जीतपुरसिमरा वडा नं. १४ मा सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण
सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ को कार्यालयले भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासमा रहेका नागरिकलाई निस्सा वितरण गरेको छ ।
वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै निस्सा वितरण सुरु गरिएको हो । वडाले पहिलो चरणमा पाँच सय २७ भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासमा रहेका नागरिकलाई निस्सा वितरण गर्ने वडाध्यक्ष चयन गुरुङले जानकारी दिईन् ।
जग्गाधनी पूर्जा प्राप्तिका लागि वडा कार्यालयमा पाँच सय २७ भन्दा बढी घरपरिवारले निवेदन दिएका थिए । प्राप्त निवेदनमध्ये वडास्तरीय सहजीकरण समितिले सिफारिस गरेवमोजिम पाँच सय २७ परिवारलाई निस्सा वितरण गर्न लागिएको हो । निस्सा प्राप्त गर्दा स्थानीय नागरिक खुशी देखिएका थिए ।
निस्सा वितरण गरिएलगत्तै १५ दिने सूचना आवहान गर्ने र नापीको काम सुरु गर्ने वडाध्यक्ष गुरुङको भनाई छ । वडाध्यक्ष गुरुङले यथाशिघ्र भूमिहिन र अव्यवस्थित बसोबासमा रहेका नागरिकलाई जग्गाधनी पुर्जा वितरण गर्ने गरी काम गरिने समेत बताईन् ।
कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेल, मधेस प्रदेशसभा सदस्य मञ्जु थापामगर, जीतपुरसिमराका नगर प्रमुख राजन पौडेल, भूमिसम्बन्धी समस्या समाधान आयोगका सदस्य मेहीलाल दास थारु, एमाले मधेस प्रदेश कमिटी सदस्य किशोर शर्मा, एमाले बारा सचिव अध्यान्नद पाण्डे, एमाले नगर उपसचिव झपेन्द्र बराल, वडासदस्य तेजनारायण चौधरी, गिता सार्की, वडास्तरीय सहजीकरण समितिका सदस्य कपिल खरेल, मुकुन्दराज रिजाल, सुमनाथ अधिकारी, दीपक दहाल, रुद्रप्रसाद न्यौपानेलगायतको उपस्थिती रहेको थियो ।
एमाले नेता एवम् पूर्वमन्त्री पौडेलले निस्सा वितरण सुरुवात गर्दै छिटोभन्दा छिटो काम सम्पन्न गर्नेतर्फ अग्रसर हुन आग्रह गरे । राजनीतिक संक्रमणका कारण जनताले प्राप्त गर्ने अधिकारमा ढिलाई भईरहेको भन्दै नेता पौडेलले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिएका छन् । कार्यक्रममा मधेस प्रदेशसभा सदस्य थापामगर, नगर प्रमुख पौडेलगायतले मन्तब्य राखेका थिए ।
वडाध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण वडासचिव रञ्जु अधिकारीले गरेकी थिईन् । कार्यक्रममा वडासदस्य यमनाथ ढकालले स्वागत मन्तब्य राखेका थिए ।