उपप्रमुख चौधरीले गरिन् ट्राफिक सचेतना अभियानको शुभारम्भ


eShilalekh

२८ मंसिर २०७८, मंगलवार ११:३३

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिकाकी उपप्रमुख सरस्वती चौधरीले ट्राफिक सचेतना अभियान २०७८ को शुभारम्भ गरेकी छिन् । अस्थायी ट्राफिक पोष्ट जीतपुरले सुरु गरेको अभियानको उपप्रमुख चौधरीले शुभारम्भ गरेकी हुन् ।

चेतनामुलक पर्चा, पम्प्लेट वितरण गर्दै अभियानको सुरुवात गरेकी चौधरीले ट्राफिक नियमको पालना नगर्दा मानविय क्षति ब्यहोर्नुपरेको बताईन् । उनले ट्राफिक नियमको पालनाका लागि सबै जागरुक हुनुपर्ने बताईन् ।

‘हामीबाट हुने सामान्य लापरवाहीले ठुलो दुर्घटना निम्तिन सक्छ, त्यसैले ट्राफिक नियमको पालना आफैबाट सुरु गर्नुपर्छ’ चौधरीले भनिन् ‘ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणमा नागरिकको भूमिका अहम रहन्छ ।’

कार्यक्रममा अस्थायी ट्राफिक पोष्ट जीतपुरका प्रहरी सहायक निरिक्षक दीपककुमार बस्नेतले ट्राफिक व्यवस्थापनका लागि सर्वसाधारणको सहयोग अपरिहार्य रहेको बताए । निर्माणाधिन सडकका कारण जीतपुरको ट्राफिक व्यवस्था अस्तब्यस्त रहेका कारण केही चुनौती भएपनि त्यसको व्यवस्थापनमा सर्वसाधारण सहयोग गरे सहज हुने बस्नेतको भनाई थियो ।

साताव्यापीरुपमा मनाईने ट्राफिक सचेतना अभियानमा विभिन्न रचनात्मक क्रियाकलाप गरिने बस्नेतले बताए । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष हिराबहादुर गुरुङ, ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायब निरिक्षक रोशन अधिकारी, एमाले बारा जिल्ला कमिटी सदस्य मनोज साह, सुनिल गुप्तालगायत विभिन्न संघसंस्थाका प्रतिनिधि र स्थानियको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्