहित परिवारका सदस्यसंग मेला हेर्न आएका थिए । दर्शनार्थीको भिड्बाट हराएको बालकको खोजी भईरहेको सूचना पाएपछि क्लबका सदस्यले अभिभावक पहिचान गरेर बालकलाई परिवारको जिम्मा लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्