प्रिन्सिपल हत्याकाण्डका सुटर सिंह पक्राउ, गोली लागेर घाईते सिंहको उपचार हुँदै


eShilalekh

१० पुष २०८०, मंगलवार २२:५१

सिमराः बारा प्रहरीले भारतीय सुटर सुजितकुमार सिंहलाई मंगलबार राती पक्राउ गरेको छ । ३२ वर्षीय सिंहलाई बाराको बिश्रामपुर गाउँपालिका १ छतवाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

सिंहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले खुट्टामा गोली प्रहार गरेको छ । नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि गोली प्रहार गरेको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिएका छन् । सिंहको अहिले कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।

भारत मोतीहारी जिल्ला छौडदानो पन्चायत तिनकुनिका सिंहमाथी कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफ र भारत मोतिहारीका अजितकुमार सिंहको हत्या गरेको आरोप छ । सर्राफको कात्तिक १३ गते कलैयामा र सिंहको असोज ९ गते पचरौतामा गोली प्रहार गरी हत्या गरिएको थियो ।

दुबै हत्याकाण्डमा सिंह मुख्य सूटर रहेको जनाउदै प्रहरीले उनको खोजी गरिरहेको थियो । खोजीको सूचिमा रहेका सिंह नेपाल प्रवेशको सूचना पाएपछि पुगेको प्रहरी टोलीले खुट्टामा गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो ।

उनको साथबाट प्रहरीले एक थान पेस्तोल र गोली समेत बरामद गरेको छ । प्रहरीका अनुसार सिंहसंगै रहेका अन्य भने फरार भएका छन् ।

बाराका प्रहरी प्रवक्ता न्यौपानेले पक्राउ परेका व्यक्ति सिंह नै रहेको भन्ने प्रारम्भिक रुपमा खुलेको बताए । उपचारपछि पक्राउ परेका व्यक्तिको सम्बन्धमा थप विवरण सार्वजनिक गरिने प्रवक्ता न्यौपानेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्