दुधौरा खोलामा अवैध उत्खनन्, जंगलमा घाटगद्धी


eShilalekh

६ भाद्र २०८०, बुधबार २२:१२

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका १ स्थित दुधौरा खोलामा अवैध रुपले नदीजन्य पदार्थ उत्खनन् भएको पाइएको छ । खोलानजिकैको जंगलमा बालुवा, ढुंगाजस्ता नदीजन्य पदार्थ घाटगद्धी गरेको भेटिएपछि अवैध उत्खनन् भएको पाइएको हो ।

बलियो आन्तरिक स्रोतको रुपमा रहेको खोलामा अवैध उत्खनन् भएको सूचना पाएपछि उपमहानगरपालिकाले जंगलभित्र घाटगद्धी गरिएको नदीजन्य पदार्थ जफत गरेको छ । जंगलमा नदीजन्य पदार्थ थुपारेर राखेको सूचना पाएपछि उपमहानगरपालिकाका राजश्व शाखाका प्रमुख रमेश सुवेदीको नेतृत्वको टोली जंगल पुगेको थियो ।

जंगल पुगेलगत्तै सुवेदी नेतृत्वको टोलीले जंगलमा घाटगद्धी गरिएको बालुवा र ढुंगा उठाएर सिमरा ल्याएको हो । अवैध ढंगले खोला उत्खनन् गरेर जंगलमा थुपारेको भेटिएपछि नदीजन्य पदार्थ जफत गरेर वडा नं. २ को कार्यालय अगाडी राखिएको अधिकृत सुवेदीले जानकारी दिए ।

अधिकृत सुवेदीले ५० ट्रिपभन्दा बढी बालुवा र ढुंगा ल्याएको र ल्याउने क्रम जारी रहेको बताए । उनले खोलामा भएको अवैध उत्खनन्को विषयमा छानविन भईरहेको र संलग्न व्यक्तिको पहिचान भएमा कारवाही प्रक्रिया अघि बढ्ने बताए ।

उपमहानगरपालिकाको कार्यालयबाट ठेक्का स्विकृत नभएसम्म खोलाबाट नदीजन्य पदार्थ उत्खनन् गर्न नपाइने भएपनि अवैधरुपमा हुने उत्खनन् रोकिएको छैन् । केही दिन अघि मात्रै जीतपुरसिमरा ४ र १४ लाई जोड्ने दुधौरा खोलामा संचालित बालुवा प्रशोधन केन्द्रबाट अवैधरुपमा उत्खनन् गरी थुपारिएको बालुवा जफत गरिएको थियो ।

उपमहानगरपालिका अन्तर्गत पर्ने खोलाबाट अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन् र ढुवानी भईरहदा सरोकारवाला निकाय भने मौन देखिन्छन् । रातीको समयमा हुने अवैध उत्खनन् र ढुवानी नियन्त्रणमा सम्बन्धित पक्षले चासो देखाएको पाइदैन् ।

यता हालै उपमहानगरपालिकाको राजश्व शाखाको जिम्मेवारी सम्हालेका सुवेदीले भने अब खोलाबाट हुने अवैध उत्खनन् पूर्णरुपमा नियन्त्रण हुने बताए । केही दिनअघि वडा नं. ४ र १४ को बीचमा पर्ने दुधौरा खोला र अहिले वडा नं. १ मा पर्ने दुधौरा खोलाबाट अवैध उत्खनन् गरी थुपारेर राखिएको नदीजन्य सामाग्री जफत गरिएको बताउदै सुवेदीले अब अवैध उत्खनन् पूर्णरुपमा नियन्त्रणमा ल्याउने गरी उपमहानगरपालिका अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्