जीतपुरसिमरा गोल्डकप : संकटा र एआरए उपाधीका लागि प्रतिस्पर्धामा


eShilalekh

१३ असार २०७८, आईतवार ०२:३०

सिमरा : जीतपुरसिमरा गोल्डकपको उपाधीका लागि शनिबार पाहुना टोली अफ्रिकन रुट्स एशोसिएशन (एआरए) र संकटा क्लबबीच भिडन्त हुदैँछ। सिमरा रंगशालामा फ्लड लाइटमा हुने फाइनल भीडन्तमा दुवै टिम इतिहास रच्ने दाउमा हुनेछ। 

आठौं संस्करणको विजेता संकटा दोस्रो पटक उपाधी उचालेर दुई पटक टाइटल जित्ने तेस्रो टिम बन्न चाहन्छ। यसअघि मनाङ मस्र्याङदी क्लब र त्रिभुवन आर्मी क्लबले दुई पटक उपाधी उचालिसकेका छन्। संकटा दोस्रो पटक उपाधी उचाल्ने रणनितिमा हुँदा एआरए भने पहिलो सहभागितामै टाइटल विजेताको नामा आफुलाई राख्न चाहन्छ। चैतमा सम्पन्न आहा रारा गोल्डकपको फाइलनमा पनि यि दुबै टिमबीच भीडन्त भएको थियो। उक्त भिडन्तमा संकटाले टाईब्रेकरमा बाजी मारेको थियो। आहा रारापछि विराट गोल्डकपमा समेत यी दुई टिम आमनेसामने भए। उक्त खेलमा पनि संकटा १–० ले विजयी भयो। 

चालु सिजनमा तेस्रो पटक प्रतिस्पर्धा गर्न लागेका दुबै टिमलाई जित्नैपर्ने दवाब छ। यसअघिका दुई भिडन्तमा जितको नतिजा निकालेको संकटा महत्वपूर्ण उपाधी भीडन्तमा पराजित हुन चाहदैन। यता एआरए भने दुई खेलमा पराजित भएको बदला लिएर उपाधी कब्जा गर्ने दाउमा हुनेछ। संकटाका कप्तान सुभाष गुरुङले एआरए बलियो टोली भएपनि यसअघिका दुई खेलको नतिजा आफ्नो पक्षमा आएकाले टिमको मनोबल उच्च रहेको बताए। 
‘शारिरीक रुपमा एआरए हामीभन्दा बलियो देखिन्छ, तर यसअघिका दुई खेलको नतिजा हामीले हात पारेका छौ’ संकटाका कप्तान गुरुङले भने ‘तेस्रो खेलमा पनि हामी जितको खोजीमा हुनेछौँ। आवश्यक रणनितिसहित मैदानमा उत्रनेछौ।’

यसअघिका दुई खेलमा पराजित भएका कारण केही दवाबमा देखिएको एआएर भने अबको भीडन्तमा जित निकाल्ने रणनितिसहित मैदानमा उत्रदैछ। यसअघिका दुवै खेलमा संकटाले कठिन जित हात पारेको भन्दै एआरएका कप्तान डिए स्याल्भियोले तेस्रो खेलको नतिजा आफ्नो पक्षमा जाने दावी गरे।‘आहा रारामा टाईब्रेकर र विराटमा १–० ले हामीले खेल गुमायौँ। तर हामीले उत्कृष्ट प्रदर्शन गरेका थियौँ। संकटाले सहजै हामिलाई हराएको होइन’ स्याल्भियोले भने ‘उक्त दुई पटकको हारको बदला लिने अवसर पनि हो। हामी उपाधी जित्ने लक्ष्यसहित मैदानमा आउनेछौँ। ’

उपाधी भिडन्तमा यी दुई टिमले आफ्नो एक जना महत्वपूर्ण सदस्य गुमाउनेछन्। यसअघिका खेलमा उत्कृष्ट प्रदर्शन गरेका संकटाका फोडे फोफना र एआरएका ए फ्याब्रिकलाई फाईनलमा देख्न पाइने छैन। लगातार पहेँलो कार्ड पाएका कारण दुबै खेलाडी मैदान बाहिर हुनेछन्। 

एआरएले आफ्नो पहिलो खेलमा त्रिभुवन आर्मी फूटबल क्लबलाई २–१ र आयोजक नव जनजागृति युवा क्लबलाई २–१ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो। 
संकटाले भने क्वार्टरफाइनलमा विजय युथ क्लबलाई २–१ र सेमिफाईनलमा विभागिय टिम एपिएफ क्लबलाई ३–१ ले पराजित गर्दै उपाधी होडमा आफूलाई उभ्याएको हो।  
१२ टिमले सहभागिता जनाएको प्रतियोगिताको उपाधी विजेताले सात लाख र उपविजेताले तीन लाख ५० हजार प्राप्त गर्नेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल र विधागत उत्कृष्ट भएका खेलाडीले जनही १५ हजार नगद प्राप्त गर्नेछन्। युवा तथा खेलकुद मन्त्री दावा लामाको उपस्थितिमा प्रतियोगिताको समापन समारोह सम्पन्न हुने क्लबका अध्यक्ष रामचन्द्र लामाले बताए।

प्रतिक्रिया दिनुहोस्