लायन्स क्लब सिमरा युथद्धारा एड्स रोकथामका लागि सक्रिय अभियन्ता लामा सम्मानित
सिमराः विश्व एड्स दिवसको अवसर पारेर लायन्स क्लब अफ सिमरा युथले एचआइभी/एड्स रोकथाम तथा न्युनिकरणका लागि अभियन्ताको रुपमा सक्रिय महिललाई सम्मान गरेको छ ।
सिमरास्थित संचार हब प्रा.लिको सभाहलमा आयोजित कार्यक्रममा क्लबले लामालाई पाँच हजार नगदसहित सम्मान गरेको हो । लामा जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयाकी हुन् ।
एचआइभी संक्रमित समेत रहेकी लामा पछिल्लो डेढ दशकदेखि एड्स रोकथाम तथा न्युनिकरणको अभियानमा सक्रिय छिन् । उनि एचआइभी संक्रमण बढ्न नदिन र नियन्त्रणका लागि काम गर्छिन् ।
विद्यार्थी जागरण मञ्ज (बिजाम) मा कार्यरत लामा बारा प्लसको पूर्वअध्यक्ष समेत हुन् । विवाह भएको ६ वर्षपछि श्रीमान्बाट आफूलाई संक्रमण भएको जानकारी पाएकी लामा त्यसयता एड्स नियन्त्रणको अभियानमा सक्रिय छिन् ।
लामाले जिवनमै पहिलो पटक सम्मान पाउँदा खुशी लागेको बताईन् । उनले एड्सलाई ठुलो रोगको रुपमा नलिन तर यसको संक्रमण बढ्न नदिनका लागि सचेत हुन आग्रह गरिन् ।
कार्यक्रममा लायन्स क्लब डिष्ट्रिक्ट ३२५ एस को प्रोगाम मेम्बर दिवाकर भण्डारी, लायन्स क्लबका सचिव सम्राट खनाल, कोषाध्यक्ष रविन उपाध्याय, पूर्वकोषाध्यक्ष निर्जल घिमिरे, सदस्य निलिसा वर्मा, लक्ष्मी तिमिल्सिना, विनिता खत्री, नयाँ गारेटो पुर्नस्थापना केन्द्रका बबिन सुब्बालगायत सहभागी थिए ।