सर्राफ हत्यामा संलग्न पाँच जना सार्वजनिक, मुख्य अभियुक्त अझै फरार


eShilalekh

१५ कार्तिक २०८०, बुधबार १७:०३

कलैयाः कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक रुपेश सर्राफको हत्या प्रकरणमा भइरहेको अनुसन्धानबारे जिल्ला प्रहरी कार्यालयले बुधबार पत्रकार सम्मेलन गरेको छ । सर्राफको सोमबार दिउँसो गोली हानी हत्या भएको थियो । हत्यामा आठ जना व्यक्ति प्रत्यक्ष संलग्न रहेकामध्ये प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरूमा कलैया उपमहानगर पालिका २ बस्ने राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह रहेकोे प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए । मुख्य अभियुक्त एवम् योजनाकार मनोज गुप्ता भने फरार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी काफ्लेका अनुसार सर्राफ हाल पक्राउ परेकी महिलासँग लामो समयदेखि गहिरो प्रेममा थिए । सर्राफसँग प्रेममा रहेकी महिलाको अर्को एक पुरुषसँग पनि सम्बन्ध रहेको प्रहरीले जनाएको छ । ती पुरुषले पटक पटक सर्राफ लाई प्रेमिकासँगको सम्बन्ध तोड्न चेतावनी दिँदै आएका थिए । सर्राफले सम्बन्ध तोड्न नमानेपछि हत्याको योजना बुनेको प्रहरीले जनाएको छ । सर्राफलाई गोली हान्ने व्यक्ति पेशेबर सुटर रहेको पनि प्रहरीले जनाएको छ ।

हत्यामा प्रत्यक्ष संलग्नता ८ जनाको भएपनि पाँच जना मानिस अनुसन्धानको दायरामा आएको र थप व्यक्तिहरुसँग पनि सोधपुछको कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्