असुरक्षित कार्यस्थलः महिलालाई तगारो


निलिसा वर्मा

१२ कार्तिक २०८०, आईतवार ०९:२१

सिमराः सुरक्षित कार्यस्थलको विषयमा महिलाहरु यतिबेला सचेत हुन थालेका छन् । कार्यस्थलमा शारीरिक तथा मानसिक हिंसा भोग्दै आएका महिलाहरु अहिले यसविरुद्ध आवाज उठाउन अग्रसर देखिन्छन् । तर कार्यस्थलमा अहिले पनि महिलाले शारीरिक हिंसा, कार्यक्षमतामाथि अविश्वास, उचित पारिश्रमिक अभाव, सहकर्मीबाट असहयोगजस्ता अनेकौ समस्या भोग्दै आएको थुप्रै घटना छन् । कार्यस्थल पूर्णरुपमा सुरक्षित हुनुपर्ने र लैंगिक विभेदको अन्त्य हुनुपर्ने जस्ता विषयमा आवाज उठ्दै आएपनि कार्यस्थल महिलाका लागि अझै पनि सुरक्षित हुन सकेको पाईदैन । महिलाहरुले अझै पनि कार्यस्थलमा सुरक्षित महसुस गर्न सकेका छैनन् । आर्थिक परिस्थिति र विभिन्न बाध्यताका कारण जागिर नै गुमाउनुपर्ने डरका बीच पनि महिलाहरु असुरक्षित कार्यस्थलमा काम गर्न बाध्य देखिन्छन् । यस विषयमा आवाज उठाउदा समेत महिलाहरुले न्याय पाएका हुदैनन् । महिलाले कार्यस्थलमा भोग्नुपरेको तितो अनुभवका केही उदाहरण यस्ता छन् ।

विगत १२ बर्ष देखी सरिता (परिवर्तित नाम) संचार क्षेत्रमा आबद्ध छिन् । धेरै उतार चढावको सामना गर्दे उनले आफुलाई यस क्षेत्रमा टिकाउन सकेको बताउछिन् । रेडियो कार्यक्रमबाट संचारक्षेत्रको यात्रा सुरु गर्दा निकै उत्साहित थिईन् । तर उत्साह विस्तारै तनावमा बदलिदै गयो । उनी भन्छिन् ‘संचारक्षेत्र जति रमाईलो छ त्यतिनै चुनौतीले भरिएको पाए । कार्यस्थलमा काम गर्ने व्यक्तिबीच सहकार्यको भावना एकदमै आवश्यक हुन्छ तर मैले त्यो सहकार्यको अभाव एकदमै महसुस गरे’ । त्यो अभाव सहेर पनि आफुले रोजेको कामलाई निरन्तरता दिदै आएको उनले सुनाईन् । महिला सहकर्मीबाटै कैयौं पटक बिभिन्न कारणले उनको निजि जिवनमा समेत असर परेको तितो अनुभव छ ।

‘मलाई आज पनि याद छ मेरो रेडियो कार्यक्रम सुरु हुन केहि मिनेट मात्र बाँकि थियो, म मेरो कार्यक्रमको लागी गित तयार गर्दै थिए । त्यहीबेला रेडियोको फोन बज्यो, स्रोताको फोन सम्झेर मैले उठाए । ’ सरिताले विगत सम्झिदै भनिन् ‘तर उक्त फोन मैले अत्यन्तै सम्मान गर्ने र रेडियोको समेत जिम्मेवार व्यक्तिको थियो । मैले सम्मानित शैलीमा कुरा गर्न थाले । तर अचानक उहाँको प्रश्नले म आकाश खसे झै महसुस गर्न थाले’ ।

उहाँले अचानक मेरो कम्मरको साईज सोध्दै भन्नुभयो, ‘म बाहिर जाँदैछु । तिम्रो लागि पाइन्ट ल्याईदिउ?’ सरिताले भनिन् ‘यो सुन्ने वित्तिकै मैले हतारहतार गर्दै फोन राखे । केही बोल्न सकिन । कार्यक्रम चलाउन तयार हुँदै गरेकी म उहाँको कुरा सुनेर असहज महसुस गर्न थाले’ ।

यो बिषयमा सरिताले न परिवारमा कसैलाई भन्न सकिन् न त कार्यालयको सहकर्मीलाई जानकारी गराईन् । फोन आउँदा समेत उठाउन छोडिन् । रेडियोको जिम्मेवार पदमा भएका कारण ति व्यक्तिसंग त्यसपछि पनि रेडियोमा भेट हुने गथ्र्यो । त्यस समयमा पनि उनले मानसिक हिंसाको सामना गर्नुपर्यो । फोनमा कम्मरको साइज सोध्ने रेडियोका ति जिम्मेवार व्यक्तिले सरितालाई ‘रेडियोको थोरै तलबले के हुन्छ । तिमिलाई केही खान, लगाउन मन लागे मलाई भन्ने गर, तिमिलाई केही कमी हुन दिन्न’ भन्दै प्रलोभनमा पार्ने अनेकौं प्रयास गरे । ति व्यक्तिको कुराले सरितालाई खुशी भन्दापनि मानसिकरुपमा पीडा दिन थाल्यो । रेडियोकै जिम्मेवार व्यक्तिबाट गरिएको कुराले उनले कार्यस्थलमा सुरक्षित महसुस गर्न सकिनन् ।

‘यस घटनाबारे गुनासो गर्ने ठाँउ पनि थिएन । अर्को काम नपाए सम्म झट्ट काम पनि छोड्ने अवस्था भएन । मानसिक तनाव खेपे ।’ उनले भनिन् ‘ आफुलाई आफै सुरक्षित राख्दै अघि बढ्ने निधो गरे । केहि समय पश्चात ति व्यक्ति रेडियोबाट अलग्गिन पुगे ।’ मान्छे परिवर्तन भएर आफूले भोग्दै आएको तनाव कम भएपनि कार्यस्थलमा महिलाको सुरक्षाका निम्ति रोजगारदाता र राज्य जिम्मेवार हुनुपर्ने सरिता बताउछिन् ।

कार्यक्षेत्रमा महिलाको क्षमतालाई स्वीकार्न नसक्ने अवस्था शुरु देखि नै रहेको वीरगन्जकी संचारकर्मी बिमला गुप्ताको अनुभव छ । उनी बिगत १६ बर्षदेखी संचारक्षेत्रमा कार्यरत छिन् । करिब डेढ दशकको यात्रामा अनेकौं अनुभव बटुल्दै उनि उनि अझै यसै क्षेत्रमा सक्रिय छिन् । भोजपुरी रेडियो कार्यक्रमबाट उनले आफ्नो कार्यक्षेत्रको यात्रा अगाडी बढाएकी थिईन् । कार्यक्रमलाई प्रभावकारी बनाउन गरिएको मिहिनेत उनको कार्यक्रममा बज्ने गित, उठाईएको बिषयबस्तु, प्रस्तुत हुने शैली र प्रयोग हुने शब्दबाटै झल्कीन्थ्यो । स्रोताबीच चर्चित हुँदै गईन र कार्यक्रम थपिदै गयो । विस्तारै उनी समाचार लेखन क्षेत्रमा पनि काम गर्न थालिन् ।

‘रेडियोबाट सुरु गरिएको यात्रा अहिले अनलाईन र छापामाध्यमसम्म आईपुगेको छ । अहिलेको संचारगृहलाई समाचार खोजेर ल्याइदिने मात्र चाहिदैन । समाचार लेख्ने देखि लिएर अडियो, भिडियो समेत तयार पारेर दिनुपर्ने हुन्छ, आफुले खोजेको बिषयबस्तुको सम्पूर्ण जिम्मा आफै लिएर काम गर्नुपर्ने हुन्छ’ उनले भनिन् ‘त्यो सबै गर्दा पनि महिलाले गर्न सक्दैन, पक्कै पनि अरुले गरिदिएको हुन सक्छ सुन्न पाएको छु’ । यस्ता कुरा पुरुषबाट मात्र नभई महिलाबाट पनि आउने गरेको उनी बताउँछिन् ।

आफूसंगै काम गरेका पुरुष सहकर्मीहरु विभिन्न जिम्मेवारीमा पुगिसक्दा पनि महिलाहरु समाचार मात्रै पढेर बस्नुपरेको उदाहरण रहेको उनि बताउछिन् । महिलालाई डेक्स भन्दा बाहिर जान नदिने, फोनबाट समाचार टिप्न लगाउने, टेक्निसियनमा सिमित राख्ने गरेको भन्दै उनले महिलालाई जिम्मेवारी दिएर अघि बढाउनुपर्ने र महिलाहरु पनि जिम्मेवारी लिएर अघि बढ्न सक्नुपर्ने बताईन् ।

‘चुनौतीहरु धेरै छन् तर सबभन्दा ठुलो चुनौती भनेको तलबको हुन्छ, एक त काम जतिको तलब तोकिएको हुदैन र तोकिए जति पाउन गाह्रो हुन्छ । यस कारणले पनि महिलाहरु पलायन हुँदै गएको अवस्था छ, बिकल्पको बाटो खोज्न बाध्य छन् ।’ उनले बताईन् । पुरुषले आर्थिकरुपमा सहयोग पाउँदा कामको मुल्यांकनसंग जोड्ने तर त्यही ठाँउमा महिलाले कतैबाट सहयोग पाउँदा सिधा चरित्रसंग जोडिने भएका कारण महिलाहरु पूर्णरुपले संचारगृहकै तलबमा निर्भर हुने गरेको बिमला बताउछिन् ।

नारायणी एफएमका प्रवन्ध निर्देशक गोविन्द देवकोटाका अनुसार कार्यक्षेत्रलाई एउटा घर र सहकर्मीलाई परिवारको सदस्य मानेर काम गर्न जरुरी रहेको बताउछन् । कार्यस्थलमा हुने हिंसाका घटनाविरुद्ध महिलाहरुले आवाज उठाउन थालेपछि यस्ता गतिविधिमा कमी आएको देवकोटाले बताए । कानुनी उपचार खोज्नु भन्दा अगाडी महिलाले त्यस्ता गतिविधिविरुद्ध आवाज बुलन्द गर्नुपर्ने र त्यस्ता गतिविधिको प्रतिकार गर्न आवश्यक रहेको देवकाटोको भनाई छ ।

‘महिलालाई महिला भएकै कारण विशेष सुविधा दिनुपर्छ भन्ने छैन, प्रतिस्पर्धा गर्न सक्ने क्षमता पनि आवश्यक छ । कार्यक्षमता अनुसार नै तलब र अरु विशेष सुविधाको माग जायज हुन्छ’ । कर्मचारीलाई व्यवस्थित गर्न संचारगृह पनि व्यवस्थित बनाउन जरुरी छ । ’ देवकोटाले भने ‘कार्यविभाजन, जिम्मेवारी, अनुशासन र कर्मचारीमाथी निगरानी राख्न पनि प्रशासनको अहम भुमिका हुने गर्दछ त्यसैले हरेक कार्यस्थलमा कर्मचारीको सुरक्षा निमित्त सीसीटिभी हुनुपर्छ र कानुनी दायरा मै ल्याउनु पर्यो भने संचारगृहका संचालक र प्रशासनले सहयोग गर्नुपर्ने हुन्छ ।’

संचारक्षेत्र जस्तै राजनीतिमा आफ्नो भविष्य खोज्ने महिलाहरु पनि विकल्पको बाटो खोज्न बाध्य भएको पाईन्छ । तर विकल्पको बाटोमा समेत राजनीतिक पृष्ठभुमि भएको कारणले चुनौतीको सामना गर्नुपरेको छ । भर्खरै राजनिति क्षेत्रमा प्रवेश गरेकी सिमराकी लक्ष्मी तिमिल्सिना पनि विभिन्न चुनौतीको समाना गर्दै राजनीतिक क्षेत्रमा आफ्ना पाईला अगाडी बढाउदै छिन् । उनी एक विद्यार्थी नेता हुन् । ‘तीन वर्ष भयो यस क्षेत्रमा लागेको । काम गर्ने क्रममा महिलालाई आफ्नो निजि स्वार्थको लागी प्रयोग गरिएको महसुस गरे’ उनि भन्छिन् ‘एक त राजनीतिमा महिलाको सहभागिता न्युन छ र सहभागिता भएपनि सक्रिय छैनन् । पद छ तर जिम्मेवारी छैन ।’

राजनीतिक क्षेत्रमा लागेका महिलालाई हेर्ने दृष्टिकोण पनि फरक रहेको उनि बताउछिन् । राजनीतिमा सक्रिय भएका महिलालाई चरित्रसंग जोडेर बिभिन्न टिकाटिप्पणी गर्ने गरिएको भन्दै उनले समाज परिवर्तनको अभियानमा लागेका महिलालाई हतोत्साही भन्दा पनि उर्जा थप्नुपर्ने उनको भनाई छ । महिलालाई समाजको हरेक क्षेत्रमा काम गर्ने वातावरण निर्माण गर्ने जिम्मेवारी समाजका हरेक पक्षको रहेको उनले बताईन् ।

लक्ष्मीले राजनीतिसंगै अन्य कामलाई निरन्तरता दिन खोज्दा उनको जिवनमा चुनौती थपियो । काठमाडौंमा उनि ब्युटिशियन भएर चार बर्ष काम गरिन् र पछि सिमरा आईन् । २०७८ सालमा उनी जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत गरिब घर परिवारको पहिचान तथा परिचय पत्र वितरण कार्यक्रममा ६ महिना काम गरीन् भने २०७९ सालमा गुनासो सुनवाई अधिकारीको रुपमा दुई महिना काम गरिन् । त्यो बेला उनि राजनीतिमा पनि लागेको भएर कार्यालयमा र अन्य व्यक्तिबाट काम गर्न असहज भएको अनुभव उनिसंग छ ।

‘करारमा काम गर्ने क्रममा उसको नाम किन सिफारिस गरेको, उ बाहेक अरु छैन र काम गर्ने? राजनीतिमा लागेको मान्छेलाई किन राख्नु पर्यो काममा जस्ता टिकाटिप्पणीहरुले गर्दा मलाई काम गर्न अप्ठ्यारो भयो ’ उनले भनिन् ‘के राजनीति गर्ने मान्छेले अन्त्यै काम गर्न नपाउने हो र? उनले प्रश्न गरीन् । अब गुनासो पनि कसलाई गर्न जाने ?’

यतिबेला उनि स्थानीय तहमा महिला लक्षित कार्यक्रममा सक्रिय छिन् । तर काम गर्ने क्रममा पनि समस्या उनले भोगेकी छिन् । सरकारी निती र नियम भित्र रहेर काम गर्दा पनि वाधा पुर्याउने, मुद्धा हाल्ने, काम गर्न नदिने वातावरण बनाउन आफू निराश हुने गरेको उनले बताईन् ।

यता विगत ६ बर्ष देखि राजनीतिमा लागेकी शान्ताकुमारी बजगाईं (रिना) राजनीतिक क्षेत्र महिलाको लागी सुरक्षित रहेको ठान्दिनन् । उनले असुरक्षित भएकै कारण योग्यता भएका महिला समेत विस्थापित हुनुपर्ने अवस्था आएको उनको भनाई छ । महिलाले मौका पाए पनि उनी माथी पार्टी वा पार्टीका नेताको दवाव र स्वार्थ जोडिने गरेको रिना बताउछिन् ।

कस्मेटिक व्यवसायमा समेत सक्रिय रहदै आएकी उनिसंग राजनीतिमा भोग्नुपरेको तितो अनुभव समेत छ । ‘मेरो लागी राजनीति एउटा पुरा नहुने सपना हो किनभने म सत्य बोल्छु र कसैको दबाबमा बस्न सक्दिन् । सत्य बोलेकै कारण आबद्ध रहेको राजनीति पार्टी त्याग्नु पर्यो । केही समय मानसिक रोगको शिकार समेत हुनुपर्यो’ रिनाले सुनाईन् ।

२०७९ को स्थानीय तह निर्वाचनमा उनको नाम जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ बाट वडाध्यक्ष पदको लागी सिफारिस भएको थियो । तर उनको आर्थिक अवस्था कमजोर भएकै कारण उनलाई नोमिनेशनको दिन बाटोबाट फर्काइयो । ‘नोमिनेशनको केहि दिन अगाडी केहि व्यक्तिहरुले म संग मेरो आर्थिक अवस्था, बैंकमा पैसा र सम्पतिको बारे सोधखोज गरेका थिए । म संग पैसा थिएन त्यतिबेला र त्यसपछि मलाई टिकटबाट बहिष्कार गरियो’ उनले भनिन् ‘म पार्टीलाई नेतृत्व गर्ने व्यक्तिहरुसंग लड्न सकिन र योग्य हुँदाहुदै पनि सम्पति नभएको कारणले म राजनीति र त्यो पार्टी समेत छोड्न बाध्य भए ।’

राजनीतिबाटै समाजमा अघि बढ्ने सोच राखेकी रिना पीडितकोलागी आवाज बन्न चाहन्थिन् । तर आफु आबद्ध रहेको पार्टीबाटै विभेद खेप्दा उनको हौसला कमजोर भयो । अहिले उनि पार्टी परिवर्तन गरेपनि बिगतको घटना सम्झिदा फेरी त्यहि घटना दोहोरिने हो कि भनेर त्रासमा छिन् । जिविकोपार्जनको लागी उनि जितपुर बजारमा कस्मेटिक पसल संचालन गर्दै आएकी छिन् । उनको पसलमा बिशेष गरी महिलाको प्रयोगमा आउने सामान पाइन्छ तर कहिले काही किनमेल गर्ने मनसाय नभएर पनि पुरुषहरु पसलमा आएर काममा बाधा पुर्याएको अनुभव उनिसंग छ ।

‘महिलालाई बाहिर काम गर्न पनि कहाँ सजिलो छ र ? वडा अध्यक्षको लागी योग्य हुँदाहुँदै पनि लड्न नसकेर पछाडी हट्न पर्यो, गुनासो कसलाई गर्ने? पसलमा पुरुषबाट काममा बाधा पुग्दा कतिसंग झगडा गर्ने? क–कसमाथी मुद्धा हाल्ने? मानसिक तनाबलाई हिंसा नबुझ्ने समाजबाट न्यायको आश गर्न सकिन्छ? उल्टै महिलालाई दोषी बनाईन्छ’ रिना भन्छिन् ‘राज्यले कानुन बनाएर मात्र हुदैन । खोई कार्यान्वयन भएको? महिलाहरु अझैपनि कि हिंसा सहेर कि त आफ्नो बुद्धि विवेक प्रयोग गरेर अथवा प्रतिकार गरेर कार्यस्थलमा आफुलाई टिकाएको पाईन्छ’ ।

कार्यस्थलमा कुनै किसिमको समस्या हुँदा उजुरी गर्ने निकाय कहि कतै छैन । कुनै निकाय भएपनि सक्रिय छैन । त्यसैले जुनसुकै कार्यक्षेत्रको व्यक्ति जो हिंसामा परेको छ उनीहरुलाई निस्वार्थ रुपले न्याय दिलाउन निमित्त एउटा निकाय आवश्यक छ । जसको पहुँच छ उसले मात्र न्याय पाएर हुदैन जो वास्तविक रुपमा पीडित छ उसलाई न्याय दिलाउन जरुरी रहेको रिनाको भनाई छ ।

यसैगरी लामो समयदेखी सहकारी कार्यालयमा काम गर्दे आएकी सुनिताको (परिवर्तित नाम) आफ्नै भोगाई छ । सहकारी क्षेत्रमा उनी बजार प्रतिनिधिको रुपमा केहि समय काम गरिन् । त्यसपछि उनलाई कार्यालयमा कम्प्युटर अपरेटरको जिम्मेवारी दिईयो । सुनिता भन्छिन् ‘नयाँ जिम्मेवारी र काम पनि नयाँ थियो त्यसैले सिकाउनको लागी हाम्रो सहकारीकै कार्यसमीति भित्रका एक जना सर आउनु हुन्थ्यो । उहाँले मलाई काम सिकाउन थाल्नु भयो । म पनि काम सिक्न पाउँदा खुशी थिए । तर केही समयमै शारीरिकरुपमा हिंसाजन्य व्यवहार गर्न थालियो ।’

सुनितालाई काम सिक्न असहज महसुस हुन थाल्यो । उनी सहकारीको प्रमुख जो एक महिला थिईन् उनलाई गुनासो गर्न पुगे । ‘मैले प्रमुखलाई आफूमाथी भएको व्यवहारको विषयमा जानकारी गराए’ उनी भन्छिन् ‘तर कुनै सुनुवाई भएन् । कार्यसमितिको र पहुँचवाला मान्छे भन्दै उल्टै मलाई सम्झाउने काम भयो ।’ तर एकदिन कार्यालयमा अरु सहकर्मी कै अगाडी ति व्यक्तिले आफ्नो हात समातेपछि तत्कालै काम छोडेर हिडेको सुनिताले बताईन् । आफू कार्यालय छोडेर हिड्दा समेत कसैले पनि रोक्ने प्रयास नगरेको र दुव्र्यवहार गर्ने व्यक्तिलाई प्रश्न नगर्दा कार्यस्थल अझै सुरक्षित नरहेको उनि बताउछिन् ।

कार्यालयमा भईरहेको दुव्र्यवहार बारे जानकारी गराउँदा न सहकर्मीले साथ दिए न त कार्यालय प्रमुख कै साथ पाईन् । प्रतिकार नै सुनिताको लागी हतियार बन्यो । ‘अरुको लागी त्यो व्यक्ति ठुलो मान्छे होला तर मेरो लागी उ एउटा गलत प्रबृतीको व्यक्ति मात्र थियो । मलाई किन उसको डर मानेर बस्नु पर्यो? आफुमा क्षमता छ भने काम गर्न कार्यालयको कमी हुदैन तर मानसिक तनाब र शारिरीक हिंसा नै भोगेर बस्नुपर्छ भन्ने मलाई लाग्दैन’ उनले भनिन् ‘तर कार्यालय सुरक्षित हुनुपर्छ र सुरक्षित बनाउने जिम्मा हरेक कर्मचारीको हुन्छ । हिंसा त जो माथी पनि हुनसक्छ । हिंसामुक्त नबनाए पनि कम्तीमा न्युनिकरण तिर ध्यान दिन आवश्यक छ ।’

सोलिडारीटी सेन्टरकी पूर्व सिनियर कार्यक्रम अधिकृत कृष्मा शर्मा लामो समय देखी हिंसामुक्त कार्यस्थलको स्थापनाका लागी आवाज उठाँउदै आएकी छिन् । उनका अनुसार कार्यस्थलमा हुने यौन हिंसालाई रोक्न ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण ऐन) २०७१’ छ । जसमा कसैले आफ्नो पद, शक्ति वा अधिकारको दुरुपयोग गरी, कुनै किसिमको दवाव, प्रभाव वा प्रलोभनमा पारी वा हतोत्साहित गरेमा यौनजन्य दुव्र्यवहार गरेको मानिने उल्लेख गरिएको छ । हिंसा गर्नेमाथि पीडितले पहिला आफ्नो कार्यस्थलको व्यवस्थापकलाई १५ दिनभित्र र त्यहाँबाट सुनुवाई नभए सुरुमा प्रमुख जिल्ला अधिकारीलाई र त्यहाँबाट पनि निर्णय चित्त नबुझे अन्तिम सुनुवाईको लागि पुनरावेदन अदालतमा उजुरी दिन सकिने व्यवस्था छ ।

‘यस विषयमा लामो समयदेखी बहस पैरवी गर्दै आएको हुनाले केहि पनि प्रगति नभएको भन्न मिल्दैन । केही परिवर्तन देखिन थालेका छन् । नियम कानुन बनेपछि मान्छेले बिस्तारै हिंसाका प्रवृत्तिबारे बुझ्दै गएका छन् । अश्लील बोल्नु वा लेख्नु, गलत ईशारा गर्नु, प्रलोभन दिनु, पारिश्रमीक कम दिनु वा समयमा नदिनु, पद वा शक्तिको दुरुपयोग गर्नु र कुनै पनि कर्मचारी हतोत्साहित गर्नु पनि हिंसा हो भनेर बुझ्न थालेको शर्माले बताईन् ।

घरेलु हिंसाको मुद्धा उठाईरहँदा कार्यस्थलमा हुने हिंसाबारे पनि आवाज उठाउनु पर्ने शर्मा बताउछिन् । जागीर गुम्ने, अर्को जागीर नपाउने डर, परिवार र समाजबाट बहिष्कार हुने डरले पनि कतिपय महिला/पुरुष हिंसा सहेर बस्न बाध्य रहेको पाईन्छ । छानबिन र तथ्य प्रमाण जुटाउने, प्रमाणीकरण गर्ने प्रक्रिया पीडितको लागि ज्यादै झन्झटिलो र बोझिलो भएको हुनाले पनि कार्यालयमा हुने अधिकांश घटनाहरू बाहिर ल्याउन चाहँदैनन । त्यस्ता हिंसात्मक कार्य व्यवहारिक तवरमा रोकथाम र समाधान गर्न विद्यमान कानुनी संयन्त्र र न्यायिक प्रक्रिया पीडित मैत्री बनाउन आवश्यक देखीन्छ । कार्यस्थल सुरक्षित नभएसम्म महिलाहरु अघि बढ्न नसक्ने अवस्था छ । असुरक्षित कार्यस्थल उनिहरु सामु सधैं तगारो बन्ने देखिन्छ । त्यसैले कार्यस्थल सुरक्षित र हिंसामुक्त हुन जरुरी छ ।

बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्त दधिराम न्यौपानेले कार्यस्थलमा हुने हिंसा, दुव्र्यवहारलाई लिएर आफू आएदेखि उजुरी नपरेको बताउछन् । यता जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख एवम् न्यायिक समितिका संयोजक भोलाप्रसाद अधिकारीले न्यायका लागि भन्दै यस्तो किसिमको उजुरी कार्यालयमा नआएको बताए ।

प्रतिक्रिया दिनुहोस्