सिम्रौनगढ घटनाः मृतकको शव तीन दिनदेखि अस्पतालमा
सिमराः प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको विरोधमा बाराको सिम्रौनगढमा प्रदर्शन जारी छ । गोली प्रहार घटनाको विरोध गर्दै पीडित परिवार र स्थानीयबासीले शुक्रबार तेस्रो दिन पनि दिनभर प्रदर्शन गरेका छन् ।
शिक्षक र कर्मचारीको धर्नामा प्रहरी दमन भएको र सोही कारण एक युवकले ज्यान गुमाउनुपरेको भन्दै स्थानीयले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा स्थानीयले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव, सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी साह कलवार, ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरिक्षक रविभुषण यादवको पुतला समेत दहन गरेका थिए ।
सिम्रौनगढ नगरपालिकाको कार्यालय अगाडी बुधवार दुई महिनादेखि आन्दोलनरत शिक्षक/कर्मचारी र प्रहरीबीच झडप हुँदा वडा नं. १ नमसागराढाठका लक्ष्मी मुखिया बिनको ज्यान गएको थियो । स्थिती नियन्त्रणमा लिन भन्दै प्रहरीले चलाएको गोली लागेर २५ वर्षीय बिनको मृत्यु भएको हो । झडपमा १० जना घाईते भएका थिए ।
प्रहरीको गोली लागेर मृत्यु भएका बिनको शव अझै वीरगन्जस्थित नारायणी अस्पतालमा छ । पीडित परिवार र स्थानीयले मृतकको शव बुझ्न मानेका छैनन् । स्थानीयले पीडित परिवारलाई क्षतिपूर्ति तथा रोजगारी, नगर प्रमुख कलवारमाथि कर्तव्य ज्यान मुद्धा, प्रहरी निरीक्षक यादवको कल डिटेलसहित घटनाको छानविनलगायतको माग राखेका छन् । आन्दोलनमा दुई महिनादेखि नगरपालिकाको कार्यालयमा धर्ना दिदै आएका आन्दोलनरत शिक्षक, कर्मचारीसहित जनप्रतिनिधिले समेत समर्थन जनाएका छन् ।
स्थानीयसहित आन्दोलनरत पक्षले यसअघि बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई ज्ञापनपत्र बुझाएका थिए । वडाध्यक्ष, कर्मचारी, शिक्षकलगायतले हस्ताक्षर गरेको उक्त ज्ञापनपत्रमा २४ घण्टाभित्र माग पूरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिइएको थियो । ज्ञापनपत्र बुझाएपछि उनिहरुले कलैयास्थित भरतचोकमा प्रदर्शन गरेका थिए ।
बिनको मृत्यु भएको घटनापछि सिम्रौनगढको अवस्था अस्थिर छ । स्थिती थप बिग्रन नदिन सुरक्षा संयन्त्र सक्रिय छन् । बाराका प्रमुख जिल्ला अधिकारी सापकोटाले दुःखद् घटनाले निम्त्याएको अवस्थामा सुधार ल्याउन आफू प्रयासरत रहेको बताए ।
यसरी भएको थियो घटनाः
जनप्रतिनिधिबीचको द्धन्दका कारण लामो समयदेखि अन्यौलको अवस्थामा रहेको सिम्रौनगढ नगरपालिकाको कार्यालय बुधवार एकाएक रणभूमिमा परिणत भयो । नगरपालिकामा जनप्रतिनिधिबीच लामो समयदेखि अन्तरविरोधको अवस्था रहदै आएको छ । नगरपालिकामा नगर प्रमुख र उपप्रमुख लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट निर्वाचित भएका छन् ।
तर नगरपालिकाको कार्यपालिकामा कांग्रेसको बहुमत छ । आन्तरिक द्धन्दका कारण नगरपालिकाको नगरसभा समेत सम्पन्न हुन सकेको छैन । कार्यपालिकामा सहमति जुटन नसकेपछि नगर प्रमुख कलवारले २५ प्रतिशत उपस्थिती देखाएर कार्तिक ३ गते नगरसभा सम्पन्न भएको घोषणा गरेका थिए । नगर प्रमुखको उक्त घोषणापछि नगरपालिकामा विवाद झन चुलिदै गएको थियो । बहुमतमा रहेको कांग्रेसले नगरसभाको माग राख्दै आएको छ । नगर प्रमुख कलवार भने २५ प्रतिशतकै उपस्थितीको नगरसभालाई मान्यता दिनुपर्ने अडानमा छन् ।
विवादका कारण नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहिन अवस्थामा छ । मन्त्रालयबाट सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत समेत हाजिर नगरी फर्कदै आएका थिए । राजनीतिक लडाईंका कारण मन्त्रालयबाट सरुवा भएर आउने प्रमुख प्रशासकीय अधिकृतले सहजै हाजिर गर्न पाउने अवस्था छैन ।
यता नगरसभा नहुँदा कर्मचारीले तलब र सेवासुविधा पाउन सकेका छैनन् । सेवासुविधा नपाएका कर्मचारी र शिक्षक दुई महिनाभन्दा बढी समयदेखि धर्नामा छन् । कर्मचारी र शिक्षक धर्नामै रहेका बेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्धारा सरुवा गरिएका प्रमुख प्रशासकीय अधिकृत महेशकुमार मिश्र मंसिर २७ गते हाजिर गर्न नगरपालिकाको कार्यालय पुगेका थिए ।
पचरौता नगरपालिकामा कार्यरत मिश्रलाई मन्त्रालयले मंसिर २२ गते सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत तोकेको थियो । मिश्रलाई नगर प्रमुख कलवारले आफ्नै गाडीमा हाजिर गराउन लगेका थिए । मिश्रलाई हाजिर गराउन लैजाने क्रममा केही जनप्रतिनिधिसहित दुई महिनाभन्दा बढी समयदेखि कार्यालयमा धर्ना दिईरहेका शिक्षक र कर्मचारीले अवरोध गरेका थिए । सो क्रममा उनिहरुले मिश्र सवार नगरपालिकाको बा२झ ४३५४ नम्बरको गाडी समेत तोडफोड गरेका थिए ।
आफूहरुको मागलाई वेवास्था गर्दै नगर प्रमुख कलवारले एकलौटी गर्न खोजेको उनिहरुको आरोप थियो । जनप्रतिनिधि, शिक्षक र कर्मचारीले नगर प्रमुखविरुद्ध विरोध जनाउदै तोडफोड गर्न थालेपछि प्रहरीले लाठीजार्च गरेको थियो । सो क्रममा दोहोरो झडप भएको हो ।
यता झडप नियन्त्रणमा लिन भन्दै ४५ सेल अश्रुग्यास, २२ राउण्ड हवाई फायर गरेको प्रहरीले गोली समेत चलाएको थियो । प्रहरीले चलाएको गोली बिनको टाउकोमा लाग्न पुग्यो । उनको मृत्युपछि सिम्रौनगढको स्थिती असहज बन्दै गएको छ ।
नेपाली कांग्रेसले राजमार्ग बन्द गर्ने
यता घटनाको विरोध गर्दै नेपाली कांग्रेस क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिले शनिवार निजगढमा राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेको छ । नगरपालिकाका पूर्व नगर प्रमुख एवम् कांग्रेस क्षेत्रीय सभापति बिजयशंकर यादवले विज्ञप्ती जारी गर्दै बिहान ११ बजेदेखि बेलुकासम्म राजमार्ग अवरुद्ध गर्ने जनाएका छन् ।
नगरपालिकामा गैरराजनीतिक गतिविधिले युवकको ज्यान गयोः सात दल
घटनाको विरोध गर्दै कांग्रेसले राजमार्ग बन्द गर्ने घोषणा गरिरहेका बेला अन्य सात वटा राजनीतिक दलले भने फरक मत राखेको छ । कांग्रेसबाहेकको अन्य दलले नगरपालिकामा भएको गैर राजनीतिक गतिविधिले घटना सिर्जित भएको र सो कारणले युवकको मृत्यु भएको जनाएको छ ।
सेवासुविधाको माग राखेर आन्दोलनमा उत्रिएका कर्मचारीनै प्रमुख प्रशासकीय अधिकृतको हाजिरी रोक्ने काममा लाग्नु गलत रहेको सात दलको भनाई छ । उनिहरुले नगरपालिकामा भएको गैरराजनीतिक गतिविधि अन्त्य गर्न समेत माग गरेको छ ।
नेकपा एमाले सिम्रौनगढ नगर कमिटी अध्यक्ष महेन्द्र प्रसाद जयसवाल, नेकपा एकीकृत समाजवादीका नगर कमिटी अध्यक्ष रमेश कुशवाहा, नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष श्यामकिशोर प्रसाद यादव, जनता समाजवादी पार्टीका नगर कमिटी अध्यक्ष पन्नालालप्रसाद कुशवाहा, जनमत पार्टीका नगर कमिटी अध्यक्ष बिजय ठाकुर लोहार, लोकतान्त्रि समाजवादी पार्टीका नगर कमिटी अध्यक्ष बिन्दालाल प्रसाद यादव लोसपा र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष साहेब अंसारीले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।
सात दलले प्रमुख जिल्ला अधिकारी सापकोटालाई उक्त ज्ञापनपत्र बुझाएको छ ।