सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका बिषयक अन्तरक्रिया सिमरामा सम्पन्न
सिमराः सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम शुक्रवार सिमरामा सम्पन्न भएको छ । तराई विकास तथा सञ्चार केन्द्र नेपाल काठमाडौंको आयोजना, जीतपुरसिमरा उपमहानगरपालिकाको सहकार्य एवम् जिल्ला प्रशासन कार्यालय कलैया बाराको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले क्षणिक स्वार्थका लागि नियम विपरितका काम गर्दा भ्रष्टाचार बढेको बताए । उनले अत्यन्तै बढी विवादित हुने बिषय सार्वजनिक खरिदको बिषयमा सचेत हुनुपर्ने समेत बताए ।
कार्यक्रममा सार्वजनिक खरिद कार्यालयका पूर्वसचिव डा.दामोदर रेग्मीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै उनले सबैभन्दा नजिक र घरदैलोको सरकार भनेको पालिका सरकार नै भएकाले सुशासन र सेवा प्रवाह बढदै गएपछि सर्वसधारणले सन्तुष्टि प्राप्त गर्ने बताए । उनले राजस्वको तीन तहका सरकारका बीचमा हुने बाँडफाँट, सार्वजनिक खरिद, बजेटको कार्यान्वयन लगायतका बिषयमा डा.रेग्मीले आफ्नो धारणा राख्दै नियम कानूनको भित्र रहेर जनताको काम प्रभावकारी गरे सुशासन कायम हुने बताएका थिए ।
कार्यक्रममा नायव महालेखा परिक्षक मधेस प्रदेश कार्यालयका प्रमुख श्याम भण्डारीले कार्यपत्र प्रस्तुत गर्दै महालेखा परिक्षणको कार्यलाई प्रभावकारी बनाउँन दक्ष जनशक्तिको आवश्यकता रहको बताए । प्रदेश र स्थानीय तहको लेखा परिक्षणका काम गर्दा सबै प्रक्रिया एवं विधिलाई ध्यान दिदै अगाडी बढदा प्रभावकारी काम हुने भण्डारीको भनाई थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडा कार्यालयका प्रमुख उमाकान्त आचार्यले आर्थिक वर्ष २०८०।०८१ मा बाराबाट ३७० वटा उजुरी अख्तियारमा परेको बताए । भ्रष्टाचार, अनियमितता लगायतका बिषयमा ति उजुरीहरु परेको बताउदै आचार्यले सामाजिक उतरदायित्वका औजारहरुको प्रयोगका रुपमा सार्वजनिक सुनुवाई, जनसहभागिता, निष्पक्षतामा ध्यान दिदै अगाडी बढे भ्रष्टाचारलाई न्यनिकरण गर्न सकिने बताए ।
जीतपुरसिमरा उपमाहनगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवजीप्रसाद साहले पहिलो पाँचबर्षे कार्यकालमा ऐन, कानूनको अभावमा काम गर्न असजिलो भएको बताउँदै कानून निर्माण सम्पन्न भएसंगै संघीय कानूनको सहयोगमा सेवा प्रवाह प्रभावकारी बन्दै गएको बताए । सार्वजनिक खरिदमा समस्या देखिरहेको बताउँदै उनले जितपुरसिमरा उपमहानगरपालिकामा आव ०७८/७९मा ४३ करोड ५३ लाख ९३ हजार बेरुजु रहेको जानकारी दिएका थिए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुभाष साहले सार्वजनिक सेवालाई प्रभावकारी बनाउँदै अगाडी बढे सुशासन कायम गर्न सकिने बताए । जनताको काम जनप्रतिनिधि र कर्मचारीले तोकिएकै समयमा नगर्दा समस्या उठिरहेको बताउँदै उनले जनप्रतिनिधि र कर्मचारीको मनोमानीका कारण अहिलेको व्यवस्था माथि नै प्रश्न उठेको बताए ।
आयोजक संस्थाका अध्यक्ष गोविन्द चौलागाईले सुशासन र सेवा प्रवाहको बारेमा जीतपुर सिमरामा आयोजित कार्यक्रम सुरुवात भएको बताउँदै मधेस प्रदेशका सबै जिल्लामा यस्तो कार्यक्रम आयोजना गरिने जानकारी दिए । पश्चिम मधेसबाट सुरु भएको कार्यक्रम पूर्व मधेसको सिरहा, सप्तरी लगायतका जिल्लामा समस्याहरुको पहिचान गर्दै आएका सुझावहरुलाई समेटेर काठमाडौंमा सरोकारवालाहरुको सहभागितामा समाधानका उपायका बारेमा बृहत छलफल कार्यक्रम आयोजना गरिने चौलागाईले बताए ।
कार्यक्रममा बिभिन्न कार्यालयका कार्यालय प्रमुख, कर्मचारी, जीतपुरसिमरा उपमहानगरपलिकाका बिभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।