सिम्रौनगढका स्वास्थ्य र शैक्षिक संस्था आइतबारदेखि खुल्ने


eShilalekh

७ पुष २०८०, शनिबार २१:२१

सिमराः आन्तरिक विवादका कारण लामो समयदेखि ठप्प रहेको सिम्रौनगढ नगरपालिकाको स्वास्थ्य तथा शैक्षिक संस्था आइतबारदेखि सुचारु हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय बारामा भएको छलफलमा सहमति जुटेसंगै स्वास्थ्य र शैक्षिक संस्था संचालनमा आउने भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको कार्यकक्षमा सम्पन्न छलफलमा नगर प्रमुख किशोरी साह कलवारले कर्मचारी, शिक्षकको मागलाई सम्बोधन गर्दै अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । उक्त प्रतिवद्धतासंगै लामो समयदेखि आन्दोलनरत कर्मचारी र शिक्षक काममा फर्कन तयार भएका हुन् ।

छलफलमा नगर प्रमुख कलवारले पुस १५ गते भित्र शिक्षक, कर्मचारीको तलब सुविधा उपलब्ध गराउने बताएका छन् । तलब सुविधा निकासा भएपछि अस्थायी, करार, ज्यालादारी कर्मचारीले राखेको मागलाई सम्बोधन गर्न नगर प्रमुख कलवार छलफलमा तयार भएका हुन् ।

उक्त छलफलमा प्रमुख जिल्ला अधिकारी सापकोटाले आन्तरिक समस्या संवादबाट समाधान गर्न आग्रह गर्दै सेवा प्रवाह नरोक्न आग्रह गरेका थिए । जनप्रतिनिधिसंग जनताको ठुलो अपेक्षा रहेको भन्दै प्रजिअ सापकोटाले जनताको चाहना, आवश्यकता र अपेक्षा पूरा गर्ने दायित्वमा केन्द्रीत हुन आग्रह गरेका थिए ।

लामो समयदेखिको विवादमा अल्झिएको सिम्रौनगढमा केही समयअघि प्रहरीको गोली लागेर स्थानीय लक्ष्मी मुखिया बिनको समेत मृत्यु भएको थियो । प्रमुख प्रशासकीय अधिकृत हाजिर गराउने विषयमा नगरपालिकाको कार्यालयमा झडप हुँदा प्रहरीले गोली चलाएको थियो । समयमै तलब सुविधासहित विभिन्न माग राख्दै नगरपालिकाका शिक्षक, कर्मचारी लामो समयदेखि नगरपालिकाको कार्यालयमा धर्ना दिदै आएका थिए ।

उक्त घटनापछि मृतकलाई सहिद घोषणाका लागि सिफारिस गर्ने, परिवारका एक सदस्यलाई रोजगारी दिने, शिक्षक र कर्मचारीको मागलाई सम्बोधन गरेर अघि बढ्ने विषयमा सहमति भएपछि घटनाको पाचौं दिनमा शवको दाहसंस्कार भएको थियो ।

छलफलमा प्रजिअ सापकोटा, नगर प्रमुख कलवारसहित नगर उपप्रमुख नजमु शेहर, शिक्षक संघका अध्यक्ष राजकिशोर सहनी, सिम्रौनगढ ४ का वडाध्यक्ष अवधेस सहनी, वडा न.. ७ का वडाध्यक्ष विवेक मेहता, वडा नं. ८ का वडाध्यक्ष रामदिनेश यादवलगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्