जीतपुरसिमरा ३ मा दलित महिला सदस्य विकले गरिन् कार्यबाहक अध्यक्षको रुपमा पदबहाली
सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ को कार्यबाहक वडाध्यक्षको रुपमा दलित महिला सदस्य माया विकले बुधबार पदबहाली गरेकी छिन् । विकलाई नगर प्रमुख राजन पौडेलले पदबहाली गराएका थिए ।
वडाध्यक्ष ताराबहादुर कार्की निलम्बनमा परेपछि आइतबार बसेको वडा समितिको बैठकले विकलाई कार्यबाहक अध्यक्ष बनाउने सर्वसम्मत् निर्णय गरेको थियो । सोही निर्णयअनुसार विकलाई कार्यबाहक अध्यक्षको रुपमा पदबहाली गराइएको हो ।
निलम्बमा रहेका वडाध्यक्ष कार्कीमाथि लागेको आरोपको अन्तिम टुंगो नलाग्दासम्म विकले अब कार्यबाहक अध्यक्षको भूमिकामा रहेर सेवा प्रवाह गर्नेछिन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पुस २ गते वडाध्यक्ष कार्कीलाई पाँच लाख नगदसहित जीतपुरबाट नियन्त्रणमा लिएको थियो ।
कार्कीमाथि सेवाग्राहीसंग सेवा प्रवाह गरेवापत रकम लिएको आरोप छ । तर कार्कीले भने आफूलाई नियोजितरुपमा फसाएको प्रतिक्रिया दिएका थिए । कार्कीले उक्त रकम मन्दिर निर्माणका लागि लिएको बताएका थिए ।
हाल अख्तियारको नियन्त्रणमा रहेका कारण कार्की सार्वजनिक पदबाट निलम्बनमा छन् । कार्की निलम्बनमा परेपछि वडाको सेवा प्रवाहका लागि चार जना निर्वाचित वडा सदस्यले कार्यबाहक अध्यक्ष जिम्मेवारी तोक्ने प्रावधान छ । सोही अनुसार चार जना वडा सदस्यले सर्वसम्मत् रुपमा विकलाई कार्यबाहक वडाध्यक्ष बनाउन सहमति जुटाएका थिए ।
वडा नं. ३ मा विकसहित चिनबहादुर पाख्रीन, अनितादेवी खत्री, देवनारायण चौधरी सदस्यमा निर्वाचित भएका थिए । पदबहालीका क्रममा नेकपा एमालेका नेता अमृतलाल श्रेष्ठ, रमेश खरेल, शुक्र श्रेष्ठ, लक्ष्मी तिमिल्सिना, आरिफ हुसेन, ईश्वर थपलिया, आशिष श्रेष्ठलगायत उपस्थित थिए ।