लायन्स क्लब डिष्ट्रिक्ट ३२५ एसको प्रि–क्याबिनेट बैठक सम्पन्न, पूर्ण बैठक शनिबार हुँदै


eShilalekh

१५ मंसिर २०८०, शुक्रबार २२:१०

सिमराः लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसको दोस्रो प्रि–क्याबिनेट बैठक सम्पन्न भएको छ । वीरगन्जस्थित होटल क्लार्कमा डिष्ट्रिक्टको बैठक सम्पन्न भएको हो ।

डिष्ट्रिक्टको शनिवार हुने पूर्ण क्याबिनेट बैठकको पूर्वसन्ध्यामा तयारी र रणनीतिक योजना बनाउन प्रि–क्याबिनेट बैठक बसेको हो । बैठकले लायन्स क्लबको सामाजिक उदेश्यलाई थप आमनागरिक समक्ष लैजाने, लायन्सको अभियानमा जोडिने नागरिकको संख्यामा बृद्धि गर्ने र क्लबको संख्या बढाउने निर्णय गरेको छ ।

बैठकमा डिष्ट्रिक्ट अन्तर्गत एरिया, जोन र रिजन चेयरपर्सनले लायन वर्ष २०२३/२४ को पछिल्लो पाँच महिनाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकमा एरिया १ का प्रतिनिधि, एरिया २ का जेपी यादव, एरिया ३ का उमेश शर्मा, जोन चेयरपर्सन चिन्तनमणी न्यौपाने, बिजय कुशवाहा, श्वेता क्षेत्री, सुनिल खेतान, आयुशी अग्रवाल, रिजन चेयर पर्सन चुडामणी खरेल (कपिल), क्षेदुप लामा, पुष्पा भट्ट, खड्गबहादुर राउत, सञ्जय अग्रवाल र जया राजभण्डारीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

एरिया, जोन र रिजनले प्रस्तुत गरेका प्रतिवेदनमामाथि बैठकका प्रमुख अतिथि पिएमसिसि रमेश अग्रवाल, कार्यक्रमका अध्यक्ष डिष्ट्रिक्ट गर्भनर डिएन अग्रवाल, पूर्वगभर्नर अम्बरबहादुर श्रेष्ठ, आरपी खेतान, द्धितीय डिष्ट्रिक्ट गभर्नर विनय बस्नेत, पूर्व सचिव बालकुमार पाण्डे र विश्ननाथ खनालले सुझाव दिएका थिए । डिष्ट्रिक्ट गभर्नर अग्रवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व गभर्नर शम्भु नकर्मी, रामकुमार सिन्धी, प्रथम गभर्नर टासी डोल्मा तुम्बाहाम्फे, कोषाध्यक्ष रामबिहारी पाण्डेलगायत डिष्ट्रिक्टका सदस्य, क्लबका अध्यक्षलगायतको उपस्थिती रहेको थियो ।

डिष्ट्रिक्टको पूर्ण बैठक शनिवार १० बजे होटल क्लार्कमा बस्नेछ । बैठकमा सहभागी हुन हेटौडा, काठमाण्डौलगायतका स्थानबाट सहभागीहरु वीरगन्ज आउने क्रम जारी छ ।

कार्यक्रममा गभर्नर अग्रवालले बैठक तयारी संयोजक बिजया ओझैया, प्रतिवेदनमा उत्कृष्ठ ठहरिएका एरिया, जोन र रिजन चेयरपर्सन र बैठक आयोजना गर्न सहयोग गर्ने लायन्सकर्मीलाई सम्मान गरेका थिए ।

प्रिक्याबिनेट बैठकको सहजीकरण डिष्ट्रिक्ट सचिव बासु तिमिल्सिनाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्