सिमरा खानेपानीको २१औं साधारणसभा सम्पन्न


eShilalekh

१० भाद्र २०८०, आईतवार ११:२१

सिमराः सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको २१औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको बारा क्षेत्र नं. ४ का सांसद एवम् पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले उद्घाटन गरेका हुन् ।

साधारणसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले खानेपानी र सरसफाईका क्षेत्रका लागि सहकार्य गर्न आफू तयार रहेको बताए । सबै नागरिकको पहुँच पुग्ने गरी खानेपानीको विस्तार हुनुपर्ने सांसद श्रेष्ठले बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य देवनाराण चौधरीले नागरिकको प्रत्यक्ष जीवन जोडिएको खानेपानीको अभाव हुन नदिनका लागि योजनासहित आउन आग्रह गरे । उनले खानेपानीको विस्तार र सरसफाईका लागि आफूले सहयोग गर्ने बताए ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, वडा नं. २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नं. ३ का वडाध्यक्ष ताराबहादुर कार्की, नेपाली काँग्रेस जीतपुरसिमरा नगर सभापती छविलाल शर्मा, नेकपा एमालेका नेता अमृतलाल श्रेष्ठ, रमेश खरेल, राप्रपाका नेता माधवप्रसाद त्रिपाठीलगायतले मन्तब्य राखेका थिए ।

साधारणसभाको अवसरमा संस्थाले नियमित महशुल बुझाउने मध्ये तीन उपभोक्तालाई सम्मान गरेको छ । सम्मानित हुनेमा होमप्रसाद सिंखडा, लिला मगर गुरो र यमबहादुर भण्डारी रहेका छन् ।

संस्थाको अध्यक्ष कासिम हुसेनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सूचना अधिकारी निर्जल घिमिरेले गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य निर्मला थापाले राखेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्