पिकनिकबाट फर्कदै गरेको बस सिमरामा दुर्घटना, एकको मृत्यु
सिमराः चितवनको जलबिरेमा पिकनिक मनाएर वीरगन्ज फर्कदै गरेको बस शनिबार राती सिमरामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ४० जना भन्दा बढी घाईते भएका छन् ।
वीरगन्जको नगवाबाट पिकनिकका लागि गएको ना७ख ४७४९ नम्बरको बस फर्कने क्रममा सिमराको मुख्य चोकमा अनियन्त्रित भई दुर्घटना भएको हो । तिब्र गतिमा रहेको बस सिमरास्थित राष्ट्रिय बाणिज्य बैंकको भवनमा ठोक्किन पुगेको थियो ।
दुर्घटनामा करिब २५ वर्षीय युवकको घटनास्थलमै मृत्यु भएको छ । मृतकको पहिचान खुल्न सकेको छैन् । दुर्घटनालगत्तै उनलाई गण्डकस्थित बयोधा मेडिसिटी अस्पताल लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार दुर्घटनाका ११ जना घाईतेको पहिचान र अवस्था खुलेको छ । दुर्घटनामा कलैया उपमहानगरपालिका २० का बीरबहादुर महतो, वीरगन्ज महानगरपालिका ८ का सुरज साह, सोही ठाँउकी प्रिया गुप्ता, मनिषा साह, सेजल गुरु», ललन चौरसिया, राजनकुमार गुप्ता, मोहन साह, कलैया ६ का प्रसाद गुप्ता, अविनाश गुप्ता र जीतपुरसिमरा २ का अनिष राई रहेका छन् । उनिहरुको विभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।
प्रवक्ता न्यौपानेका अनुसार मोटरसाइकललाई बचाउने क्रममा बस अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनालगत्तै प्रहरी र स्थानीयले घाईतेको उद्धार गरेका थिए ।
तस्विरः रोशन गुप्ता