‘पहिला लागूऔषध प्रयोगकर्ता, अहिले अभियन्ता’


निलिसा वर्मा

१३ भाद्र २०८०, बुधबार २३:०४

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयाका २६ वर्षीय बबिन सुब्बा पछिल्लो समय लागूऔषध तथा मादक पदार्थ सेवनविरुद्धको सचेतना अभियानमा व्यस्त हुने गरेका छन् । सरोकारवाला निकाय र विभिन्न संघसंस्थाको आयोजनामा हुने लागूऔषध तथा मादक पदार्थ सेवनविरुद्धको कार्यक्रममा उनी सहजकर्ताको भूमिका उभिएका हुन्छन् ।

त्यतिमात्र नभई लागूऔषधको प्रयोग छाडेर समाजमा पुर्नस्थापित हुन सकिन्छ भन्ने उदाहरणका रुपमा उनलाई उभ्याउने गरिन्छ । लामो समय लागूऔषधको प्रयोगमा रुमल्लिएका उनि पनि लागूऔषधमुक्त समाज निर्माणको अभियानमा सक्रिय भएर लागेका छन् । कुनै समय प्रयोगकर्ताको रुपमा चिनिएका बबिनले अहिले लागूऔषध तथा मादक पदार्थविरुद्धको अभियन्ताको रुपमा परिचय स्थापित गरेका छन् ।

करिब आठ वर्ष अगाडी लागूऔषध प्रयोगकर्ताको संगतबाट सेवन सुरु गरेका बबिन अहिले तिनै अनुभव सुनाएर लागूऔषधको प्रयोगमा नफस्न युवाहरुलाई सम्झाईरहेका हुन्छन् । उनि अहिले लागूऔषध तथा मादक पदार्थ सेवनकर्तालाई समाजमा पुर्नस्थापित गराउन सक्रिय रहेको संस्था नयाँ गोरेटो पुर्नस्थापना केन्द्रको सहजकर्ता समेत हुन् । केन्द्रमा उपचारका लागि आउने प्रयोगकर्तालाई समाजमा पुर्नस्थापित गराउन लागिपरेका बबिन आफ्नो विगतको अनुभव तितो रहेको बताउछन् ।

‘आठ वर्ष पहिला साथीहरुले खुवाउदा अनुभव बटुल्न भन्दै खाइयो, विस्तारै त्यसमै रमाउने बानी पर्न थाल्यो ।’ बबिनले विगत सम्झिदै भने ‘तर त्यो सुरुवातमा अनुभव बटुल्ने सोच नै गलत थियो भन्ने विस्तारै प्रमाणित हुँदै गयो । अनि आफूलाई त्यसबाट बाहिर निकाल्दै गए । अहिले पूर्णरुपमा बाहिर छु र अरुलाई पनि बाहिर ल्याउने प्रयासमा छु ।’

बबिनका अनुसार उनले साथीको लहैलहैमा लागूऔषध सेवन गर्न सुरु गरे । अभिभावकको आँखा छल्दै उनले आफूलाई लागूऔषधको प्रयोगमा धकेले । अध्ययनमा अब्बल उनि त्यसपछि लागूऔषधमा मात्रै केन्द्रीत भए । उनको पढाई बिग्रदै गयो । त्यतिमात्र नभई लागूऔषध प्रयोग गर्ने बानीकै कारण उनि जेलसम्म पुगे । दुई महिना भन्दा बढी समय जेलमा बसेर बाहिर निस्किएपछि उनले लागूऔषधको प्रयोगबाट आफूलाई बाहिर निकाले ।

लागूऔषध प्रयोग छाडेपछि समाजमा पुर्नस्थापित हुँदै अभियन्ताको परिचय बनाएका बबिनको कथा यस्तो छ । बबिन विद्यालयमा पढ्ने विद्यार्थीहरु मध्येका राम्रा छात्र थिए । आठ कक्षासम्म राम्रो अंकका साथ उर्तिण भएका उनि नौ कक्षामा फेल भए । १० कक्षामा पुग्दा समेत पढाईको अवस्था सुध्रिएन । प्रवेशिका परीक्षा दिन उनको उपस्थिती संख्या समेत अपुग हुने गरेको थियो । यस्तो अवस्था आउनुको एउटा मात्र थियो लागूऔषधको प्रयोग । कक्षा ८ मा हुँदा पहिलो पटक चुरोट सेवन गरेका उनि विस्तारै लागूऔषध (कोरेक्स) प्रयोग गर्न थालेका थिए । त्यतिबेला उनि १४ वर्षका थिए ।

आफूलाई सिकाएका साथीहरुले अब अरुलाई पनि सिकाउनुपर्छ भन्न थाले । सुरुमा खान कर गर्ने साथीहरु बानी लागेपछि वास्ता गर्न छाडे । साथीहरुले वास्ता नगरेपछि आफैले जोहो गर्नुपर्ने अवस्था आयो । पछि साथीहरुलाई नै पैसा दिएर लागूऔषध किनेर खान थाले । खुल्ला सिमानाको फाइदा उठाउदै रक्सौलसम्म लिन पुगे । तर गलत कामको गलत नतिजा भनेझै एक दिन रक्सौलबाट कोरेक्स लिएर फर्कदा प्रहरीबाट समातिन पुगे । प्रहरीबाट समातिदा उनि १९ वर्ष पुगिसकेका थिए ।

लागूऔषध (कोरेक्स, नाइट्रोभ्याट) लिएर आउदा गर्दा समातिएपछि उनलाई हिरासतमा राखियो । ६७ दिन उनि धरौटीमा रिहा भए । प्रहरी हिरासतमा रहदा उनलाई पछुतो भयो । अब लागूऔषधको प्रयोग नगर्ने सोच हिरासतमै बन्यो तर आफ्नो सोचलाई धेरै समय सम्म कायम राख्न सकेनन । रिहा भएपछि १५ दिन सम्म नखाई बसेपनि पुनः सेवन गर्न पुगे । हिरासतबाट बाहिर निस्केपछि उनले खैरो हेराइन, सेतो हेरोइनको प्रयोग गर्न थाले । मुद्धाको अन्तिम टुंगो नलाग्दासम्म जेलभित्र बस्ने क्रममा उनले लागूऔषधको कारोवारमा रहेका व्यक्तिसंग भेट गरे । उनले लागूऔषधका कारोवारी अर्थात डिलरसंग भेटे । जुन उनका अझै घातक बन्न पुग्यो ।

प्रहरी हिरासतमा पुग्नुअघि अभिभावकले पनि खासै वास्ता नगरेको उनि बताउछन् । घरमा अभिभावकले मदिरा सेवन गर्छ भन्ने थाहा पाएपनि वास्ता नगरेको उनले बताए । रक्सी, चुरोट, गुट्खा, सुर्ती जस्ता पदार्थलाई समाजले मान्यता दिएको भएर यस्ता पदार्थ सेवन गर्दा आमा बुवासंग लुकाउनुपर्ने बाध्यता नरहेको उनको अनुभव छ । अभिभावकले ‘अलि कम खा है’ भनेपनि ‘नखा’ भनेर कहिल्यै नभनेको उनि बताउछन् ।

घरका अभिभावकलाई उनले मदिराजन्य पदार्थ भन्दा पनि लागूऔषध प्रयोग गर्न थालेको भेउ समेत पाएका थिएनन् । यसैबीचमा घर नजिकैको छिमेकीले ड्रग्स प्रयोग गरेको कुरा अभिभावकलाई सनाए । त्यसपछि घरमा उनको विश्वास गुम्न पुग्यो । अभिभावकले हेर्ने दृष्टीकोण फरक हुन थाल्यो ।

छिमेकीले सुनाएको दिन उनले घरमा पिटाई समेत खाए । तर लागूऔषधको लत पिटाईले भन्दा पनि परामर्शले त्याग्न सकिन्छ भन्ने ज्ञान अभिभावकलाई नभएको उनको भनाई छ । घरमा उनले अब असहज परिस्थितीको अनुभव पाए ।

यसबीचमै घरको माहोल विग्रदै गएपछि तनावमा व्यहोरेका उनि बैदेशिक रोजगारीका लागि विदेश गए । विदेश पुगेपनि उनले आफूलाई रोक्न सकेनन् । लागूऔषधकै प्रयोगका कारण उनको प्रेम सम्बन्ध पनि विग्रदै गयो । उनले अभिभावक र छिमेकीको पनि विश्वास गुमाए । सबैबाट उनि एक्लिन पुगे जसका कारण उनी मानसिक रुपमा कमजोर हुन थाले । डिप्रेश हुदै गएपछि उनि नेपाल फर्किए ।

लागूऔषधको प्रयोगपछि उनको जीवनामा तनाव बढ्दै गयो । लागुपदार्थको सेवनले शारिरिक, मानसिक र परिवारिक जीवन बिग्रेको महसुस उनले गर्न थाले । २४ वर्षको उमेरमा शरीर कमजोर हुँदै गयो, हात काम्ने, जिउ काम्ने, होस नहुने, दुब्लाउने जस्ता शारिरिक समस्या आउन थाल्यो । यो सब देखेर अभिभावक पनि चिन्तीत भए ।

लागूऔषधकै प्रयोगका कारण उनी झगडामा समेत मुछिन थाले । समाजमा पनि पहिचान बिग्रिदै गयो । उनले घरमै बसेर लागूऔषध प्रयोग छोड्न खोजे तर सकेनन् । लागूऔषध प्रयोगबाट मुक्त हुन चाहेका उनले नयाँ गोरेटो पुर्नस्थापना केन्द्रलाई सम्झिए । उनले पुर्नस्थापना केन्द्रबाट परामर्शसहितको उपचार लिने निर्णय गरे । जुन निर्णय उनको जीवन परिवर्तनका लागि अत्यन्तै सहि साबित हुन पुग्यो । बविनले नयाँ गोरेटो पुर्नस्थापना केन्द्रमा परामर्श लिन थाले । विस्तारै ‘मेडिकल टिम लिडर’ भएर काम गरे । केन्द्रमा उपचाररत अन्य लागूऔषध प्रयोगकर्ताको स्वास्थ्यमा समस्या देखिए तत्कालै अस्पताल लैजाने, चिकित्सक भेटाउने, औषधी खुवाउनेलगायतका काम गर्न थाले ।

उनलाई चिकित्सकको परामर्शले मार्गदर्शन गरायो । उनलाई ‘ईनडोर’ उपचार (केन्द्र भित्रै राखेर गरिने उपचार ) भन्दा पनि “आउटडोर” उपचार (बाहिर राखेर गरिने उपचार) ले मनोबल बढायो । पुर्नस्थापना केन्द्र बसेको १० महिनामा बविनले लागूऔषध पूर्णरुपमा बिर्सिए । यसका लागि मनोचिकित्सकसंगको परामर्श र पुर्नस्थापना केन्द्रको अध्यक्षको ठुलो भुमिका रहेको सम्झन्छन् । आफु परामर्श लिदै गर्दा सिकेका कुरा पुर्नस्थापना केन्द्रमा रहेका अन्य लागुऔषध प्रयोगकर्तालाई उनले सुनाउने गरेका थिए ।

बविनलाई अहिले आफू संसार जितेको फर्किएको महशुस हुन्छ । नशामा आँखा बन्द गरेर मोटरसाईकल चलाउँदा, दुर्घटना हुँदा, मारपिट गर्दा, मानसिक रोगी हुँदा पनि बाँचेको छु , भगवानले समाजको लागी केही गर्ने उद्देश्यले जिवनदान गरेको लाग्छ उनलाई ।

लागुऔषध प्रयोग गर्नेहरु प्रति समाजको हेराई फरक छदै छ तर सेवन गर्न छोडिसकेकाहरुलाई पनि समाजले खासै राम्रो दृष्टीकोणले नहेर्ने गरेको उनि बताउछन् । यस्तो व्यवहारले गर्दा लागुऔषध प्रयोगकर्तालाई समाजमा पुर्नस्थापित हुन समस्या देखापरेको उनको बुझाई छ । त्यसैले समाज र अभिभावक जागरुक हुन जरुरी रहेको उनि बताउछन् । परिवार वा समाजमा कोही कुलतमा लागेको छ भने उसंग गरिने व्यवहार कस्तो हुनपर्छ, कसरी सम्हाल्ने, रेखदेख र निगरानी कसरी गर्ने भन्ने विषयमा सचेत हुनुपर्ने उनि बताउछन् ।

बिश्व स्वास्थ्य संगठनले पनि लागुऔषध प्रयोगलाई एउटा मानसिक रोग भनी व्याख्या गरेको छ र मानसिक अवस्थासंग जोडेको छ । त्यसैले प्रयोगकर्तालाई परामर्शसंगै समाज र परिवारलाई पनि जागरुक हुन आवश्यक रहेको बविनले बताए । त्यसैले पनि उनि यतिबेला लागुऔषधविरुद्ध जनचेतना फैलाउने अभियानमा व्यस्त हुन चाहन्छन् ।

यस्तै आफूलाई लागुऔषधको दलदलबाट बाहिर निकाली समाजमा जनचेतना फैलाउने काम गर्ने अर्का युवा हुन् प्रजवल थापा । १९ बर्षको उमेरमा धुम्रपानबाट शुरु भएको लागूपदार्थ सेवनको यात्रा खैरो हेरोइनसम्म पुग्यो । लागूपदार्थ सेवन गर्नेहरुसंग संगत भएपछि प्रज्वल पनि अछुतो रहेनन र कुलतमा लागे । लागुऔषधको नकरात्मक असरबाट अन्जान उनले रमाईलोको लागी दिनदिनै सेवन गर्न थाले । सुरुमा साथीले खुवाए, त्यसपछि आफै खोजीमा हिड्न थाले । बिस्तारै घरको माहौल बिग्रिन थाल्यो । छोरा कुलतमा लागेको देखेर उनका आमाबुवा चिन्तित भए । आमालाई मुटुको समस्या भयो । ‘म धेरै बिग्रिसकेको थिए । म कहाँ जान्छु ? को संग जान्छु ? के गर्छु ? घरमा कसैलाई थाहा हुदैन थियो । मोबाईल बन्द गरेर बसिदिने, फोन नउठाउने । जसले गर्दा आमाबुवा चिन्तित हुन थाल्नुभयो । आमालाई मुटुको रोग भयो र बुवा पनि बिरामी हु्नुभयो’ प्रजवलले बिगतको परिवारिक अवस्थाबारे सुनाए । उनको शारिरिक अवस्था पनि बिग्रिदै गएको थियो । दुब्लाउने, आँखा रातो हुने, अनुहार सुन्निनेजस्ता समस्या देखिन थाल्यो ।

आफु कुलतमा फस्नुको ठुलो कारण आफ्नो परिवारको एकल सन्तान भएका कारण रहेको प्रजवल बताउँछन् । सानैदेखी सबै चिज पुगेको । एक्लो सन्तान भएर जिद्धी र रिस धेरै । अभिभावकले सुधार्न अनेक प्रयास गरेपनि सहि बाटोमा लागेनन र झनझन कुलतमा फस्दै गए । आमाबुवाले होटल संचालन गरेका थिए । उनलाई पैसाको कमी पनि भएन । लागूपदार्थ किन्नलाई समस्या भएन ।

तरर प्रज्वल अहिले एकबर्ष देखी कुलतमुक्त छन् । समाजिक घृणा, बिग्रदो स्वास्थ्य, चिसिदै गएको पारिवारिक सम्बन्धका कारण उनले पुर्नस्थापना केन्द्र जाने निर्णय गरे । पुर्नस्थापना केन्द्रको उपचार पश्चात उनको जिवन फेरियो । ‘अहिले त आफ्नो शरीरको धेरै माया लाग्छ । हल्का चोट लाग्दा, काटिदा, रगत आउदा पनि आफ्नो शरिरको माया लागेर आउँछ । पुर्नस्थापना केन्द्रले प्रजवललाई सहि दिशा देखायो । एकान्त मन पराउने प्रजवल सबैसंग मिल्न थाले, रिसलाई नियन्त्रण गरे, नशामुक्त भए र आफ्नो जीवन युवालाई लागूऔषधमुक्त समाज निर्माण गर्ने कार्यमा समर्पित गरे ।

प्रज्वल यतिबेला पुर्नस्थापना केन्द्रमा कार्यरत भई समाजमा लागुऔषध बिरुद्धको चेतना फैलाईरहेका छन् । अभिभावकसंग समन्वय गरी लागूऔषध सेवन गर्ने युवालाई समाजमा गरिने विभेदविरुद्ध चेतना फैलाउछन । कुलतमा रहेका युवालाई समाजमा पुर्नस्थापित गर्नका लागि अभियन्ताको भूमिकामा आफूलाई व्यस्त राख्न थालेका छन् ।

अभिभावको भूमिका, साथीको लहैलहै, सानै उमेरदेखी पैसा कमाउने सोच, मानसिक तनाव, गरिवी, चेतनाको कमि र लागुऔषधको खुलेयाम विक्री वितरणले गर्दा पनि युवाहरु दुव्र्यसनीमा लागेको उनि बताउछन् । जसले गर्दा झगडा, लुटपाट, चोरी, डकैती, ठगी, आत्महत्या, यौनजन्य जस्ता घटना हुने गरेको छ । यस्ता अपराधिक क्रियाकलाप नियन्त्रण गर्न आवश्यक रहेको भन्दै उनि लागूऔषधमुक्त समाज निर्माणको अभियानमा जोडिएका छन् । युवालाई लागूऔषधबाट मुक्त गराउन र रोकथाम गर्न पनि युवाकै भुमिका महत्वपूर्ण रहेको उनको बुझाई छ । फलामले नै फलामलाई काट्न सक्छ भनेजस्तै युवालाई कुलतबाट बाहिर निकाल्न र जिवन जोगाउन पनि युवाहरुकै पहलमा परिवर्तन आउन सक्छ । युवाले एउटा युवाको मनस्थीती बुझेको हुन्छ । त्यसैले नियन्त्रण गर्न सहज हुन्छ ।

नयाँ गोरेटो पुर्नस्थापना केन्द्रका अध्यक्ष राजकुमार लामाका अनुसार नेपालमा करिब तीन सय, मधेश प्रदेशमा करिब तीस र बारा जिल्लामा सातवटा पूर्नस्थापना केन्द्र संचालनमा छन् । ती केन्द्रहरुका संचालक प्रायजसो पूर्वलागुऔषध प्रयोगकर्ता हुन्छन् । यसको कारण पूर्वप्रयोगकर्ताले नै लागुऔषध प्रयोगकर्ताको मनस्थितीका बारेमा बुझेका हुन्छन । पुर्नस्थापना केन्द्रमा उपचार गराउन आउने व्यक्तिको अवस्था सामान्य अवस्था भन्दा फरक हुन्छ । उनिहरु पीडादायी अवस्थामा हुन्छन् । कतिपय आफ्नै इच्छाले आएका हुन्छन भने कतिपयलाई घरपरिवारले जबर्जस्ती पठाएका हुन्छन् । जबर्जस्ती पठाएकाहरुलाई निगरानी गर्नुपर्ने हुन्छ । बिहान देखी बेलुकासम्म रेखदेख गर्न कर्मचारी दिईन्छ र मनोचिकित्सकद्धारा परामर्श, मानसिक समस्याको उपचार गराईन्छ । नयाँ गोरेटो पुर्नस्थापना केन्द्रको उपचारपछि लागूऔषधको प्रयोग त्यागेका ११ जना युवाहरु यतिबेला लागुऔषधविरुद्ध चेतना फैलाउने अभियानमा सक्रिय छन् ।

विश्व स्वास्थ्य संगठनले ६ महिनाको कार्यक्रम दिएपनि पुर्नस्थापना केन्द्रले कम्तीमा पनि तीन महिनाको उपचार दिने गरेको लामाको भनाई छ । केन्द्रमा आउने युवाहरु कोही बिद्यार्थी, कोही जागिरे र कोही बैदेशिक रोजगारीबाट फर्किएका हुन्छन् । आर्थिक भार पनि उपचाररत युवाहरुको अभिभावककै जिम्मा हुन्छ । मधेस प्रदेश सरकार र स्थानीय सरकारले लागुऔषध बिरुद्ध जनचेतनामूललक कार्यक्रमको लागी बजेट छुट्याए पनि लक्षितबर्गमा खर्च नगरेको लामाको तर्क छ ।

पुर्नस्थापना केन्द्रमा विभिन्न मानसिक अवस्था भएका प्रयोगकर्ता उपचारकालागी आउने गरेका छन् । ती मध्येका एक हुन सरोज लामा (परिवर्तित नाम) । सात कक्षामा अध्ययरत रहेको अवस्थामा उनले लागूऔषधको प्रयोग गर्न थालेका थिए । ‘साथीहरुलाई के दोष दिनु, साथीहरुसंग बाहिर जाँदा उनीहरुले खाएको देखेर आफूलाई पनि खान मन लाग्यो’ सरोजले भने ‘गल्ती आफ्नै हो । के सही के गलत त्यो बेला छुट्याउन सकिन ’। उनि २०७४ सालमा पहिलो चोटी उपचारको निम्ति पुर्नस्थापना केन्द्र पुगेका थिए । उनि अहिले छैठौं पटक पुर्नस्थापना केन्द्रमा उपचाररत छन् । उपचार लिएर निस्केपनि मनबाट लागूऔषध त्याग्न सकेनन् । उनले कक्षा आठको परीक्षा सुधार केन्द्रमै बसेर दिए ।

उपचार पश्चात अब सेवन नगर्ने सोच बनाएर घर गएपनि केहि समयमा फेरी सेवन गर्ने गरेका थिए । पटक-पटक सुधार केन्द्रबाट उपचार लिएर निस्के पनि फेरी कुलतमा लागेको देखेर समाजमा पनि बिस्तारै उनि अपहेलित हुन थालेका थिए । ‘नशालु पदार्थ सेवन गरीसकेपछि अरुको मतलब हुँदैन थियो । त्यसैले कसले के भन्छ भन्ने कुराको ख्याल गरिदैन थियो’ उनले भने ‘त्यही भएर पटकपटक प्रयोग गरे ।’ रक्सौलबाट लागुपदार्थ ओसारपसार गर्दा वीरगंजमा समातिएपछि उनिविरुद्ध लागूऔषधको मुद्धा समेत लाग्यो ।

अर्का युवा राम सिंह (नाम परिवर्तन) ले पनि रमाईलोको लागी भन्दै १६ बर्षको उमेर देखि लागूऔषध प्रयोग गर्न थाले । झैभगडा र चोरीजस्ता क्रियाकलाप गर्न थाले । विस्तारै नशा नलिई बस्नै नसक्ने भए । लगातार ११ बर्ष लागूऔषधको प्रयोग गरे । त्यसपछि उनको बुवाले अचेत अवस्थामै रामलाई पुर्नस्थापना केन्द्र पठाईदिए । होसमा आँउदा उनले आफूलाई यस्तो घेरा भित्र पाए जहाँ चारैतिरबाट उनलाई युवाहरुले घेरेर ‘किप कमिङ ब्याक ब्रो’ भन्दै ताली बजाई रहेका थिए । कसैले पिट्न लाग्यो भनेर उनि केहीबेर डराए । तर पछि उनले आफू पुर्नस्थापना केन्द्रमा आएको थाहा पाए । एक महिना सम्म भाग्न अनेकौ प्रयास गरे । अन्त्यमा मनोचिकित्सकसंगको लगातारको परामर्श र पूर्वलागुऔषध प्रयोगकर्ता जो केन्द्रमा कार्यरत छन् उनीहरुको साथ र सहयोगले दोस्रो महिना देखिनै सुधार आउन थाल्यो । अहिले उनि नशामुक्त भएर अरु युवालाई यसविरुद्ध चेतना फैलाउछन् र कुलतमा नलाग्न अनुरोध गर्छन् ।

केन्द्रमै उपचाररत एक युवा सेवनकर्ताले आफूले भगवान शिवलाई साक्षात देखेको र भगवानकै आग्रहमा लागूऔषध सेवन गरेको बताउँछन् । ‘एउटा अदृश्य प्रकाशले मलाई आएर गाँजा सेवन गर्न भन्यो र म सेवन गर्न पुगे, त्यो प्रकाशको रुपमा भगवानले मलाई मैले हरेक दुख, पीडा, रोगको औषधी धरतीमै उब्जाएको भन्नुभयो । निचोरेर, उमालेर सेवन गर्दा रोग मुक्त भईन्छ भनेर आदेश गर्नुभयो, अनि मैले भाङ, गाँजा, धतुरो उमालेर खान थाले’ उनले सुनाए । अहिले उ उपचाररत छन् र निकै सुधार आएको छ ।

मनोचिकित्सक डा.राखी शर्माका अनुसार यस्तो काल्पनिक कुराहरु गर्नुको एउटा मात्र कारण नशा हो । अत्यधिक मात्रा र लामो समयदेखी लागूपदार्थको सेवनले बिभिन्न मानसिक रोग निम्त्याउँछ । काल्पनिक कुरा गर्नु, नशालुपदार्थले आनन्द दिनु, रमाईलो लाग्नु यो सबै भ्रम मात्र हो । जसलाई परामर्श र ध्यानले चिर्न सकिन्छ । कुलतमा फसेका व्यक्तिलाई यसबाट छुटकारा दिलाउन सबैभन्दा पहिले उनीहरुको समस्या पहिचान गर्नुपर्ने हुन्छ । सेवनको समयावधी बुझ्नुपर्ने हुन्छ । भर्खरै सुरु गरेकालाई परामर्श दिँदा छिट्टै कुलतबाट अलग हुने सम्भावना हुन्छ भने लामो समयदेखी लागूऔषधको प्रयोग गर्ने र मानसिक अवस्था विग्रदै गएकाहरुलाई उपचार अवधी सकिसकेपछि पुनः सेवन गर्ने सम्भावना हुन्छ ।

लागूऔषधका कारण व्यक्तिगत स्वास्थ्य, परिवार तथा समाजमा असर परिरहेको छ भन्ने बुझेपछि प्रयोगकर्ताले परिवर्तनका लागि आफै निर्णय लिनुपर्छ । बिभिन्न थेरापी ( रिलैकसेसन थेरापी , बिहेबियर थेरापी ) प्रयोग गरी मनोचिकित्सकले उपचार गर्नुपर्ने हुन्छ । जस्तै तनाव कत्तिको छ, स्वास्थ्यमा लागूऔषधको असर कति परेको छ, लागूऔषधभन्दा महत्वपूर्ण कुराहरू के–के छन्, लागूऔषध प्रयोग गर्दा आर्थिक र सामाजिक रूपमा के क्षति भईरहेको छ, लागूऔषध छाड्न के कुराले अवरोध गरिरहेको छ भनेर आफैँलाई प्रश्न गर्न लगाउने । समाजमा एउटा गलत भ्रम छ कि सुधारकेन्द्रमा औषधी खुवाई लत छुटाइन्छ । संसारमा कुनै त्यस्तो औषधी छैन जसबाट नशामुक्त बनाउन सकिन्छ । युवाको ईच्छाशक्ति बलियो हुनुपर्छ । युवालाई कुलतबाट टाढा राख्नका लागि सबैभन्दा पहिले उनीहरूमा यसविरुद्ध सचेतना जगाउन जरुरी छ । उनीहरूलाई लागूऔषधको सामाजिक र मानसिक असरका विषयमा जानकारी दिनुपर्ने डा. शर्माको भनाई छ ।

लागु पदार्थ दुव्र्यसन रोकथामको प्रभावकारी उपाय भनेको कुनै पनि युवालाई लागूपदार्थका दुव्र्यसनीको सम्पर्कमा आउनबाट कसरी बचाउने र रोक्ने भन्नेमा ध्यान जान जरुरी छ । यसको रोकथामका लागि सरकारी निकाय, नागरिक समाज, स्थानीय प्रशासन र स्वयम् व्यक्ति पनि जिम्मेवार हुनुपछै । सरकारी निकायले पनि यसको रोकथामका निम्ति गरेका कार्यक्रम कति प्रभावकारी छन् वा छैनन् भन्नेबारे चासो दिनु आवश्यक छ । कानुन वा सीमित बजेट छुट्याएर मात्रै लागूपदार्थ दुव्र्यसनी नियन्त्रण हुन सक्दैन । सरकारी निकायबाट हुने कार्यक्रम प्रभावकारी र लक्षितवर्गका लागि हुनुपर्दछ । लागूऔषध प्रयोगको रोकथाम र नियन्त्रणका लागि सरोकारवाला निकायबीच सहकार्य आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्