ग्रासरुट फूटवल: सेमिफाईनल समिकरण पुरा


eShilalekh

२८ मंसिर २०७८, मंगलवार २२:१६

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका स्तरीय अन्तरविद्यालय ग्रासरुट फूटवल प्रतियोगिताको सेमिफाईनल समिकरण पूरा भएको छ ।

सिमरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत मंगलवार सम्पन्न अन्तिम क्वाटरफाईनल खेलमा राष्ट्रिय विभुति सामुदायिक शिक्षा सदनले जीत हासिल गरेसंगै प्रतियोगिताको अन्तिम चारको टुंगो लागेको हो ।

विभुतिले अन्तिम क्वाटरफाईनल खेलमा न्यु एकता ईङ्लिस बोर्डिङ स्कुललाई ३-० ले पराजित गरेको हो । विभुतिको जीतमा नविन चौधरीले दुई र श्याम चौधरीले एक गोल गरे । नविन खेलको म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत बुधवार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बकुलिया र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, अमलेखगञ्जबीच पहिलो सेमिफाईनल खेल हुने संयोजक सोनु क्षेत्रीले जानकारी दिए ।

मंसीर १६ गतेदेखी सुरु भएको प्रतियोगितामा उपमहानगरपालिका भित्रका २४ विद्यालयको सहभागिता रहेको थियो । ग्रासरुट फाउण्डेशन बाराले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद २० हजार र उपविजेताले १० हजार प्राप्त गर्नेछन् ।

प्रतियोगितालाई प्राणनाथ हार्डवेयरले मुख्य प्रायोजना र युआर गोल्ड प्रिमियम मसला चियाले सहप्रायोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्