कोभिड प्रभावित अतिविपन्नलाई रकम हस्तान्तरण गर्न जीतपुरसिमराद्धारा निवेदन माग


eShilalekh

२८ मंसिर २०७८, मंगलवार २३:२३

जीतपुरः कोभिड-१९ का कारण रोजगारी र आयआर्जनको अवसर गुमाएका नागरिकलाई सरकारले घोषणा गरेवमोजिम रकम उपलब्ध गराउन जीतपुरसिमरा उपमहानगरपालिकाले प्रक्रिया सुरु गरेको छ ।

उपमहानगरपालिकाले मंगलवार २४ वटै वडामा पत्राचार र सार्वजनिक सूचना जारी गर्दै अतिविपन्न नागरिकसंग निवेदन माग गरेको हो । निवेदनप्राप्त नागरिक अतिविपन्न र सरकारले निर्माण गरेको कार्यविधि अनुसारको मापदण्डभित्र परेमा १० हजार रकम प्राप्त गर्नेछन् ।

राहत रकम सहजरुपमा हस्तान्तरण गर्न उपमहानगरपालिकाको कार्यालयले ‘कोभिड-१९ महामारीबाट प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्तरणका लागि लाभग्राही छनोट ईकाई’ गठन गरेको छ । उक्त कार्यको सहजीकरणका लागि कार्यालयका प्रशासन तथा जनशक्ति विकास शाखाका प्रमुख बालाराम खड्कालाई ईकाईको संयोजक तोकेको छ ।

सरकारको कार्यक्रमअन्तर्गत मापदण्डभित्र पर्ने नागरिकले उक्त राहत रकम प्राप्त गर्न उपमहानगरको कार्यालयमा निवेदन दिन सक्नेछन् । उपमहानगरपालिका भित्र स्थायी वा अस्थायीरुपमा बस्दै आएका अतिविपन्न नागरिकले मापदण्डअनुसारको कागजपत्र र वडा कार्यालयको सिफारिससहित निवेदन दिन सक्ने संयोजक खड्काले बताए ।

‘अहिले हामीले १५ भित्र कार्यालयमा प्राप्तहुने गरी निवदेन माग गरेका छौं’ खड्काले भने ‘प्राप्त भएका निवदेनबाट लक्षित ब्यक्ति पहिचान गरेर रकम हस्तान्तरण प्रक्रिया सुरु गर्नेछौ ।’ कोभिड १९ महामारीबाट प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि २०७८ अनुसार लक्षित व्यक्ति पहिचान गरिने संयोजक खड्काले जानकारी दिए ।

अति विपन्न नागरिकले आफू बस्दै आएको वडा कार्यालयमा पुगेर यस सम्बन्धमा जानकारी लिन र आवश्यक प्रक्रिया अघि बढाउन सक्ने हुँदा झन्झटिनो नहुने खड्काको भनाई छ । उनले यो कार्यक्रमको जानकारी लक्षित वर्गसम्म पुर्‍याउनका लागि जनप्रतिनिधि, वडाका कर्मचारी र सर्वसाधारणसंग अनुरोध गरेका छन् । ‘लक्षित व्यक्ति राहत रकम प्राप्त गर्नबाट नछुटुन् भन्ने हाम्रो चाहना हो, त्यसैले यस विषयलाई नगरभित्रका सबै स्थानमा पुर्‍याउन सबैको सहयोगको अपेक्षा राखेको छु ।’

उपमहानगरपालिकाले हाल २४ वटा वडा भित्रका दुई हजार चार सय २१ जनालाई १० हजारका दरले रकम उलपब्ध गराउनेछ । सरकारले जीतपुरसिमरा उपमहानगरपालिकाका लागि उक्त संख्या बराबरको रकम उपलब्ध गराएको छ । तत्काल केन्द्रबाट विनियोजित बजेटभित्र रहेर काम गरिने खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्