जीतपुरसिमरा १३ मा ‘द्वारिका दादा स्मृति भवन’ को उद्घाटन


eShilalekh

७ पुष २०८०, शनिबार २१:४४

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १३ मा साविक डुमरवाना गाविसका पूर्व उपाध्यक्ष स्वर्गीय द्वारिका चौधरी (दादा) को स्मृतिमा निर्मित ‘द्वारिका दादा स्मृति भवन’ को शनिबार उद्घाटन गरिएको छ । भवनको नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेलले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले २०४९ र २०५४ सालमा गाविस उपाध्यक्षमा निर्वाचित भएका चौधरीले गरेका विकासका कामको प्रशंसा गरेका थिए । कार्यवाहक अध्यक्षको भूमिका समेत निर्वाह गर्ने क्रममा चौधरीले उक्त क्षेत्रका लागि अतुलनिय योगदान गरेको पौडेलको भनाई थियो ।

चौधरी २०४३ सालमा जनपक्षिय उपप्रधानपञ्च समेत थिए । विक्रम संवम् १९९९ मा जन्मिएका चौधरीको २०६३ कार्तिक ३० गते निधन भएको थियो । कार्यक्रममा चौधरीको परिवारका सदस्य प्रमिला चौधरीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् पूर्व नगर उपप्रमुख सरस्वती देवी चौधरी, एमाले मधेस प्रदेश सचिव मनोज पौडेल, डुमरवाना बहुमुखी क्याम्पसका प्रमुख राधेश्याम शिवाकोटी, अग्रज रुपलाल चौधरीलगायतले मन्तब्य व्यक्त गरेका थिए ।

पलट चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा १४ की वडाध्यक्ष चयन गुरुङ, कार्यपालिका सदस्य प्रलाद साह, पूर्व वडाध्यक्ष राजेन्द्रप्रसाद सिंह, वडा सदस्य एवम् न्यायीक समिती सदस्य जादोलाल सहनी, एमाले जिल्ला कमिटी सदस्य सीमा ठकुरी, एमाले युवा नेता त्रिलोक बिक्रम शाह, गोबिन्द चौधरीलगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण किशोर शर्माले गरेका थिए भने स्वागत मन्तव्य वडा नं. १३ का वडाध्यक्ष हेमनारायण चौधरीले राखेका थिए ।

सोही अवसरमा पि मास डब्लु ट्रस्टको सम्पर्क कार्यालय समेत उद्घाटन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्