सर्राफ हत्या प्रकरणः हत्यारा नसमातिएको भन्दै निजी विद्यालय संगठनद्धारा आन्दोलनको घोषणा
सिमराः बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेशकुमार सर्राफ (स्वर्णकार) को हत्या प्रकरणमा प्रहरीले गरिरहेको अनुसन्धानप्रति असन्तुष्टी जनाउदै निजी तथा आवासीय विद्यालयका दुई संगठनले बुधवार आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय बारामार्फत गृह मन्त्रालयलाई ज्ञापन बुझाउदै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन) बारा र निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) बाराले संयुक्तरुपमा आठ दिने विरोधका कार्यक्रम घोषणा गरेका हुन् ।
बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई ज्ञापनपत्र बुझाउदै दुवै संगठनले सर्राफ हत्या प्रकरणमा संलग्न हत्यारालाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेका छन् । एनव्याब्सन बाराका अध्यक्ष प्रभुलालप्रसाद कुशवाहा र प्याब्सन बाराका कार्यवाहक अध्यक्ष चुमनबाबु केवटद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा बारा प्रहरीले सर्राफ हत्या प्रकरणमा गरेको अनुसन्धान एक प्रतिशत मात्रै भएको दावी गरिएको छ ।
उनिहरुले हत्या प्रकरणका दोषी पक्राउ नपरेसम्म आन्दोलन गर्ने भन्दै मंसिर २७ गतेदेखि देशभरका विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् । उनिहरुद्धारा सार्वजनिक गरिएको विरोधका कार्यक्रममा २१ गते कलैयामा मैनबत्ती जुलुस, २२ गते र्याली र कोणसभा, २३ गते दुई घण्टा यातायात र बजार बन्द, २४ गते चार घण्टा यातायात बन्द, २५ गतेदेखि जिल्लाभरीका विद्यालय अनिश्चितकालिन बन्द, २६ गतेदेखि प्रदेशभरीका विद्यालय अनिश्चितकालिन बन्द गर्ने रहेको छ ।
यता प्रहरीले भने सर्राफ हत्या प्रकरणका सम्बन्धमा कार्तिक १५ गते पत्रकार सम्मेलन गरी पाँच जनालाई सार्वजनिक गरेको थियो । प्रहरीले कलैया उपमहानगरपालिका २ बस्ने राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनवकुमार सिंहलाई सार्वजनिक गर्दै अन्य फरार रहेको बताएको थियो ।
दुई संगठनले भने रुपेशको हत्यामा संलग्न हत्यारा अझै नसमातिएको दावी गरेको छ । उनिहरुले हत्यारालाई पक्राउ गर्न र निर्दोशलाई रिहा गर्न माग गरेका छन् ।