पाँच लाख नगदसहित जीतपुरसिमराका वडाध्यक्ष कार्की अख्तियारको नियन्त्रणमा


eShilalekh

२ पुष २०८०, सोमबार १५:२१

सिमराः अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष ताराबहादुर कार्कीलाई सोमबार पाँच लाख नगदसहित नियन्त्रणमा लिएको छ । जीतपुरस्थित जैसवाल मिष्ठान्न भण्डारबाट अख्तियारको टोलीले कार्कीलाई नगदसहित नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाका प्रवक्ता गोविन्दप्रसाद गौतमले सेवाग्राहीसंग रकम लिएको आरोपमा कार्कीलाई नियन्त्रणमा लिएको जानकारी दिएका छन् । ‘सिफारिस गर्नका लागि भन्दै सेवाग्राहीसंग रकम लिएको भन्ने आरोप छ’ गौतमले भने ‘थप कुरा अनुसन्धानबाट खुल्नेछ । हामी अनुसन्धानको प्रक्रियामा छौं ’

वडाध्यक्ष कार्कीलाई सिमराका राजन उप्रेतीले उक्त रकम दिएका थिए । उप्रेतीले आफूसंग घरबाटो सिफारिसका लागि रकम माग गरेपछि अख्तियारको सहयोग लिएको बताएका छन् ।

यता वडाध्यक्ष कार्कीले भने आफूलाई नियोजितरुपमा फसाएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्