सिम्रौनगढ घटनाः कांग्रेसद्धारा राजमार्ग अवरुद्ध, युवकको शव अस्पतालमै


eShilalekh

३० मंसिर २०८०, शनिबार १९:४८

सिमराः प्रहरीको गोली लागेर सिम्रौनगढका एक युवकको मृत्यु भएको घटनाको विरोध र दोषीमाथि कारवाहीको माग गर्दै नेपाली कांग्रेस क्षेत्रीय समितिले शनिबार पूर्वपश्चिम राजमार्ग करिब पाँच घण्टा अवरुद्ध गरेको छ ।

सिम्रौनगढ नगरपालिकामा बुधवार भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर २५ वर्षीय लक्ष्मी मुखिया बिनको मृत्यु भएको घटनाको विरोध गर्दै कांग्रेस सडकमा उत्रिएको हो । संघीय सरकारको सत्तारुढ दल कांग्रेसको अगुवाईमा भएको प्रदर्शनका क्रममा स्थानीयले टायर बालेर प्रदर्शन गरेका थिए ।

राजमार्ग अवरुद्ध हुँदा पूर्वपश्चिम राजमार्ग भएर चल्ने सवारीसाधन सडकमा रोकिन पुगेको थियो । निजगढस्थित बकैया पुलनजिक दिउँसो करिब एक बजे अवरुद्ध गरिएको राजमार्गमा साँझबाट सुचारु भएको छ ।

कांग्रेसको नेतृत्वमा भएको उक्त विरोध कार्यक्रममा स्थानीयबासी, कर्मचारी, शिक्षक समेत सहभागी छन् । यसअघि कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि, नगरपालिकाका केही शिक्षक र कर्मचारीले युवक मृत्यु प्रकरणको अनुसन्धान गरी दोषी प्रहरीमाथि कारवाही, मृतकलाई सहिद घोषणा, पीडित परिवारलाई क्षतिपूर्तिलगायत ६ बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई ज्ञापनपत्र बुझाएका थिए ।

घटनाको विरोध भईरहदा मृतकको शव भने चार दिनदेखि अस्पतालमा छ । घटनास्थलमै मृत्यु भएका युवकलाई वीरगन्जस्थित नारायणी अस्पताल लगिएको थियो । उनको शव सोही अस्पतालमा राखिएको छ ।

लामो समयदेखि विवादमा रहेको सिम्रौनगढ नगरपालिकामा चार दिन अघि प्रमुख प्रशासकीय अधिकृत महेशकुमार मिश्र हाजिर गर्न जाने क्रममा झडप भएको थियो । नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि, दुई महिनादेखि धर्नामा रहेका शिक्षक र कर्मचारीले मिश्रलाई हाजिर गर्न अवरोध गरेपछि प्रहरीसंग दोहोरो झडप भएको थियो ।

स्थिती नियन्त्रणमा लिन भन्दै प्रहरीले चलाएको गोली वडा नं. १ नमसागराढाठका बिनको टाउकोमा लागेको थियो । उक्त झडपमा १० जना घाईते भएका थिए । झडपका क्रममा नगरपालिकाको कार्यालय र गाडी समेत तोडफोड भएको थियो ।

तस्विरहरुः प्रलाद तिमिल्सिना

मृतक युवकको परिवारलाई पाँच लाख दिने महागढीमाई नगरपालिकाका नगर प्रमुख यादवको घोषणा

सिमराः महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादव (उपन) ले प्रहरीको गोली लागी मृत्यु भएका लक्ष्मी मुखिया बिनको परिवारलाई पाँच लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

नगर प्रमुख यादवले बिनलाई सरकारबाट सहिद घोषणा गराउने र सहिद घोषणा भएपश्चात नगरपालिकाबाट निर्णय गराएर उक्त रकम उपलब्ध गराउने बताएका छन् ।

‘सरकारबाट सहिद घोषणा गराउछौं । त्यसका लागि कुरा भईरहेको छ’ यादवले भने ‘घोषणा भएपछि नगरपालिकाबाट निर्णय गराएर रकम उपलब्ध गराउनेछौं ।’

यो पनि पढ्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्