विभेदको पर्खाल भत्काउन खोज्दै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय


निलिसा वर्मा

१४ आश्विन २०८०, आईतवार १८:४२

सिमराः महिला र पुरुष भन्दा फरक पहिचान भएका अर्थात यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्ति संसारभर छन् । नेपालमा पनि यस समुदायका व्यक्तिको संख्या नौ लाख भन्दा बढी छ । यो संख्या आफूलाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको रुपमा खुलेर आउनेहरुको आधारमा हो । यसबाहेक खुल्न नचाहेका अन्य धेरै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्ति छन् । समाजले पुरुष र महिलालाई मात्रै महत्व दिने गरेको भन्दै यस समुदायका नागरिक खुल्न चाहदैनन् । जसका कारण उनिहरुको कथा र व्यथा कहालिलाग्दो अवस्थामा छ ।

जैविक रुपमा एउटा तर व्यवहारमा विपरित लिङ्गको व्यवहार देखाउने व्यक्ति समाजमा विभेदका शिकार बनिरहेका छन् । आफ्नो पहिचानलाई खुलेर बाहिर ल्याउने व्यक्तिलाई छक्का, हिजडा, मौगालगायतको उपनाम दिएर दुर्व्यवहार गरिन्छ । जसले गर्दा समाजमा खुल्न नचाहनेको संख्या पनि अधिक छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अन्तर्गत समलिंगी, द्विलिंगी, तेस्रो लिंगी, अन्तरलिङ्ग, क्वायर पदर्छन् । तर उनिहरुलाई एकै नजरमा हेर्ने गरिन्छ र अभद्र व्यवहारको शिकार बनाईन्छ ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई आफ्नो पहिचान स्थापित गर्न निकै संघर्ष गर्न परिरहेको छ । समाज र राज्यले सहजै स्विाकर्न नसकेको यस यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिको कथा, दिनचर्या र जिवनशैली कस्तो छ भनेर चासोको बिषय बनाइन्छ तर उनिहरुले समाजमा भोग्नुपरेको सास्ती र समस्याका विषयमा आवाज उठाईदैन । उनिहरुका पीडाका मलम लगाउने निकायको अभाव सधै झै खड्कीरहेको पाईन्छ ।

समाजले जन्म अनुसारको लैङ्गिक व्यवहार अपेक्षा गरेको हुन्छ तर हाम्रो समाजमा विपरित लिंगीको अतिरिक्त महिला समलिंगी, पुरुष समलिंगी, द्धिलिंगी, तेस्रो लिंगी, अन्तरलिंगी र क्वायर पनि हुन्छ । जसलाई अंग्रेजीमा छोटकरीमा एल.जी.बी.टी.आई.क्यु भनिन्छ । महिला समलिंगी (लेस्बीयन) महिला-महिला बिच सम्बन्ध, पुरुष समलिंगी (गे) पुरुष–पुरुषबीच सम्बन्ध, द्धिलिंगी (बाईसेक्सुयल) महिला र पुरुष दुबैप्रति आर्कषण, तेस्रो लिंगी (ट्रान्सजेन्डर) जन्मदा पुरुष तर हुर्किदै जाँदा महिलाको रुप र जन्मदा महिला तर हुर्किदै जाँदा पुरुषको रुप, अन्तरलिंगी (ईन्टरसेक्स) जम्मदा यौनाङ्गका हिसाबले बालक वा बालिका नछुट्टिने र क्वायर अन्तर्गत यी सबै प्रकारका व्यक्ति पर्दछन ।

साधारण मानिस भन्दा फरक प्रवृतिका यस समुदायका व्यक्तिलाई समाजमा अझै पनि नराम्रो दृष्टिले हेर्ने, जिस्काउने, गिज्याउने, अभद्र व्यवहार गरेको पाइन्छ । परिवार, समाज र राज्यबाट समेत अवहेलनामा परेका उनिहरुलाई आफ्नो पहिचान जोगाउन र पहिचान बनाउन चुनौतीपुर्ण देखिएको छ । महिला र पुरुष सरह जिवनयापन गर्न पाउनु उनिहरुको जन्मसिद्ध अधिकार हो । तर समाजले नस्विकारेसम्म सहज जिवनयापन कल्पना गर्न नसकिने उनिहरुको निष्कर्ष छ । त्यसैले समाजमा परिचय नखोल्नु र लुकेर अधिकार खोज्नु गलत रहेको ठहर गर्दै सन् २००१ मा निल हिरा समाज (ब्लु डाईमण्ड सोसाईटी) को स्थापना भयो । सुनिल बाबु पन्तले संस्था स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गरे ।

निल हिरा समाज नेपालमा सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूमा पनि विशेष गरी तेस्रोलिङ्गी वर्गको हक अधिकारका निम्ति स्थापित गैरसरकारी संस्था हो । यसको अर्को योगदान नेपालका विविध लैङ्गिकता र यौनिकताका व्यक्ति हरूलाई एचआईभी र एड्स संक्रमितको हेरचाह, स्वास्थ्य परामर्श र सेवा प्रदान गर्नु हो । यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरु आत्मसम्मान र स्वतन्त्र रुपले अन्य सरह समान अधिकार उपभोग गर्न सक्षम हुन सकुन् भन्ने उद्देश्य लिएर स्थापित संस्थाको देशभर ३७ जिल्लामा शाखा छ । करिब सात सय कर्मचारी कार्यरत छन् ।

समाजमा यस समुदायका व्यक्ति हेर्न साथ मुख नाक खुम्च्याउने गरिन्छ । यौनपेशामा बढी संलग्न भएकोले आम मानिसका बिच यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका (तेस्रो लिंगी) प्रति खासै सकारात्मक सोच रहेको पाईदैन । सार्वजनिक स्थलमा देख्नासाथ एचआईभी सक्रमीत आयो भनेर अपमान गर्ने गरेको गुनासो उनिहरुसंग छ । एकातिर घरपरिवारबाट प्रताडित त्यसमाथी समाजको नकरात्मक सोच र दृष्टिकोण । हामी कहाँ जाने? कस्ले गरिदिने हाम्रा लागि वकालत ? कस्ले बुझ्ने हाम्रो पिडा? कसरी बन्छ हाम्रो समुदायका पक्षमा नीति नियम? मानसिक तनाब सहन नसकेर आत्महत्या गर्न बाध्य बनाउनेलाई कसले दिने सजाय? यौनपेशामा लाग्न बाध्य कसले बनायो? यस्तै प्रश्न तेर्साउदै समाजमा आफूहरुको अस्तित्व स्थापित गर्न खोजिरहेका छन् उनिहरु । राज्यको नागरिक भएर पनि लुकेर बाच्न बाध्य हुनुपरेको पीडा उनिहरुसामु छ । खुलेर बाहिर आउन चाहे पनि समाजको डरले कतिपय व्यक्ति आउन सकेका छैनन् । हिजडा र छक्का संगसंगै उनिहरुलाई ‘यौनकर्मी’ को उपनाम पनि दिने गरिन्छ ।

यस समुदायका व्यक्तिको पनि सामाजिक कार्यमा योगदान रहेको थुप्रै उदाहरण छ । समाजमा यौनिक तथा अल्पसङ्ख्यक समुदाय संगसंगै अन्य समुदायका लागि पनि राम्रो काम गरेको पाईन्छ । आफूहरुको अधिकारका लागि स्थापित निल हिरा समाजसंग आवद्ध भएर केही व्यक्तिले दलित समुदाय, विपन्न परिवार, बृद्धबृद्धा, एचआईभी संक्रमित, यौन स्वास्थ्य तथा मानव अधिकारका क्षेत्रमा काम गरिरहेका छन् ।

बाराको सदरमुकाम कलैयामा निल हिरा समाज अन्तर्गतको ‘ब्लु हेभेन नेपाल बारा’ सन् २००९, मे १६ देखी संचालनमा छ । उक्त कार्यालयमा १५ जना कार्यरत रहेका छन् । कार्यालयमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिसंगै महिला र पुरुष पनि काम गर्छन् । जिल्लाभर पाँच हजार भन्दा बढीको संख्यामा रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका संस्थाले काम गरिरहेको छ । उक्त संस्थालाई ट्रान्सजेन्डर महिला पूर्णिमा श्रेष्ठले नेतृत्व गरिरहेकी छिन् । परिवार र समाजबाट अनेकौ अपहेलना भोग्दै आफ्नो पहिचान स्थापित गर्न निडर भई अगाडी आएकी पूर्णिमा ब्लु हेभेन नेपाल, बाराको कार्यालयमा जिल्ला परियोजना संयोजक (डिष्ट्रिक्ट प्रोजेक्ट कोर्डिनेटर) को रुपमा कार्यरत छिन् । आफ्नो समुदायका व्यक्तिलाई समाजमा स्थापित गराउन नेतृत्वदायी भूमिकामा रहेकी पूर्णिमाको विगतका यात्रा भने सुखद् थिएन ।

पूर्णिमाका अनुसार जन्म अनुसारको लैङ्गिक व्यवहार नदेखाएर बिपरित लिङ्गको व्यवहार देखाउने गरेका कारण उनलाई आफ्नै दाइले पटकपटक पिट्ने गरेका थिए । सानै उमेर भएकोले आफ्नो वास्तविक पहिचानबारे उनलाई केही जानकारी थिएन् । परिवार शिक्षित भएकाले पूर्णिमालाई पनि राम्रो शिक्षा पाउनबाट बञ्चित हुन दिएनन् । अध्ययनका लागि उनी विद्यालय जान थालिन् । एघार बर्षको उमेरमा उनलाई सामान्य व्यक्तिभन्दा फरक रहेको महसुस भयो । उनी महिला श्रृंगारप्रति आकर्षित हुँदै जान थालिन् । ‘दिदिहरुले मलाई श्रृंगार गरेको देखेर, केटीको लुगा लगाएको देखेर दिदीले आश्चर्य मान्दै किन यस्तो भनेर सोध्नुहुन्थ्यो’ पूर्णिमाले विगत सम्झिदै भनिन् ‘म संग जवाफ केही हुन्थेन, मलाई थाहा छैन भनेर टारिदिन्थे’ । वास्तविक पहिचानका विषयमा त्यती बेला न आफूले न त परिवारका सदस्यले आफ्नो बारेमा बुझ्न सकेको पूर्णिमाको भनाई छ ।

विद्यालयमा पूर्णिमाको हाउभाउ देखेर साथीहरुले ‘हिजडा’ जस्ता शब्द प्रयोग गरी जिस्काउथे । क्याम्पसमा उनले प्रत्येक दिन अभद्र व्यवहारको शिकार बन्नुपर्यो । ‘छ्या कस्तो केटी जस्तो भन्दै जिस्काउने, मौगा भनेर बोलाउने गर्थे’ पूर्णिले भनिन् ‘कहिले काहि त म नै गलत रहेछु जस्तो नि लाग्थ्यो, म सुध्रिनु पर्छ भन्ने दिमागमा आउथ्यो । तर मेलै मेरो पहिचान लुकाउन चाहिन समाजमा खुल्न चाहे । त्यसैक्रममा निल हिरा समाज संग जोडिन पुगे ।’ निल हिरा समाजसंग जोडिएपछि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबारे बुझ्न पाएको र आफ्नो पहिचान बारे झन सचेत हुँदै गएको पूर्णिमाले बताईन् ।

केटाको शरीर बोकेर हिडिरहेकी पूर्णिमालाई आफ्नो शरीर बोझ लाग्न थाल्यो । ‘मन केटीको छ भने शरीर पनि केटीकै होस् भन्ने थियो, आखिर कहिलेसम्म पुरुषको शरीर बोक्ने?’ उनले भनिन् । समाजले जन्म अनुसारको लैङ्गिक व्यवहार अपेक्षा गर्छ तर उनले लैङ्गिक व्यवहार अनुसार जैविक रुपमा परिणत हुने निर्णय गरिन् । अन्ततः पाँच बर्ष अघि उनि बैंकक पुगेर ब्रेस्ट इम्प्लान्ट (स्तन जडान) र यौनाङ्ग परिवर्तन गराईन् ।

आफ्नो स्वास्थ्यको ख्याल नगरी शल्यक्रिया गराउँदाको त्यो क्षण आफूले कहिले बिर्सिन नसक्ने भन्दै उनी भावुक हुने गरेकी छिन् । आफूसंगैको साथी शल्यक्रियापछि निधन भएको खबरले उनलाई थप पीडा दिने गरेको छ । शल्यक्रिया पश्चात पुनः उनले बैंककबाटै आफ्नो ठुली दिदिलाई भिडियोकल गरिन् । आफ्नो नयाँ रुप देखेर दिदी भिडियोकलमै रोएको दिन उनि बिर्सन सक्दिनन् । दिदि एकदमै खुशी थिईन र दाइले तिमिलाई नस्विकारे पनि हामी स्विकार्छौ भनेर सहानुभूति दिईन् । दाइलाई फोन गरेर आफ्नो शल्यक्रिया बारे जानकारी गराँउदा ‘घर नआईज’ भन्दै आक्रोश पोख्दा आफ्नो मन चुडिएको उनि सुनाउछिन् ।

शारीरिक रुपमा महिला भएपछि पूर्णिमाको जिवनमा थप चुनौती थपियो । शारीरिक कष्टबाट गुज्रिनु पर्यो । दुख्दा, पीडा सहन नसक्दा उनि रुन्थिन्, चिच्याउथिन् । गर्मी महिनामा घाउ पाक्ने, रगत आउने, पिसाब फेर्न समस्या हुँदाको पीडा उनको स्मरणमा अझै ताजा छ । अहिले पनि उनि शारीरिक रुपमा कमजोर छिन् । तर पनि अध्ययन र काम दुवैलाई निरन्तरता दिदै आईन् । मानसिक तथा शारीरिकरुपमा कमजोर हुँदै गएकी उनी एक्लै संघर्ष गर्न बाध्य भइन् ।

उनीसंग पैसाको पनि समस्या हुन थाल्यो । आफ्नो पढाईको खर्च, कोठाभाडा, खानाको सबै व्यवस्थापन आफैलै गर्नुपर्ने भएकोले आर्थीक रुपमा उनलाई समस्या हुन थाल्यो । ‘गाँस, बाँस, कपासको समस्या भएर भौतारिनुपर्ने अवस्था आउँदा पनि मैले गलत बाटो रोज्न चाहिन’ उनले भनिन् ‘पैसा कमाउन यौनपेशा रोज्न सक्थे, सहजै पैसा कमाउन सक्थे तर मेरो मनले मानेन, मिहिनेत गरेर कमाउँछु र हाम्रो समुदायका व्यक्तिको लागि केही गर्ने सोचले मलाई यौनपेशामा लाग्न दिएन’ उनले बताईन् ।

त्यसै क्रममा निल हिरा समाजको परियोजना संयोजकको रुपमा कार्यरत सन्ध्या लामासंग क्याम्पसमा अभिमुखिकरण कार्यक्रममा उनको भेट भयो । आफ्नो व्यक्तिगत पहिचानबारे लामालाई पूर्णिमाले अवगत गराईन् र रोजगारीको लागी सहयोग मागिन् । पूर्णिमाको कुरा सुनेर सन्ध्याले तत्काल उनलाई क्याम्पसको शुल्क तिर्न आर्थिक रुपमा सहयोग गरिन् र निल हिरा समाजमा रोजगारी दिने वाचा गरिन् । आफ्नो अध्ययन नछोड्न र गलत बाटो नलाग्न सल्लाह दिईन् ।

‘ब्लु हेभेन नेपाल, बारामा रोजगारीको लागि ठाँउ रिक्त हुन साथ मैले निवेदन दिए र डिआइसी अपरेटरको रुपमा काम गर्न शुरु गरे’ उनले भनिन् ‘विस्तारै आर्थिक अभावको समस्या कम हुदै गयो ।’ ब्लु हेभेन नेपाल, बाराको डिआईसी अपरेटर पदमा काम गर्न थालेपछि उनी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिको लागी यौनस्वास्थ्य र मानव अधिकारका लागि काम गर्न थालिन् । सो क्रममा जिल्ला प्रशासन कार्यालय, जनस्वास्थ्य कार्यालयमा गएर एलजिबिटिआईक्यु बारे अभिमुखिकरण तालिमहरु दिएको उनिले बताईन् । पूर्णिमाले विभिन्न ठाँउमा पुगेर यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिबारे आम मानिसलाई जानकारी गराउन थालिन् ।

‘हाम्रो समुदायका व्यक्तिलाई हेला गर्नुको मुख्य कारण चेतनाको कमी हुनु हो । महिलाको समस्याबारे एउटा महिलाले जसरी वकालत गर्न सक्छिन् त्यसरी पुरुषले गर्न सक्दैनन् । त्यसैगरी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिबारे हामीले जसरी अरुले गर्न नसक्ने भएकोले मैले यस समुदायकालागी वकालत गर्न शुरु गरे’ पुर्णिमाले सुनाईन् ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिसंगै उनिले समाजमा एचआईभी एड्सविरुद्ध चेतना फैलाउने कामको शुरुवात गरिन् । काम प्रति ईमानदार र लगनशील पूर्णिमाको जिल्ला परियोजना संयोजकको रुपमा बढुवा भयो । जिम्मेवारीसंगै चुनौती पनि थपियो । ‘कामको चाप बढ्यो र मैलै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सबै किसिमका व्यक्तिलाई समेटेर कार्यक्रम गर्न थाले । तपाई को हो? तपाईको लैङ्गिकता र यौनिकता के हो? भनेर चिनाउन लागे । बारा जिल्ला भरि यस समुदायका व्यक्तिलाई मैले अभिमुखिकरण कार्यक्रम मार्फत चेतना फैलाउन थाले’ पूर्णिमाले बताईन् ।

सचेतना अभियानकै क्रममा आफूमाथी ढुङ्गा प्रहार भएको उनिसंग तितो अनुभव छ । छक्का, मौगा, हिजडा, भन्दै अपमानित हुनुपरेको सम्झन्छिन् । उनि नम्र भएर ढुंगा प्रहार गर्ने व्यक्तिको घरमै पुगी सम्झाउने गर्थिन् । उनले कतिपय यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई घर निकाला, पैतृक सम्पतिबाट बहिष्कार, बिद्यालय तथा क्याम्पसबाट निकाल्ने, सडकमै कुटपिट गर्ने, केश मुण्डन गर्ने जस्ता घटनाविरुद्ध प्रहरी प्रशासनमा उजुरी दिई न्यायका निम्ति लडेकी छिन् । आफ्नो समुदायका व्यक्तिलाई न्याय दिलाउन लडिरहेकि पूर्णिमालाई ज्यान मार्ने धम्की समेत आउने गरेको थियो । ‘हिजडालाई न्याय दिलाउन तिमि लड्दै छौ, तिम्रो कपाल पनि काटेर बाटोमा ल्याईदिन्छौ भनेर सामाजिक संजालमा म्यासेज आउँथ्यो’ उनि सम्झन्छिन् ‘तर म आफ्नो काममा अडिग भएर लागी रहे’ ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका (तेस्रो लिंगी) व्यक्ति यौनपेशामा आवद्ध भएर जिविकोपार्जन गर्ने र विकृती फैलाउने गरेको सामाजिक दृष्टिकोण छ । तर यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिको सोचाई भने भिन्न छ । आफुहरु रहरले नभई बाध्य भएर यौनपेशामा लाग्नुपरेको तर्क उनिहरुको छ । विद्यालयमा पढ्न जाँदा विभेद र क्षमता अनुसारको काम गर्न जाँदा रोजगारीबाट वञ्चित गर्ने मात्र नभई शारीरिकरुपमा दुव्र्यहार र हिंसा गर्ने समेत सहनुपर्ने अवस्था आएपछि बाध्य भएर यौनपेशा अंगाल्नुपरेको उनिहरु बताउछन् ।

‘बारामा अहिलेसम्म यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायभित्रै ३७ जना एचआईभी संक्रमित छन् । गरिब र अशिक्षित भएका कारण उनिहरुमा बेरोजगारीको समस्या छ । नाच्न र यौनपेशा बाहेक अन्य कुनै विकल्प छैन । नाच्न जाँदा पनि उनिहरुलाई मदिरा खुवाएर असुरक्षित यौनसम्पर्क गर्ने गरेको घटना थुप्रै भेटिन्छ’ पुर्णिमाले भनिन् । एचआईभी संक्रमित भएकालाई उपचार गराउनका साथै यौनपेशामा लागेकाहरुलाई विकल्पको बाटो समेत उनले देखाउने गरेकी छिन् । स्थानीय तह सरकारसंग पनि यस समुदायका लागि शिपमुलक तालिमको माग गरेर कार्यक्रम संचालन गर्ने गरेको पूर्णिमाले बताईन् ।

यसैगरी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायकी रोशनी थापाले पनि नाच्ने पेशालाई छोडेर ब्लु हेभेन नेपाल, बारामा आबद्ध भई समाजिक कार्यमा आफूलाई समर्पित गरेकी छिन् । रोशनी पनि पूर्णिमा जस्तै पुरुषको रुपमा जन्मेकी थिईन् । आठ बर्षको उमेरमा आफुलाई अरुभन्दा फरक रहेको महसुस गर्न थालिन् । केटी जस्तो हाउभाउ भएकोले गाँउमा उनिलाई ‘कान्छी’ भनेर बोलाउथे । पुरुषहरु खेतमा कोदालो चलाउदा रोशनी धान रोप्ने गर्थिन् । म किन यस्तो छु? किन केटी जस्तो हाउभाउ छ? किन केटी जस्तो लुगा लगाउन मन लाग्छ ? जस्ता प्रश्न आफैलाई सोध्ने गरेको थिईन् । बाटोमा कतै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय को (तेस्रोलिंगी) देख्दा ‘हिजडा’ भन्ने गरेको रोशनीले सुनाउँछिन् । ‘म पनि यहि समुदायमा पर्छु भन्ने कुरा थाहा थिएन । बाटोमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्ति नाचेको देखेर हिजडा नाचेको भन्ने गर्थे’ रोशनीले भनिन् ।

गाँउकै क्लबमा रोशनी महिलाको पोशाक लगाएर नाच्ने गरेकी थिईन् । नाँच संगसंगै उनको अध्ययन पनि जारी थियो । आठ कक्षासम्म घर नजिकैको विद्यालयमा अध्ययन गरिन् । त्यसपछिको अध्ययनका लागी दुई–तीन घण्टा हिडेर गाँउबाट बाहिर जानुपर्ने हुन्थ्यो । गाँउकै विद्यालयमा पढिरहदा खासै कसैले जिस्काउने गरेको थिएन तर गाँउ भन्दा बाहिरको विद्यालयमा पढ्न जान थालेपछि शिक्षकबाटै अभद्र व्यवहार भएको उनले बताइन् । विभिन्न समस्याको सामना गर्दै रोशनी शिक्षा संकायमा १२ कक्षा उतिर्ण गरी स्याङ्जाबाट वसाइ सरेर नारायणगढ आईन् । नारायणगढ आएपछि उनले आफ्नै समुदायका थुप्रै व्यक्तिलाई भेटिन् । सोही क्रममा नाँचेर आय आर्जन गर्न सकिने सुनेपछि उनी वीरगंज आईन् । ‘परिवारको आर्थिक अवस्था राम्रो थिएन, भाई सानै थियो र म यस्तो भए । घरखर्च संगै क्याम्पसको शुल्क पनि तिर्नु थियो’ उनले भनिन् ‘नाँचेर धेरै पैसा कमाईन्छ सुनेर वीरगंज आए । तर लगनको बेला मात्र राम्रो कमाई हुँदो रहेछ, नाचेर मात्र कहिले सम्म जिवन चलाउन सकिन्थ्यो? अनि मैले कामको खोजी गर्न थाले’ ।

रोशनीले ब्लु हेभेन नेपाल, बारामा पद रिक्त रहेको जानकारी पाउन साथ निवेदन दिईन र अहिले उनि उक्त कार्यालयमा डिआईसी अपरेटरको पदमा कार्यरत छिन् । काम गर्दै जाँदा आफु र आफ्नो समुदायबारे जानकारी बटुलेकी रोशनी पुरुषको शरीर त्यागेर शारीरक रुपमा महिला भएकी छिन् । कार्यालयमा पहिलो पटक आएका सेवाग्राहीलाई उनि परामर्श दिने गरेकी छिन् । कार्यालयले दिने सेवासुविधा बारे जानकारी गराउने र सेवाग्राहिलाई कुन सेवा चाहिएको छ भन्ने बिषयमा जानकारी दिने गरेकी छिन् । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका हकहितका लागी र समाजमा यस समुदायप्रतिको नकरात्मक सोच चिर्न सक्दो प्रयास गर्दै आएकी छिन् ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय यौनपेशामा मात्र आबद्ध रहेको भन्ने समाजको नकरात्मक सोच चिर्दै छिन सोही समुदायकी खुश्बु खान । कलैया घर भएकी उनि सानै देखि मौगा, हिजडा जस्ता शब्द सुनेर हुर्किन । घरखर्च चलाउन नाच्ने पेशा अंगाल्न पुगिन् । खर्च दिन नसकेपछि घरबाट पनि अपहेलित हुनुपथ्र्यो । नाच्न जाँदा शारीरिक हिंसा भोगेको तितो अनुभव उनिसंग छ । लुगा च्यातिदिने, नङ्गले जिउ कोतारिदिने जस्ता अभद्र व्यवहार सहनुपर्यो । ‘चुनावको बेलामा मलाई गाँउमा गएर स्थानीयहरुलाई नागरिकता, पहिचान पत्र र मतदाता बारे जानकारी गराउने कार्यालयबाट जिम्मा दिएका थिए । जिम्मेवारी वहन गर्ने क्रममा पनि केही मानिसले जिस्काउने गर्थे’ उनि सुनाउँछिन् ‘अब हिजडाले हामीलाई सिकाउँछ भनेर हेप्थे’ ।

मानसिक तनाब हुँदा उनि रुदै भगवानलाई सम्झिन पुग्थिन् । ‘पुर्णरुपमा भगवानले कि महिला कि त पुरुषनै बनाए हुन्थ्यो, आखिर म पनि आमाकै कोखबाट जन्मेको छु, अरु भन्दा फरक हुनुमा मेरो के दोष’ भन्दै उनि निराश हुन्थिन् । सार्वजनिक स्थलमा लाईन बस्न समस्या, शौचालय प्रयोगमा समस्या, अस्पतालमा स्वास्थ्य चेकजाँच गराउन जाँदा समस्या हुने गरेको गुनासो यस समुदायका व्यक्तिले गर्दै आएका छन् । यस्ता हरेक बाधा पार गर्दै खुशबु आफ्नो पहिचान स्थापित गर्नका निम्ति र समाजलाई यस समुदायबारे सुसुचित गर्न ब्लु हेभेन नेपाल, बारामा आबद्ध भई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकसमुदायका व्यक्ति, असुरक्षित यौनसम्पर्क गर्ने, एचआईभी संक्रमितलाई समुदायमै गई एचआईभी बारे जानकारी गराउने, संक्रमित भएको शंका लागेका व्यक्तिको रगत जाँच्ने काम गर्छिन् । संक्रमित भएका व्यक्तिलाई अस्पताल लगेर उपचार गराउने काम खुश्बुले गर्दै आएकी छिन् ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्ति अझै खुलेर बाहिर आउन सकेका छैनन् । तर पनि समाजमा पूर्णिमा, रोशनी, खुश्बु, सुमनलगायतले आफ्नो समुदायको हकहितकालागी काम गर्दै आएका छन् । तर अभियन्ताको रुपमा काम गरिरहँदा पनि कतिपय अवस्थामा अपमान सहनु परेको उनिहरुको अनुभव छ ।

‘विभेदरहित कानुन निर्माण गर्न सरकारसंग माग’

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायकालाग वकालत गर्दै आईरहेको संस्था निल हिरा समाजको केन्द्रीय कार्यालयका कार्यक्रम संयोजक संजय शर्मा विभेदजन्य शब्द सच्याउन माग गर्छन् । पतीपत्नीको ठाँउमा दम्पती वा जिवनसाथी, छोराछोरीको ठाँउमा सन्तान, महिला-पुरुषलाई व्यक्तिजस्ता शब्दको प्रयोग गरेर लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमाथि विभेद नहुने गरी कानून परिमार्जन गर्नुपर्ने बताउछन् । यसैगरी यस्ता समुदायका व्यक्तिमाथि हुने हिंसाविरुद्धको कारवाहीका लागि नेपाल प्रहरीको महिला बालबालिका तथा जेष्ठ नागरिक सेललाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकमैत्री बताउनुपर्ने शर्माको भनाई छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको लागि छुट्टै कानून निर्माण गर्ने नभई विभेदरहित नीति निर्माण आजको आवश्यकता रहेको शर्माले बताए ।

सार्वजनिक स्थल, सडक, विद्यालयमा मात्र नभएर अस्प्तालमा समेत विभेदको शिकार हुनुपर्दा अत्यन्तै पीडा महसुस हुने शर्माको भनाई छ । स्वास्थ्य सम्बन्धि समस्या लिएर अस्पताल पुग्दा आफूहरुलाई जाँच गर्ने चिकित्सक समेत नभेट्ने अवस्था रहेको र जाँचका लागि अस्पताल पुग्दा उपचारनै नपाएर फर्कनुपर्ने अवस्था समेत रहेको शर्माले बताए । उनले अस्पताल लैङ्गिकमैत्री हुनुपर्ने बताएका छन् ।

‘कि रोजगार कि स्वरोजगार’

निल हिरा समाजकी केन्द्रीय उपाध्यक्ष युमिशाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिका लागि रोजगार वा स्वरोजगार हुने वातावरण निर्माण गर्नुपर्ने बताईन् । उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय व्यक्ति घर, समाज र राज्यबाट अपहेलित हुनुपर्दा रोजगार र स्वरोजगारको अवसरबाट वञ्चित हुनुपरेको उनको भनाई छ ।

‘परिवार, समाज र देशबाटै पीडित भएकाहरु कहाँ जाने? के काम गर्ने? युमिशाले भनिन् ‘जिविकोपार्जनका लागि केही न केही त गर्ने पर्यो, बाध्य भएर यौनपेशामा लाग्नुपर्ने अवस्था छ जुन यो समुदायको चाहना होईन ।’

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई जीवनयापनका लागि सिपमुलक तालिम दिएर स्वरोजगार बनाउन सकिने उनको भनाई छ । समाज र राज्यले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई विभेद नगरे मात्रै पनि समाजमा स्थापित हुन आफूहरुलाई सहज हुने युमिशाले बताईन् ।

प्रतिक्रिया दिनुहोस्